ताजा अपडेट »

निर्माण सुरु भएको डेढ दशकमा पनि पूरा भएन रेसुङ्गा विमानस्थल

मंगलबार, ०९ भदौ २०७७, १२ : १२
6 Shares

गुल्मी । गुल्मीमा रेसुङ्गा विमानस्थलको काम ३० प्रतिशत मात्रै पूरा भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका-१० सिमीचौर थालेमाले स्थित रेसुङ्गा विमानस्थल निर्माण निर्माण सुरु भएको डेढ दशकसम्म पनि सम्पन्न हुन सकेन । विमानस्थल वि.स. २०६३ सालबाट निर्माण सुरु गरिएको थियो ।
निर्माणाधीण अवस्थामा रहेको विमानस्थलमा २ वर्ष अगाडी परीक्षण उडान भएपनि निर्माणको धेरै काम बाँकी रहेका छन् ।

०७५ साल जेठ २७ गते धुले उडान मार्फत परिक्षण गरिएको विमानस्थलको हालसम्म ३० प्रतिशत मत्रै काम सम्पन्न भएको हो । विमानस्थल नियमित सञ्चालनको लागि धावनमार्ग कालोपत्रे, टर्मिनल भवन, टावर र तारजालीको काम पूरा गर्न बाँकी छ । ती काम पूरा गर्न करिब २१ करोडको लागतमा तिनवटा निर्माण कम्पनीले काम गरिरहेको रेसुङ्गा नगरपालिका वडा नम्बर–१० का वडा अध्यक्ष पदम अर्यालले जाकारी दिए । निर्माणको काम थालिएको लामो समयसम्म पनि पूरा हुन नसकेको विमानस्थलको काम जनप्रतिनिधिहरु आएपछि भने गती लिएको अर्यालले बताए ।

विमानस्थल सम्पन्न गर्ने गरि धावनमार्ग कालोपत्रे गर्न १४ करोड, टर्मिनल भवन, टावर निर्माण गर्न ६ करोड र तारजाली लगायत फिनिसिङ्गको काम गर्न डेढ करोड बजेटमा काम भइरहेको छ । निर्माण व्यवसायीले समयमै काम गर्न सके यस आर्थिक वर्षमा ३ वटै काम पूरा हुने अर्यालले बताए । विमानस्थल निर्माणको काम पूरा गर्न तिनवटै सरकारको सहयोग र चासो रहेको वडा अध्यक्ष अर्यालको भनाई छ । विमानस्थल सम्पन्न गर्न हालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आवश्यक बजेको व्यवस्था मिलाए पनि निर्माणको काम सुस्त गतीमा चलिरहेकाले समय लाग्दै आएको छ ।

विमानस्थल शिलान्यस गरेका मन्त्री ज्ञवालीकै कार्यकालमा काम पुरा हुने अर्यालले बताए । विमानस्थलको धावनमार्ग गएको असारसम्म पुरा गरिसकिनु पर्ने थियो । तर विश्वव्यापी रुपमा फैलिएको कोभिडका कारण कालोपत्रे गर्ने सामाग्री लगायत बिभिन्न कारणले हुनसकेको छैन । विमानस्थल ०६३ सालमा तत्कालिन पर्यटनमन्त्री प्रदिप ज्ञवालीले सुरुवात गर्नु भएको थियो । निर्माण सुरु गरिए पनि काम ढिलो गतीमा हुँदा निकै लामो समय लाग्यो । पुनः ज्ञवाली मन्त्री बनेकै बेला आफ्नै उपस्थितिमा परिक्षण उडान पनि भयो ।

हाल विमानस्थलको अन्तिम चरणका कामहरु मध्ये धावन मार्गको कालोपत्रे, टर्मिनल भवन टावर र घेराबारको काम २०७८ साल मंसिरसम्म पूरा हुने विमानस्थलका सहायक आयोजना प्रमुख दिनेश परियारले बताए । निर्माणको काम समयअनुसार हुनुपर्ने भएपनि त्यसो हुन नसकेको परियारले बताए ।

विमानस्थलको धावन मार्गको कालोपत्रे गर्ने काम आउँदो वैशाखसम्म पूरा हुने र अन्य भवन निर्माण र तारजाली लगाउने काम मंसिरसम्म पूरा हुने आयोजना प्रमुख परियारको भनाई छ । विमानस्थल निर्माण कार्यसँगै परिक्षण उडानले गुल्ममेलीहरुको जहाज चढ्ने सपना पूरा हुने आशा पलाएको रेसुङ्गा विमानस्थलका पूर्व अध्यक्ष जयप्रकाश अर्यालले बताए ।

५ सय ६० मिटर लम्बाइ भएको धावनमार्ग ५० मिटर चौडा रहेको छ । विमानस्थल प्रभावित क्षेत्रमा पर्ने सिमिचौरस्थित थालेमालेका ४६ जना घरधुरी तथा जग्गा धनिलाई मुआब्जा दिएर अन्य ठाउँमा सारिएको छ । विमानस्थलको ७८ रोपनी १० आना क्षेत्रफल रहेको छ । कुल क्षेत्रफलमध्ये करिब ५६ रोपनी जग्गा सार्वजनिक छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।