ताजा अपडेट »

राप्ती प्रादेशिक अस्पतालमा सेवाग्राहीको चापसँगै गुनासोको चाङ

विहीबार, ११ भदौ २०७७, १० : २४
24 Shares

तुलसीपुर । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सेवाग्राहीको संख्यामा वृद्धि भएसँगै उनिहरुको गुनासो पनि बढ्दै गएको छ । अस्पतालमा व्यवस्थापन पक्ष राम्रो नभएको सेवा लिन आएका विरामीहरुले गुनासो गरेका छन् । प्रदेश ५ सरकारले तत्कालिन राप्ती अञ्चल अस्पताललाई राप्ती प्रादेशिक अस्पतालको रुपमा विकास गरेसँगै अस्पतालमा सेवा लिन आउने विरामीहरुको संख्या बढेको हो । प्रदेश मातहतमा रहेको अस्पतालमा अहिले विभिन्न १८ जना विशेषज्ञ चिकित्सकहरुले स्वास्थ्य चेकजाँच गरीरहेका छन् ।

अस्पतालमा १३ जना विशेषज्ञ चिकित्सकको दरबन्दीको संख्या भएपनि दुई जना मात्रै दरबन्दीका छन् । अन्य १६ जनाले अस्पतालमा काजका रुपमा सेवा दिँदै आएको अस्पतालका सुचना अधिकारी डिल्ली बहादुर केसीले जानकारी दिए । मन्त्रालयले ५० वेडको स्वीकृती दिएपनि अस्पतालले थप गरी ९५ वेड मार्फत सेवा दिँदै आएको छ । अस्पतालमा नाक कान तथा घाँटी रोग विशेषज्ञ बाहेक जनरल फिजिसियनका विशेषज्ञ ४ जना, जनरल सर्जरी (स्त्रीरोग)का विशेषज्ञ एक महिलासहित ३ जना, बालरोगका २ जना, छाला रोगका विशेषज्ञ १ जना, हाडजोर्नीका विशेषज्ञ २ जना, एनेस्थेसियाका (विहोस पार्ने) विशेषज्ञ २ जना, रडियोलोजिस्टका १ जना र दन्तरोगका विशेषज्ञ २ जना लगाएतका विशेषज्ञ चिकित्सकहरुले स्वास्थ्य सेवा दिदै आएको अस्पतालले बताएको छ ।

अस्पतालको नाम दर्ता गर्ने ठाउँमा पुरुष महिलाको छुट्टाछुट्टै लाईन नहुँदा भिडभाड हुने गर्छ । घण्टौ समय लाइनमा बस्नु पर्ने, स्वास्थ्यकर्मी तथा चिकित्सकहरुबाट राम्रो व्यवहार नपाइने सेवाग्राहीको गुनासो छ । ‘कोभिडको त्रास छ, भिड व्यवस्थापनमा कसैले चासो दिएको छैन ।’-एक विरामीले भने । कोरोना महामारीको समयमा सामाजिक दुरी कायम गर्नुेपर्ने भएपनि पालना गरेको पाइदैन । चिनेजानेकाहरुले फोन सम्पर्क मार्फत र भित्र पसेर पर्चि काट्न लगाउने गरेको उनीहरुको आरोप छ ।

जिम्मेवार निकाय कसैले कुनै चासो नदेखाएको एक सेवाग्राहीले गुनासो गरे । ‘अस्पतालमा सेवा राम्रो भएर मात्रै के गर्नु आन्तरिक व्यवस्थापन ठिक छैन ।’-उनले भने ‘यसप्रति अस्पताल प्रशासनले ध्यान दिनुपर्ने हो ।’ यस्तै अस्पताल भित्र सरसफाईको पनि अभाव देखीएको छ । सवैभन्दा ध्यान दिनुपर्ने कुरा सरसफाई भएपनि विरामी भर्ना वार्डमा त्यसको अभाव भएको विरामी कुरुवा तुलसीपुर निवासी दिपक बुढाले बताए । त्यस्तैगरी बिरामीलाई खाली बेडमा राख्ने गरिएको छ । वेडमा बिछ्याउने तन्ना माग्दा कर्मचारीहरुले खासै चासो नदिने र खाली नभएको जवाफ दिने गरेको उनले बताए ।

ढोका बाहिर पुरुष भर्ना कक्ष लेखीएको छ । तर उक्त वार्डमा महिला, पुरुष दुवै बिरामीलाई राख्ने गरिएको छ । विद्युत लाइन अवरुद्ध हुँदा पङ्खा चल्दैन उनले भने जेनेरेटर भएर पनि सञ्चालनमा छैन । रातको समय विद्युत लाइन लामो समयसम्म अवरुद्ध हुँदा रात कटाउनै मुस्किल हुने गरेको उनले बताए । यस्तै शौचालय पनि महिला पुरुषको छुट्टाछुट्टै नहुँदा समस्या भएको छ । अस्पतालमा आउने बिरामी, गर्भवती महिला, सुत्केरी महिला र अन्य मानिसहरुले प्रयोग गर्ने शौचालय एकै ठाउँमा हुँदा गर्भवती महिलाहरुलाई असहज हुने गरेको सेवाग्राहीको गुनासो छ । अस्पतालमा भर्ना भएका विरामीलाई खुवाउने खानामा पनि लापरवाही हुने गर्छ । अस्पतालमा भर्ना हुने जोसुकै विरामीलाई खाना खुवाउने व्यवस्था भएपनि अस्पतालका कर्मचारीले समयमै सुचना नदिदा कतिपयले घरबाट वा होटेलबाट खाना लिएर खुवाउने गरेको उनिहरुले बताए ।

नयाँ भर्ना हुने विरामीलाई कुनै जानकारी नै हुँदैन । कतिबेला खाना हो, कतिबेला दुध दिइन्छ थाहा हुँदैन । अस्पतालमा भर्ना भएको विरामीलाई साँझ विहान खानाको व्यवस्था छ । विहान दुध दिने गरिन्छ । तर उक्त कुरा कतिपयलाई थाहा नहुँदा बाहिरबाट किनेर खान बाध्य भएका छन् । यस्तै अस्पतालका नर्सहरु पनि विरामीमैत्री नभएको सेवाग्राहीले गुनासो गरे । सबै स्टाफ नर्स त्यस्तो नभएपनि कतिपय स्टाफ नर्सहरुको व्यवहार र शैली ठिक नभएको एक विरामी कुरुवाले गुनासो गरे ।

सोधेको प्रश्नको सहजै जवाफ नदिने र परामर्श गर्न कन्जुस्याई गर्ने, बिरामीको कुरा नसुन्ने स्टाफहरु बीच बढि कुराकानी गर्ने गरेको उनीहरुको गुनासो छ । यस्तो अवस्थामा अस्पताल प्रशासनले कुनै चासो र अनुगमन नगरेको सेवाग्राहीको गुनासो छ । अस्पताल प्रशासन वा अस्पताल विकास समितिले भर्ना भएका बिरामीहरुले के-कस्तो समस्या भोगिरहेका छन् भन्ने विषयमा ध्यान नदिएको उनीहरुले बताए । भर्ना हुँदा विरामीलाई सहज छ वा असहज छ भन्ने कुरामा सम्वन्धित निकायले ध्यान दिनुपर्ने उनीहरुको भनाई छ । अस्पताल प्रशासन र अस्पताल विकास समितिले व्यवस्थापन पक्ष राम्रो भए नभएको बारेमा अनुगमन गर्नुपर्ने उनीहरुको सुझाब छ ।

अस्पतालको विकासमा नीतिगत व्यवस्था भएन
२०५४ सालमा तत्कालिन स्वास्थ्य चौकीबाट प्राथमिक स्वास्थ्य केन्द्रको रुपमा स्तर बृद्धि भयो । त्यसपछि २०६५ सालमा तत्कालिन स्वास्थ्य केन्द्र राप्ती अन्चल अस्पताल तुलसीपुरका रुपमा स्तर वृद्धि भएको अस्पतालका सुचना अधिकार डिल्ली केसीले बताए । देश संघीय संरचनामा परिणत भइसकेपछि फेरी २०७५ सालमा तत्कालिन अञ्चल अस्पताललाई स्तरवृद्धि गरी राप्ती प्रादेशिक अस्पतालको रुपमा विकास गरिएको हो ।

तत्कालिन अञ्चल अस्पतालबाट स्तर बृद्धि भइसकेपछि सेवा सुविधा र चिकित्सकहरुको संख्यामा वृद्धि भएपनि नितिगत रुपमा अझै विकास हुन सकेको छैन । प्रादेशिक अस्पतालका रुपमा स्तर वृद्धि भइसकेपछि केहि विकास भएपनि त्यो नीतिगत रुपमा नभएको अस्पताल प्रशासनले स्वीकार गर्यो । तत्कालिन अञ्चल अस्पताल हुँदा ५० वेडको स्वीकृत पाएको अस्पतालमा अहिले पनि उहि नै छ । विगतमा दरबन्दी अनुसार चिकित्सक नभएको समस्या थियो अहिले पनि उक्त समस्या रही रहेको छ ।

अस्पतालमा १३ जना चिकित्सकको दरबन्दी रहेकोमा २ जना मात्रै रहेका छन् । अन्य सवै संघीय सरकारबाटै काजमा खटिएका चिकित्सक छन् । यस्तै अस्पतालमा नर्सिङ स्टाफ २५ जनाको दरबन्दी रहेकोमा २१ जना रहेका छन् । साथै ९ जना मेडिकल अधिकृत दरबन्दी रहेकोमा ५ जना मात्रै रहेको अस्पताल प्रशासनले जनाएको छ

अनुगमन गरीरहेका छौ : अध्यक्ष न्यौपाने
यता राप्ती प्रादेशिक अस्पताल विकास समितिका अध्यक्ष पदम प्रसाद न्यौपानेले व्यवस्थापन पक्षलाई राम्रो बनाउन अनुगमन गरीरहेको बताए । अस्पतालमा दैनिक अनुमगन भइरहेको बताउँदै अध्यक्ष न्यौपाने कर्मचारी अभावका कारण सोचेजति व्यवस्थित गर्न नसकीएको बताए । व्यवस्थापन पक्षलाई सुधार गर्न आफू लागीपरेको उनले दाबी गरे ।

विशेषगरी आइतबार र बुधवार अस्पतालमा बढि भिडभाड हुने गरेको उनले बताए । अस्पताल भित्र जनस्वास्थ्य कार्यक्रम सञ्चालन भइरहेकाले भिडभाड हुने गरेको र व्यवस्थापनमा चुनौती थपिएको उनको भनाई छ । यस विषयमा तुलसीपुर उपमहानगरपालिका नगरप्रमुखसँग पनि कुराकानी भइरहेको अध्यक्ष न्यौपानेले बताए । अस्पतालमा अहिले प्रसुती सेवा लिनेको संख्या अत्यधिक रहेको उनले बताए ।

अस्पतालमा ५० वेडको स्वीकृती हुँदा आफूहरुले ९५ वेडको सेवा दिइरहेको उनले बताए । साथै उनले अस्पतालका सुधार गर्नुपर्ने विषयमा गम्भिर भएको उल्लेख गरे ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।