ताजा अपडेट »

तस्करी नियन्त्रणमा प्रहरी सक्रियता : भन्सार छलिका अवैद्य सामान बरामद

सोमबार, १९ असोज २०७७, ०९ : २९
2 Shares

परासी । नवलपरासी (बर्दघाट-सुस्ता पश्चिम)मा ठूलो मात्रामा भन्सार छलिका सामान बरामद भएकोे छ । तस्करी नियन्त्रणमा उच्च सक्रियता देखाएको नवलपरासी पश्चिम प्रहरीले आइतबार मात्रै चार लाख ८५ हजार ७०० मूल्यका अवैद्य सामान नियन्त्रणमा लिएको हो ।

मातहतका विभिन्न प्रहरी कार्यालयबाट खटिएको टोलीले जिल्लाको सरावल, प्रतापपुर, पाल्हीनन्दन सहितका भारतीय सीमावर्ती क्षेत्रबाट एक मोटरसाईकलसहित हरियो केराउ, कपडा, पाटपुर्जा लगायतका अवैद्य सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय परासीले जनाएको छ । कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजुु लामाका अनुसार आइतबार भारतबाट नेपालतर्फ भन्सार छलि अवैद्य रुपमा यूपी ५३ सीवाई १७५० नम्बरको भारतीय मोटरसाईकलमा राखी जिल्लामा भित्र्याइएको अवस्थामा ८० थान कुर्ता सुरुवाल (महिलाले लगाउने), ५३ थान सेन्डो भेष्ट, थान कपडा ३७१ मिटर र मोटरसाईकलका विभिन्न पार्टपूर्जा सरावल गाउँपालिका–४ बाट मोटरसाईकलसहित बरामद गरिएको हो ।

सीमा प्रहरी चौकी महेशपुरबाट खटिएको टोलीले उक्त सामान बरामद गरेको हो । बरामद सामानको बजार मूल्य दुई लाख ६१ हजार ७६१ रुपैँया र मोटरसाईकलको ९० हजार गरी तीन लाख ५१ हजार ७६१ रहेको प्रहरीले जनाएको छ । तस्करीमा संलग्न व्यक्तिहरु प्रहरीलाई देखेपछि मोटरसाईकल र सामान छोडेर भागेका थिए । यस्तै ईलाका प्रहरी कार्यालय बेलाटारीबाट खटिएको टोलीले प्रतापपुर गाउँपालिका-५ बसहिया नाकाबाट अवैद्य रुपमा भारततर्फ लैजाँदै गरेको ४० हजार मूल्य बराबरको ५०० केजी हरियो केराउ र भारतबाट नेपालततर्फ भन्सार छलि ल्याउँदै गरेको २४ हजार मूल्यको ४८ थान कुर्ता सुरुवाल नियन्त्रणमा लिएको छ । मोटरसाईकलमा ल्याउँदै गरेको उक्त सामान प्रहरीलाई देखेपछि तस्करमा संलग्नहरु सामान छाडेर मोटरसाईकलमा भागेको प्रहरी नायव उपरीक्षक लामाले बताए ।

यस्तै भन्सार छलि भारतबाट भित्र्याइएको अवस्थामा मन्दिरमा झुण्ड्याउने घण्टा, कुर्ता सुरुवाल, टिर्सट, चप्पल, सेण्डो भेष्ट लगायत ७० हजार रुपैँया बराबरको अवैद्य सामान ईलाका प्रहरी कार्यालय अमानिगञ्जबाट खटिएको प्रहरी टोलीले पाल्हीनन्दन गाउँपालिका–२ बाट दिउँसो नियन्त्रणमा लिएको छ । टाउकोमा बोकि ल्याउँदै गरेको उक्त सामान प्रहरीलाई देखेपछि सामान छोडेर ओसारपसारमा संलग्न व्यक्तिहरु भागेका थिए । बरामद गरिएका सबै अवैद्य सामान थप कारवाहीका लागि महेशपुर भन्सार कार्यालय चलान गरिएको जिल्ला प्रहरी कार्यालय परासीले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।