ताजा अपडेट »

उद्योग संघको उद्योग अवलोकन जारी, राहात प्याकेजको माग

शनिबार, ०३ असोज २०७७, ०९ : ०४
4 Shares

बुटवल । रुपन्देही उद्योग संघले कोरोना संक्रमणबाट औद्योगिक क्षेत्रमा परेको प्रभाव तथा उद्योग सञ्चालनमा भैरहेको कठिनाईका बारेमा प्रत्यक्ष अवलोकन अध्ययन गर्ने अभियानलाई जारी राखेको छ । संघले आफ्ना सदस्य उद्योगहरुसहित रुपन्देहीमा कोरोना संक्रमणले आर्थिक क्षेत्रमा परिरहेको असरका बारेमा जानकारी लिन उद्योगहरुको स्थलगत अवलोकन गरेको जनाएको छ ।

यसैक्रममा शुक्रवार संघको एक टोलीले नेपाल कै ठूलो उद्योग पञ्चकन्या इन्डष्ट्रिज प्रालीको अध्ययन अवलोकन गरेको संघका प्रमुख कार्यकारी अधिकृत यादवप्रसाद भण्डारीले जानकारी दिए । टोलीले भैरहवा–बुटवल सडक अन्तरगत पडसरीमा रहेको पञ्चकन्या स्टिलमा पुगेर त्यहाँको उत्पादन तथा सञ्चालनको अवस्थाका बारेमा जानकारी लिदै कोरोना संक्रमणले उत्पादनमा पारेको असर तथा आगामी सञ्चालन प्रक्रियाका विषयमा जानकारी लिदै सञ्चालनसँग छलफल गरेको जनाइएको छ ।

उद्योगको अवलोकनपछि उद्योग परिसरमा भएको छलफल कार्यक्रममा बोल्दै संघका अधयक्ष बाबुराम बोहोराले संकटको बेलामा पनि सुरक्षाका सबै प्रवन्ध मिलाएर धेरै चुनौतिहरुको सामना गर्दै उद्योग सञ्चालन गर्नु उद्योगीहरुको बाध्यात्मक अवस्थाप्रति राज्यले ध्यान पुर्याउन आग्रह गरे । यसैगरी उनीहरुका समस्या सम्बोधन गर्नेतर्फ गम्भिर बन्न आग्रह गरे । अध्यक्ष बोहोराले नेपाली उद्योगहरु सधै गलत नीति र प्रक्रियाका कारण प्रताडित हुनू परिरहेको अवस्थामा कोरोना संक्रमणले थप पिडा थपेको बताउँदै राज्यले उद्योगहरुको संरक्षण र दिगोपनाका लागि संरक्षण तथा राहातको प्याकेज ल्याउन जरुरी भएको धारणा राखे । अध्यक्ष बोहोराले कोरानाका कारण उद्योग चलाउनमा नयाँ चुनौती थपिएको भन्दै समयअनुसार आएका चुनौतीको सामना गर्ने क्षमताको विकास गर्न आग्रह गरे ।

अवसरमा संघका वरिष्ट उपाध्यक्ष माधव पौडेलले हाम्रो पुस्ताले भोगेको यो समस्या नयाँ भएको र त्यसले उद्योगधन्दासहित सम्पूर्ण जनजीवन नै मारमा परेको उल्लेख गरे । उनले उद्योगको उत्पादन तथा व्यापार व्यवसाय ठप्प भएपछि बैंकको व्याज तथा कर्मचारीको तलब व्यवस्थापनमा ठूलो समस्या झेल्नु परेको उल्लेख गरे । विगतबाट सचेत हुदै असहजतामा व्यावसायिक मान्यता सच्याउने मौका पनि मिलेको धारणा राखे ।

अवलोकन टोलीलाई उद्योगका बारेमा पञ्चकन्या ग्रुपका उपाध्यक्ष तथा उद्योगका सञ्चालक ध्रुवकुमार श्रेष्ठले कोरोना भाइरसले विश्वका मानिसहरुको सम्पूर्ण जीवन चर्चा नै फेरिदिए जस्तै हामी नेपालीहरुको पनि दिन चर्या फेरिदिएको बताए । राज्यले उद्योगलाई हेर्ने सोचमा परिर्वतन नहुँदासम्म नेपालमा औद्योगिक विकास राम्रोसँग अगाडी बढ्न नसक्ने उनले बताए ।
संघको टोलीमा संघका वरिष्ठ उपाध्यक्ष माधव पौडेल, द्वितीय उपाध्यक्ष कृष्ण पराजुली, महासचिव जीवकान्त काफ्ले, महिला सचिव माया खनाल, सहकोषाध्यक्ष गिरीराज गैरे राजु तथा संघका प्रमुख कार्यकारी अधिकृत यादव भण्डारीको सहभागिता रहेको थियो ।

संघको टोलीले घरेलु तथा साना उद्योग कार्यालय, रुपन्देहीमा सरुवा भएर आएका नवनियुक्त कार्यालय प्रमुख लक्ष्मण लम्साललाई पनि भेट गरेको थियो । टोलीले नवनियुक्त कार्यालय प्रमुख लम्साललाई कार्यालयमा पुगेर स्वागत गर्दै रुपन्देहीको उद्योग क्षेत्रको विकासका लागि संघसँग सहकार्य गरेर अगाडी बढ्न आग्रह गरेको छ । त्यस अवसरमा प्रमुख लम्सालले नीजि क्षेत्रका उद्योगी तथा व्यवसायीहरुको भावना र आवश्यक्ता अनुसार राज्यले तय गरेको नीति र नियममा रहेर सहकार्य गर्न कुनै कमी नराख्ने प्रतिवद्धता व्यक्त गरे ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।