ताजा अपडेट »

सिद्धबाबा मन्दिर जान–आउन निःशुल्क धार्मिक बस

शनिबार, १८ फागुन २०७५, १८ : १०
10 Shares


फागुन १८,
ग्लोबल आवाज
बुटवल । धार्मिक आस्थाको केन्द्र तथा प्रसिद्ध सिद्धबाबा मन्दिर समितिले भक्तजनहरुका लागि निःशुुल्क बस शुुभारम्भ गरेको छ । समितिले शनिबार एक कार्यक्रमको आयोजना गरी बस सेवा सुुरु भएको जानकारी गराएको हो । तिनाउ गाउँपालिका–३,पाल्पा स्थित मन्दिरले तिलोत्तमादेखि बुुटवल हुँदै मन्दिरसम्म आउने भक्तजनहरुका लागि बस सञ्चालन गरेको हो ।


सिद्धबाबा मन्दिर दर्शन गर्न जाने यात्रुलाई अब सहजता हुने भएको छ। मन्दिर विकास समितिले भक्तजन र धार्मिक पर्यटकहरुका लागि शनिबारदेखि निःशूल्क बस चलाउन शुरू गरेको छ।
मन्दिर समितिले गत वर्ष बस सञ्चालन गर्ने योजना सार्वजनिक गरेको थियो । सोही अनुसार गत वर्षको शिवरात्रीमा बसका लागि आर्थिक सहयोगपनि संकलन गरेको थियो ।


अहिले महाशिवरात्रिको अवसर पारेर समितिले आफैँ बस खरिद गरी बस सञ्चालनमा ल्याएको अध्यक्ष दलबहादुर गुरूङले जानकारी दिए। ‘बुटवलबाट मन्दिर दर्शन गर्न जाने यात्रुहरूलाई पाल्पा जाने गाडीहरूले लैजान आनाकानी गर्छन्। बुटवल गोलपार्कबाट हिँडेर जान पनि बाटोको समस्या हुने भयो,’ उनले भने, ‘भक्तजनलाई सहज होस् भनेर २६ लाख ६० हजार रुपैयाँमा २६ सिट क्षमताको गाडी ल्याएका हौँ।’


सो बस हरेक बिहान ५ बजे बुटवल उपमहानगर र तिलोत्तमा नगरपालिकाको सीमा क्षेत्र योगीकुटीबाट पहिलो पटक छुट्ने छ। त्यसपछि ट्राफिकचोकबाट प्रत्येक एक घण्टाको फरकमा मध्यान्ह १२ बजेसम्म बस छुट्ने व्यवस्था मिलाइएको समितिका सदस्य तोया लम्सालले जानकारी दिए।

‘गाडीको भाडा कसैले तिर्नु पर्दैन। इच्छा भए बसमा राखिएको दानपेटिमा दान गर्न सकिन्छ। बसमा भजन कीर्तन र सिद्धबाबा मन्दिरसहित धार्मिक प्रवचन श्रवण गर्ने व्यवस्था मिलाइएको छ,’ लम्सालले भने। तत्कालका लागि एउटा बस खरिद गरिएको भए पनि आवश्यकता अनुसार थप गर्दै लगिने कोषाध्यक्ष प्रेम पाण्डेले बताए।

सो अवसरमा मन्दिर समितिका कोषाध्यक्ष प्रेम पाण्डेले धामको आर्थिक विवरण बारे जानकारी गराउँदै मन्दिरको वार्षिक आम्दानी झण्डै ५२ लाख भएको र करिब ४२ लाख खर्च भएको जानकारी गराए । शनिबार नै समितिले यस वर्षको महाशिवरात्रीलाई भव्य रुपमा मनाउन आवश्यक तयारी गरेको छ। महाशिवरात्री र सोमबार एकै दिन परेकाले भक्तजनको उल्लेख्य सहभागिता हुने अनुमानसहित समितिले विशेष तयारी गरेको अध्यक्ष गुरुङले जानकारी दिए ।

समितिले महाशिवरात्रिमा बुटवलबाट मन्दिरसम्म पुग्न थप ४ वटा बसको निःशुुल्क व्यवस्था गरेको छ । गत वर्ष महाशिवरात्रीमा १२ हजार भक्तजन आएकोमा यस वर्ष २० हजार पुग्ने अनुमान समितिको छ। मन्दिरमा विशेष गरी सोमबार र शनिबार भक्तजनको घुइँचो लाग्ने गर्छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।