ताजा अपडेट »

लकडाउन उल्लंघन गर्ने क्रम बढेपछि सेना परिचालन

विहीबार, ०४ बैशाख २०७७, १३ : २९
12 Shares

भैरहवा । रुपन्देही भैरहवामा प्रहरीलाई अटेर गर्दै लकडाउनको समयमा पनि बजारमा चहलपहल बढेपछि सेना परिचालन गरिएको छ । लकडाउनको वास्ता नगरी प्रहरीलाई अटेर गरेर सडक तथा बजारमा चहलपहल बढेपछि स्थानीय प्रशासनले सेनाको सहयोग लिएको हो । लकडाउन उल्लंघन गरी पसल खोल्ने तथा बिनाकाम सडकमा निस्कने क्रम बढेपछि सेनालाई पनि गस्ती तथा चेकजाँचमा खटाइएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले बताए । जिल्ला सुरक्षा समितिका संयोजकसमेत रहेका पन्थले भने, ‘सेनाको सुरक्षा गस्ती बढाइएको छ । आवश्यकताअनुसार नेपाल प्रहरीसँगको समन्वयमा चेकजाँच पनि हुन्छ ।’

सेना नै सडक चेकजाँचमा आएपछि भैरहवामा लकडाउन प्रभावकारी हुने अपेक्षा गरिएको छ । केही दिनयता नेपाल प्रहरीको सुरक्षा तैनाथी बढेको भए पनि प्रभावकारी हुन सकेको थिएन । सेनाले सरकारले निर्दिष्ट गरेका सवारीसाधन एम्बुलेन्स, सुरक्षाका गाडीहरु, खाद्यान्न तथा तरकारी बोकेका गाडी, फोहोर उठाउने गाडी, दूध डेरीका गाडी बाहेक अन्यलाई कडाइका साथ रोक्न सुरु गरेको छ । नेपाल प्रहरीलाई नटेरी लकडाउनको समयमा पनि साना सवारीसाधन लिएर मान्छे ओहोरदोहोर गर्ने क्रम बढेपछि सेनाको सुरक्षा चेकजाँच र गस्ती बढाइएको सुरक्षा अधिकारीहरुले बताएका छन् । नेपाली सेनाको गस्ती टोलीले भैरहवाका मुख्य–मुख्य चोकहरुमा नियमित गस्ती गर्ने बताइएको छ ।

दिनभर सुनसान हुने भैरहवामा बिहान–साँझ भने निकै चहलपहल बढेको छ । भैरहवाको गल्लामण्डी, हनुमान मन्दिर, शान्तिनगर, खजुरीया, भैरहवा गाउँ, डाँडागाउँ, विपी–पथ, उदयपुर, गोलीगढ क्षेत्रका पसलहरु निर्वाध चलिरहेका छन् । नेपाल प्रहरीले बारम्बार माइकिङ गरेर पसल नखोल्न बारम्बार अनुरोध गर्दा पनि अटेर गरेपछि सुरक्षालाई मध्यनजर गर्दै नेपाली सेना परिचालन गरिएको बताइएको छ ।

भैरहवा भारतीय शहर सुनौलीसँग जोडिएको छ । भारतीय नागरिक पनि नेपाल प्रवेश गर्न सक्ने भन्दै सशस्त्र प्रहरी बलले सीमामा थप सुरक्षा तैनाथी बढाएको हो । सीमावर्ती भारतीय क्षेत्रमा कोरोनाको संक्रमण बढेपछि भारतीयहरु विभिन्न बहानामा नेपाल प्रवेश गर्न सक्ने भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन् । सीमा क्षेत्रबाट कसैलाई पनि आवतजावत गर्न नदिने गरी सुरक्षा तैनाथी गरिएको सशस्त्र प्रहरी बल नेपाल २७ नम्बर गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक तेजप्रसाद पोखरेलले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।