ताजा अपडेट »

चुनावी चट्टान वा उद्यमी युवा

शनिबार, ०३ असोज २०७७, २२ : ५८
10 Shares

युवाहरु देशका उर्जावान एवम् गतिशील कर्णाधार हुन् । युवाका राजनीति तथा सामाजिक आन्दोलनमा व्यापक सक्रियताका कारण देशमा आमूल परिवर्तन सम्भव भएको हो । युवाका सहभागिताविना कुनै राजनीतिक दलको कार्यक्रम र उद्देश्यहरु पूरा हुन सक्दैनन् । त्यसकारण यिनीहरुको काँधमा देशको भविष्य अडिएको हुन्छ। युवाहरुको आकांक्षा र अन्तर्निहित प्रतिभाहरुलाइ पहिचान गरि सर्वाङीर्ण विकासको लागि राज्यले युवामैत्री नीति तय गर्न आवश्यक छ।

राष्ट्रको सेवा गर्ने र युवा परिचालन गर्ने स्पस्ट नीतिको अभावको कारण लाखौ युवाहरु विदेशी भूमिमा कठिन श्रम गर्न बाध्य छन् । स्वदेशमा भएकाहरु बेरोजगारी भई मदिरापान, लागू औषध सेवन गरि नकारात्मक भावना बोकेर बेकाम बसेका छन् । उनीहरुलाई सकारात्मक सोचले प्रशिक्षित गर्न नसक्दा, निराशा कुण्ठित भई अपराधी मनसायले ग्रसित छन् । अतः युवाहरुलाइ कर्मशील र समाजप्रति आफ्नो दायित्व र कर्तव्यबोध गराउनको लागि उत्पादनमा आधारित मार्गनिर्देश गर्न अति आवश्यक छ ।

युवावस्था ज्यादै कल्पनाशील र संवेदनशील अवस्था हो । स–साना कुरामा उत्तेजना,उत्साह प्रदर्शन गरि हतारमा कार्य गरि नतीजा निकाल्ने स्वभाव हुन्छ । यस्तै अवस्थालाई चुनावमा राजनीतिक दलका नेताहरुले उपयोग गर्न विभिन्न आश्वासन दिई विजय पश्चात् सुन्दर भविष्य बोकेका युवाहरुलाई अलपत्र पार्दै आएका छन् । चुनावी चट्टानका रुपमा युवा रहेका हुन्छन् । राजनीतिक नेतृत्वहरुले नै उनीहरुका सपनामाथि कुठाराघात गरेको हँुदा देशको बागडोर समाल्ने राजनीति दलप्रति वितृष्णा पैदा हुनु स्वभाविक नै हो ।

कुनै विषयवस्तुमाथि सतही बुझाइ गरेर हुँदैन । वास्तविक र तथ्यको आधारमा खोजमूलक ज्ञान हासिल गर्नुपर्छ । आ–आफ्नो क्षमतालाइ उजागर गरि शिक्षाका बहु–आयामिक क्षेत्रमा ब्यवहारिक चिन्तनका साथ संघर्षरत हुनुपर्दछ । साहित्य,कला, विज्ञान ,खेल,श्रम आदि सम्बन्धित क्षेत्रमा हासिल गरेको अनुसन्धानलाई समाजको अधिकत हितमा प्रयोग गर्नुपर्छ । सिक्ने र सिकाउने निरन्तर प्रक्रियालाई अवलम्वन गरि शिक्षा र चेतनाको आकाशलाई फराकिलो बनाई समाज र देशको “बौद्धिक सम्पत्ति ” को रुपमा स्थापित हुनुपर्दछ आजका युवाहरु ।

नेपालको संविधान २०७२ ले समाजवादोन्मुख आर्थिक नीतिलाइ राज्यको निर्देशक सिध्दान्तको रुपमा आत्मसात् गरेको छ । समाजवाद र यस उन्मुख आर्थिक नीति केहो ? भन्ने कुरा राजनीतिक नेतृत्व जानकार छैन । युवाहरुलाइ यसको मर्मबारे प्रशिक्षित गराउने सवाललाई पूरै बेवास्ता गरेको देखिन्छ । अबको युगमा युवाहरुलाई उत्पादनमूलक क्रियाकलापमा आबद्ध नगराउने हो भने उनीहरुका मात्र होइन देशको आर्थिक अवस्था नै नाजूक बन्ने छ । उत्पादन र श्रम सम्बन्धि राज्यले तय गरेको झन्झटिलो संकुचित नीतिले युवा संसारलाइ सम्बोधन गर्न सकेको छैन ।

बेरोजगारी भएका सबै युवाहरु व्यवसाय ,उद्यम गरि आफ्नो आर्थिक अवस्था उकास्न चाहन्छन् । उनीहरुका रुचि अनुसार उत्पादनका विभिन्न क्षेत्रमा उपलब्धिमूलक तालिम,सीप दिन जरुरी छ । युवाहरुलाई उद्यमी बनाउनका लागि राज्यका तीनै तहका सरकारहरुले पर्याप्त मात्रामा प्रोत्साहन गर्नुपर्छ । पेसागत उद्यम गर्दा योजना,लगानी र समस्याहरुका बारेमा वस्तुनिष्ठ परामर्श दिई सफलताको लागि अगाडि बढन प्रेरित गर्नुपर्दछ ।

नेपालमा कृषि र पशुपालनको व्यवसायिक क्षेत्र र भविष्य राम्रो छ । आफ्ना पुर्खाहरुको नासो जग्गा बाँझो रहेको छ । काम गर्ने इच्छा शक्ति भएका युवा पिंढीहरुलाई राज्यकै तहबाट सरल र स्पष्ट नीति बनाई त्यही जग्गामा परिश्रमी मौरी झनै रम्ने बनाउने पर्दछ । सरकारी तवरबाट कृषिकर्मीहरुलाई अनुदान दिने कार्यक्रमहरु भएपनि बिचौलियाको बिगबिगीले वास्तविक कृषि उद्यमीहरु अनुदान पाउनबाट बञ्चित हुँदै आएका छन् । परम्परा हस्तकला, पुरातात्विक,वस्तु निर्माण सम्बन्धित सीपहरुलाई आधुनिकीकरण गरि यसको बढवा दिनुपर्छ । यस्तो कार्यले रोजगार सिर्जना गरी हाम्रो देशको सभ्यतालाई जीवित राख्ने छ ।

हाम्रो देश प्राकृतिक श्रोत÷साधनमा धनी भएकोले ती श्रोतहरुलाई उपयोग गरी युवा उद्यम कार्यक्रमहरु सञ्चालन गर्न सकिन्छ । युवाहरुलाई उद्यमी बनाउन नसक्दा वन पैदावरहरु सढेर खेर गईरहेका छन् । सञ्जिवनी जडिबूटी प्रयोग गर्न नजान्दा कुहिएर माटो बनेको छ । वन,कृषि कार्यक्रम सम्बन्धि कहिंकतै नीति देखिए पनि प्रष्ट मापदण्ड नहुँदा कार्यक्रमहरु गर्भ मै तुहिएका छन् । प्राकृतिक श्रोत अर्थात् वनमा आधारित विभिन्न पैदावर कच्चा पदार्थहरुलाई सदुपयोग गरि युवाहरुलाई उद्यमी बनाउन सकिन्छ । सबै युवाहरु उद्यमी बन्ने संकल्प र सोही अनुसारका कर्म गरौं ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।