ताजा अपडेट »

यसवर्षको वाग्द्वार मेला पनि स्थगित

आइतबार, ३० चैत्र २०७६, १० : १०
8 Shares

काठमाडौ । प्रत्येक वर्ष नयाँ वर्षका अवसरमा वैशाख १ गते वाग्मतीको उद्गमस्थल वाग्द्वारमा लाग्ने मेला कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दीका कारण यसपटक स्थगन गरिएको छ ।

मेला चलाउँदा भीड जम्मा भई कोरोनाको सङ्क्रमण फैलन सक्ने भएकाले यस वर्ष स्थगन गरिएको वाग्द्वार उपभोक्ता समितिका अध्यक्ष अरुण ठकुरीले जानकारी दिए। मेला स्थगन गरिए पनि पुजारीबाट वैशाख १ गते हुने विशेष पूजा भने गरिनेछ । यहाँको मेला चलाउन गुठी संस्थानले पनि सहयोग गर्दै आएको छ । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्र गोकर्णेश्वर र बूढानीलकण्ठ नगरपालिकाको सङ्गमस्थलमा पर्ने वाग्द्वारमा नयाँ वर्षका दिन स्नान गरी त्यस नजिकैको शिवलिङ्ग एवं शत रुद्रेश्वर महादेव मन्दिरमा पूजा गरेमा पाप पखालिई पुण्य कमाइने जनविश्वास छ ।

मेलाका लागि धेरै भक्तजन चैतको अन्तिम दिन नै वाग्द्वारमा गएर बस्ने गर्छन् । चैत मसान्तमा वाग्द्वार पुग्ने भक्तजनले नजिकैको शिवलिङ्ग एवं शत रुद्रेश्वर महादेव मन्दिरमा बत्ती बाल्ने गरेको समितिका अध्यक्ष ठकुरीले सुनाए । वैशाख १ गते बिहान वाग्द्वार स्नान गरी शिवलिङ्ग र शत रुद्रेश्वर महादेव मन्दिरमा पूजा गर्छन् । शिवपुरीको दर्शन गरेर विष्णुपादुकाको दर्शन, टोखा नगरपालिकास्थित सपनतीर्थ हुँदै भक्तपुरको बिस्केट जात्रा हेर्न जाने नियम रहेको समितिले जनाएको छ ।

यस वर्ष वाग्द्वारको स्नान मेलासँगै विष्णुपादुका, सपनतीर्थ एवं भक्तपुरको बिस्केट जात्रा पनि स्थगन गरिएको छ । यस वर्ष वैशाख १ गतेको मेला अघि नै निर्माण सक्ने गरी दुवै नगरपालिकाको १०/१० लाख गरी २० लाखको लागतमा वाग्द्वारमा कुटीसहित शौचालय निर्माण भइरहेको थियो । कोरोनाको त्राससँगै एक महिनाअघि काम रोकिएको समितिले जनाएको छ । बन्दाबन्दी खुलेसँगै बाँकी काम पुनःशुरु गरिनेछ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले यहाँ निर्माण गरिएका शौचालय भत्किएपछि त्यसपछिका वर्षमा पालको अस्थायी शौचालय निर्माण गरेर काम चलाइने गरेको छ ।

मेलामा विशेष गरी उपत्यकाका साथै सिन्धुपाल्चोक र नुवाकोटका भक्तजनको पनि उल्लेख्य सहभागिता रहने गर्छ । वाग्द्वारबाट दुवै जिल्लाको सीमा नजिकै पर्छ । पशुपति क्षेत्र विकास कोषले प्रत्येक वर्ष वैशाख महिनामा आयोजना गर्ने वाग्मती तीर्थ यात्राका यात्रु पनि एक रात वाग्द्वारमा बास बस्ने विधि छ । वाग्द्वार गोकर्णेश्वरको सुन्दरीजल र बूढानीलकण्ठको नारायणस्थान दुवैतिरबाट जान सकिन्छ । सुन्दरीजलबाट तीन घण्टा र नारायणस्थानबाट करिब दुई घण्टाको पैदल यात्रापछि वाग्द्वार पुग्न सकिन्छ । निकुञ्जभित्रको सौन्दर्यमा रमाउँदै रमणीय यात्रा गरी वाग्द्वार पुग्न सकिन्छ ।

विगत ३२ वर्षदेखि वाग्द्वारमा तपस्या गर्दै आएका टोड्के बाबा वैशाख १ गतेको मेलामा बस्तीबाट टाढा रहे पनि हजारौँ मानिस सहभागी हुने गरेको स्मरण गर्छन् । यहाँ यसअघि शिवपुरी बाबा, स्वामी चन्द्रेश लगायतले पनि तपस्या गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।