ताजा अपडेट »

तिलोत्तमाको कोषमा तीन संस्थाको ३ लाख बढी सहयोग

सोमबार, ०५ जेठ २०७७, १९ : ५०
4 Shares

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले स्थापना गरेको प्रकोप व्यवस्थापन कोषमा तीन वटा संस्थाले सोमबार ३ लाख ५७ हजार रुपैंयाँ सहयोग गरेका गरेका छन् । करहिया-मक्रहर खानेपानी उपभोक्ता तथा सरसफाई संस्था, छत्तीस मौंजा सामुदायिक सिंचाई प्रणाली र सोह्र-छत्तीस संयुक्त सिंचाई प्रणालीको तर्फबाट कोषमा रकम प्रदान गरिएको हो ।

खानेपानी संस्था र संयुक्त सिंचाई प्रणालीको तर्फबाट दुवै संस्थाका अध्यक्ष यज्ञ गैरे तथा छत्तीस मौंजाको तर्फबाट अध्यक्ष कृष्ण पौडेलले नगर प्रमुख बासुदेव घिमिरेलाई सहयोग रकमको चेक हस्तान्तरण गरे । खानेपानीले १ लाख ५१ हजार, छत्तीस मौंजा सिंचाईले १ लाख ५ हजार तथा संयुक्तले १ लाख १ हजार सहयोग गरेका हुन् । त्यसअवसरमा नगर प्रमुख घिमिरेले कोषमा हालसम्म संकलन र खर्च भएको रकमको बारेमा जानकारी गराउँदै प्राप्त रकमलाई कोरोना महामारी रोकथाममा खर्च गरिने बताए । उनका अनुसार कोषमा हालसम्म झण्डै एक करोड रकम संकलन भएकोमा राहत वितरण, क्वारेन्टाइन व्यवस्थापन, आइसोलेसन सेन्टर स्थापना लगाएतका कोरोना महामारी रोकथाम पूर्वतयारीको काममा ९० लाख खर्च भैसकेको छ ।

हालसम्म नगरपालिकाले कोरोना महामारी रोकथामको लागि आफ्नो कोषको रकम खर्च गर्नु नपरेको बताउँदै नगर प्रमुख घिमिरेले राहत कोषमा सहयोग पुर्याउने सम्पूर्णलाई धन्यवाद दिए । कोरोना महामारी रोकथाम तथा उपचारको लागि अग्रपंक्तिमा रहेर काम गर्नेहरुको मनोबल उच्च पारिनुपर्ने बताउँदै उहाँले लकडाउन सम्बन्धी नगरपालिकाको सूचनालाई पूर्णपालना गर्न सबै नगरबासीलाई आग्रह गरे । खानेपानी र संयुक्त सिंचाईका अध्यक्ष यज्ञ गैरेले नेपालमा कोरोना संक्रमण बढ्दो क्रममा रहेकोले सामाजिक उत्तरदायित्व ठानेर संस्था आर्थिक रुपमा बजबुद नरहँदा नरहँदै पनि नगरपालिकाको कोषमा सहयोग गरिएको स्पष्ट पारे ।

कोरोना रोकथाम तथा त्यसका असर न्यूनीकरणको लागि नगरपालिकाले गरेका र अघि सारेका कामहरु निकै प्रशंसनीय रहेको चर्चा गर्दै उनले नगरपालिकाले ल्याउने हरेक योजनामा सहकार्य गर्न आफूहरु तयार रहेको उल्लेख गरे । कार्यक्रममा नगरपालिका, तीन वटै संस्थाका पदाधिकारी लगाएतको उपस्थिति रहेको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।