ताजा अपडेट »

कपिलवस्तुमा कोरोनाको उच्च संक्रमण देखिएपछि परीक्षण प्रयोशाला स्थापना गर्न प्रदेशको बजेट

शुक्रबार, २३ जेठ २०७७, ०९ : ०७
12 Shares

बुटवल । कोरोना भाइरस संक्रमण उच्च देखिएको प्रदेश नं ५ को कपिलवस्तु जिल्लामा कोरोना परीक्षण प्रयोशाला स्थापना गर्न प्रदेश सरकारले बजेट उपलब्ध गराउने भएको छ । प्रदेश कोरोना संकट व्यवस्थापन केन्द्रको बैठकले कपिलवस्तुमा प्रयोगशाला स्थापनाको माग भएमा जिल्लाका स्थानीय तहसँगको सहकार्य हुने गरी बजेट उपलब्ध गराउने निर्णय गरेको हो ।

यस्तै प्रयोगशाला सञ्चालनको जिम्मा लिने निकाय सम्बन्धित जिल्ला अस्पताल वा जिल्ला स्वास्थ्य कार्यालय यकिन गर्नसमेत निर्देशन दिइएको छ । प्रदेश सरकारले प्रदेश राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रयोगशालाको क्षमता बढाउन कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषबाट रु ५० लाख सामाजिक विकास मन्त्रालयबाट व्यवस्था मिलाउने निर्णय पनि गरेको छ ।
प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा दुईवटै परीक्षण यन्त्र सञ्चालन गरेर परीक्षणको दायरा बढाउन तथा प्रयोगशालामा आवश्यक जनशक्तिको व्यवस्थाका लागि सामाजिक विकास मन्त्रालयमार्फत आवश्यक प्रक्रिया मिलाइने भएको छ।बैठकले प्रदेशका जिल्लामा बढ्दोक्रममा रहेकाले कोरोना संक्रमणको सामना गर्न सम्बन्धित जिल्लाका स्थानीय प्रशासन, सुरक्षा निकाय र स्थानीय तहबीचको समन्वयलाई व्यवस्थित र प्रभावकारी बनाई आवश्यक तयारी गर्ने निर्देशन दिएको छ ।

यस्तै रोगको नियन्त्रण तथा उपचारमा संलग्न सबै स्वास्थ्यकर्मीको मनोबल उच्च राख्ने वातावरण सामाजिक मन्त्रालय र सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई मिलाउनसमेत निर्देशन दिइएको छ । भारतबाट नेपाल भित्रिने सीमा नाका रुपन्देहीको बेलहिया, कपिलवस्तुको कृष्णनगर र बाँकेको नेपालगञ्जमा होल्डिङ्ग क्वारेन्टिन निर्माण गर्ने निर्णय गरिएको छ । बाँके जिल्लाले कर्णाली प्रदेशका जिल्लासँग, कपिलवस्तुले प्रदेश नं ५ का जिल्लासँग र रुपन्देहीले आन्तरिक मामिला तथा कानून मन्त्रालयसँगको समन्वयमा होल्डिङ क्वारेन्टिनमा रहेका व्यक्तिलाई गन्तव्यसम्म पुग्न प्रमुख जिल्ला अधिकारीलाई व्यवस्थापनको जिम्मेवारी तोकिएको छ ।

क्वारेन्टाइन, आइसोलेशन सेन्टर तथा आइसोलेशन अस्पतालमा रहेका व्यक्तिमा रोग प्रतिरोधात्मक क्षमताको विकासका लागि योग, ध्यान तथा मनोसामाजिक परामर्शको व्यवस्थाका लागि आयुर्वेद अस्पताल र स्वास्थ्य कार्यालयमार्फत आवश्यक व्यवस्था मिलाउने जिम्मा सामाजिक मन्त्रालयलाई तोकिएको छ। कोरोनाका लक्षण देखिएकाहरुलाई तत्काल आइसोलेशन सेन्टरबाट कोरोना विशेष अस्पतालमा ल्याउनका लागि सामाजिक मन्त्रालयलाई मिलाउने व्यवस्था मिलाउने जिम्मेवारी तोकिएको छ । त्यस्ता बिरामी बाँके र बर्दियाका सुशील कोइराला प्रखर क्यान्सर अस्पताल बाँकेमा, दाङ, प्युठान, रोल्पा र रुकुम(पूर्व) जिल्लाका दाङको बेलझुण्डीस्थित आयुर्वेद अस्पतालमा रहेको कोरोना विशेष अस्पताल तथा कपिलवस्तु, रुपन्देही, नवलपरासी(बर्दघाट सुस्ता पश्चिम), अर्घाखाँची, पाल्पा र गुल्मीका बिरामीलाई बुटवल धागो कारखानास्थित कोरोना विशेष अस्पताल र भैरहवाको भीम अस्पतालमा राख्ने व्यवस्था मिलाइने छ ।

कोरोना संक्रमणको दर बढ्दो अवस्थामा देखिएकाले हरेका जिल्लामा आइसोलेशन सेन्टर निर्माण गरी तिनको सञ्चालन तथा व्यवस्थापनका लागि तराईका जिल्लालाई रु २० लाख र पहाडी जिल्लाका लागि रु १० लाखको दरले कोरोना रोग नियन्त्रण तथा उपचार कोषबाट सम्बन्धित जिल्लाका कोरोना संकट व्यवस्थापन केन्द्रलाई उपलब्ध गराइने भएको छ ।
बैठकमा मुख्यमन्त्री शंकर पोखरेलले प्रशासन, सुरक्षा निकाय र जनप्रतिनिधिबीच नियमित समन्वय गरी कामलाई प्रभावकारी बनाउन निर्देशन दिए । उनले चिकित्सक र स्वास्थ्यकर्मीको मनोबल उच्च पार्ने गरी सबैले भूमिका खेल्ने गरी काम गर्न समेत आग्रह गरे ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।