ताजा अपडेट »

कोरोना र नेपाली अर्थतन्त्रमा प्रभाव

विहीबार, २० चैत्र २०७६, १२ : १७
54 Shares

सन् २०१९ को अन्तिम साता चिनको वुहान शहरबाट विश्वभर फैलिएको कोभिड २०१९ ले आज विश्वका १९९ राष्ट्र तथा २ वटा अन्तराष्ट्रिय पानी जहाजमा पनि गरी ९ लाख भन्दा बढी मानिस संक्रमित भएका छन् । यसैगरि यस रोगबाट अहिले सम्म ४७ हजार भन्दा धेरै मानिसले ज्यान गुमाई सकेका छन् । विश्वभर माहामारीका रुपमा फैलिएको यस रोगलाई विश्व स्वास्थ्य संगठनले मानव जातीको अस्तित्व कायम राख्ने लडाईका रुपमा परिभाषित गरेको छ । त्यसैगरि संयुक्त राष्ट संघले आफ्नो स्थापना पछिको महासंकटका रुपमा लिएको र यसका विरुद्धमा थुप्रै अनुसन्धान गरिएको बताएको छ ।

विश्वव्यापी रुपमा महामारीको रुपमा तिव्र गतिमा फैलिएको यस रोगबाट वर्तमान समयमा नेपाल पनि पिडित भएको छ । नेपालमा अहिलेसम्म यस रोगबाट ५ जना संक्रमित भएका छन् । नेपालमा यो रोग–२०२० जनवरीमा एक जनामा देखिएको थियो । नेपाल सरकारले देशमा यस रोगका कारणले गर्दा विकारल परिस्थितिको सिर्जना नहोस् भनेर चैत ११ बाट देशभर लकडाउनको घोषणा गरेको छ । विशेषगरि नेपाली अर्थतन्त्रमा कोरोना अर्थात् कोभिड १९ को प्रभाव के कस्तो रुपमा देखा पर्नेछ भन्ने बारेमा यस आलेखमा विश्लेषण गरिनेछ ।

नेपाल एक विकासोन्मुख , मिश्रित अर्थव्यवस्था अपनाएको देश हो । जहाँका अधिकांश जनता कृषिमा निर्भर छन् भने वैदेशिक रोजगारी नेपाली अर्थतन्त्रको विदेशी विनिमय प्राप्त गर्ने प्रमुख स्रोत हो । नेपाली अर्थतन्त्रका समष्टिगत आर्थिक सूचकको अवस्था वि.स. २०७२ सालको महाभूूकम्पपछि बिस्तारै सुधारजनक रुपमा देखिन थालेको परिस्थितिमा यस कोभिड –१९ को कारणले आगामी केहि वर्ष नकरात्मक रुपमा आउने कुरामा कुनै विवाद छैन् । चीनबाट फैलिएर विश्वव्यापी बनेको कोरोना भाइरसका कारण नेपालको अर्थतन्त्रमा चार अर्ब रुपैँयासम्म क्षति हुन सक्ने प्रक्षेपण एसियाली विकास बैंकले गरेको छ । आन्तरिक माग, व्यापार तथा उत्पादन घट्ने , आपूर्तिममा अवरोध , पर्यटन गतिविधिमा कमी ,स्वास्थ्यमा असर लगायतका कारण विश्वका अन्य मुलुकसँगै नेपाल पनि प्रभावित हुने एडिविको अध्ययनले देखाएको छ ।

कोरोनाको असर कस्तो हुन्छ भनेर अहिल्यै भन्न सकिने अवस्था नभए पनि एसियाली विकास बैंकले विभिन्न आकलन गरेको छ । कोरोना भाइरसको प्रभाव खराब हुँदा नेपालको कुल ग्राहस्थ उत्पादनको शूून्य दशमलव १३ प्रतिशत अथार्त तीन करोड ३० लाख अमेरिकी डलर क्षती हुने विश्लेषण एडिबिले गरेको छ । प्रकोप अनियन्त्रित भयो भने नेपाली अर्थतन्त्रको कुल ग्राहस्र्थ उत्पादनमा १.११ प्रतिशत अथार्त ३७ अर्ब रुपैँया बरावरको क्षती हुने अनुमान रहेको छ । नेपाली अर्थतन्त्रमा पर्ने केही नकरात्मक प्रभावहरु :

१. बेरोजगारी
नेपाली अर्थतन्त्रको प्रमुख समस्या बेरोजगारी हो । जसलाई समाधान गर्न केही हदसम्म वैदेशिक रोजगारीले महत्वपूर्ण भूमिका निवार्ह गरेको थियो तर कोभिड २०१९ का कारणले गर्दा युवाहरु वैदेशिक रोजगारीमा जान पाएका छैन् । त्यसैगरि कोभिड २०१९ का कारणले देशभित्र भएका उद्योग , व्यवसाय पनि बन्द हुन पुगेका छन् । जसले गर्दा नेपाली अर्थतन्त्रमा अल्पकालिन समयमा बेरोजगारीको समस्या उत्पन्न हुनेछ । वर्तमान समयमा प्रत्येक दिन २५०० युवा रोजगारका विभिन्न अवसरको खोजीमा सहरका गल्लीमा भौतारि रहेका हुन्छन् । साथै कोरोनाले गर्दा त्यो संख्या आगामी दिनहरुमा वृद्धि हुनेछ ।

२. कुल ग्राहस्थ उत्पादनमा कमी
नेपालको कुल ग्राहस्र्थ उत्पादन यस वर्ष ऋणात्मक दरमा वृद्धि हुनेछ किनकी नेपाली अर्थतन्त्रमा आत्मनिर्भर नभएर परनिर्भरतामा केन्द्रित छ । नेपालका हरेक आर्थिक क्रियाकलाप बाह्य राष्ट तथा दाताहरुको आर्थिक सहयोगमा निर्भर छ यद्यपि यो वर्ष ति राष्टहरु स्वंयम चरम आर्थिक संकटमा फसेका छन् यसकारण आ.व. २०७६/०७७ को कुल ग्राहस्र्थ उत्पादनमा कृषि क्षेत्रको योगदान केही हदसम्म सकरात्मक देखिएतापनि अन्य क्षेत्रमा जस्तै सेवा उद्योग व्यापार व्यवसाय रोजगारी आदिमा कोभिड १९ को नकरात्मक प्रभाव पर्ने भएकाले यो वर्ष नेपालको कुल ग्राहस्र्थ उत्पादन नकरात्मक हुनेछ । यसमा योगादान गर्ने घरायसी क्षेत्र , व्यापार , सरकारी क्षेत्र तथा बाह्य क्षेत्र सबैमा कोरोनाको खराव असर देखिएका कारण चालूू आ.व. को कुल ग्राहस्थ उत्पादन नकरात्मक हुनेछ ।

३. गरिबी तथा भोकमरी
नेपालको कुल जनसंख्यामा सरकारी तथ्याड्ढ अनुसार १८.७ प्रतिशत जनताहरुले गरिबीको रेखामुनीको जीवनयापन गरिरहेका छन् । विश्वमा वर्तमान समयमा देखिएको यस महामारीबाट नेपाली जनताको आन्तरिक र बाह्य रोजगारीका अवसरहरु गुमेका छन् । कोरोना भाईरसको कारणले गर्दा २० लाख भन्दा बढी दैनिक ज्यालादारीमा काम गर्ने श्रमिकले आफ्नो रोजगारी गुमाउन पुगेका छन् भने यसैका कारण ति परिवारको क्रयशक्ति क्षमता घटी रहेको छ । यसले आगामी केही महिना भित्र नेपालमा खाद्यान्नको अभावमा रोजगारीको अवसर गुमाएका परिवार र समाजमा रहेका कथित धनीवर्गको बढ्दो महत्वकाच्छाले भोकमरि आउने कुरामा कुनै विवाद छैन । गरिबी र भोकमरि बीचमा सिधा सम्पर्क रहने हुनाले पनि विश्वव्यापी संकटका कारणले नेपाली अर्थतन्त्रमा कुल जनसंख्यामा थप ३ देखि ५ प्रतिशत जनताहरु जबरजस्ती रुपमा गरिबीको रेखामुनीको जीवनयापन गर्न बाध्य हुनेछन् ।

४. बजार असन्तुलन
कुनैपनि अर्थतन्त्रमा अल्पकालिन समयमा माग अनुसारको वस्तु तथा सेवाहरु आपूर्ति गर्न सकिदैन र यसले बजारमा माग मूल्य र आपूर्तिका बीचमा प्रतिकुल परिस्थिती सिर्जना गर्दछ । अल्पकालमा माग बढेको कारणले गर्दा उत्पादक र बिक्रेताले आफ्नो उत्पादको मूल्य अधिक मात्रामा वृद्धि गर्दछन् । जसको प्रत्यक्ष प्रभाव उपभोक्ताको क्रयशक्ति क्षमतामा पर्दछ । नेपाली अर्थतन्त्रमा अधिकांश उपभोक्ताको क्रयशक्ति क्षमता न्यून स्तरको रहेको छ । अल्पकालमा नेपाली अर्थतन्त्रले माग अनुसारको वस्तु उपभोक्तालाई पुर्याउन सक्दैन र माग आपूर्तिका बीचमा सन्तूलन आउन सक्दैन । जसबाट उत्पन्न हुने अवस्थालाई बजार असन्तुलन भनिन्छ । जुन वर्तमान समयमा अत्यावश्यक वस्तुहरु चामल , दाल , तरकारी तथा मेडिकल जन्य उत्पादन देखिएकै छ । यो अवस्थाबाट प्रत्यक्ष फाईदा उत्पादकलाई भन्दा बढी बिचौलीयालाई भएको पाईन्छ ।

५ वैदेशिक व्यापार घाटा
कोरोना भाईरसका कारणले गर्दा नेपालको वैदेशिक व्यापार घाटा बढ्ने निश्चित छ । नेपालको वैदेशिक व्यापार घाटा नयाँ विषय होईन । किनभने नेपालले वैदेशिक व्यापारका क्षेत्रमा तयारी वस्तुहरु खरिद गर्ने र कच्चा पदार्थ विक्रि गर्ने गर्दछ । नेपालले कोरोना भाईरसबाट बच्नको लागि र उपचार गराउन परिक्षण तथा अध्ययन अनुसन्धान गर्नको लागी पनि वैदेशिक व्यापार वन्द गर्नु पर्ने हुन्छ । जसले नेपाली अर्थतन्त्रमा वैदेशिक व्यापार घाटाको हिस्सा बढाउन सहयोग पुर्याउँछ । कोरोनाको सङक्रमण फैलिए सँगै नेपाली उपभोक्ताहरुले आन्तरिक उत्पादित मेडिकल सामाग्रीको विश्वास नगरी बाह्य उत्पादन माग गरिरहेका छन् जसको कारण नेपाली वैदेशिक व्यापारको हिसाब पहिलेको तुलनामा २० प्रतिशतका दरले बढ्ने पूवनुमान गरिएको छ । मूलत नेपाली अर्थतन्त्र निर्यातमूलक भन्दा पनि आयात मूलक हो जसले गर्दा पनि नेपालको वैदेशिक व्यापार सधै घाटामा रहने गर्दछ । यसै बिच यो महामारीले त्यसमा थप इट्टा थप्ने कार्य गरेको मात्र हो ।

६.आर्थिक वृद्धिदर
आ.व. २०७५/७६ मा ६ प्रतिशत भन्दा माथि रहेको नेपाली अर्थतन्त्रको आर्थिक वृद्धिदर आ.व.२०७६/७७ मा यस भन्दा अघि गरिएको प्रक्षेपण ६.५ प्रतिशत पुग्नुमा प्रतिकुल विश्वमा परिस्थितिले नकरात्मक प्रभाव परिहेको छ । चालु आ.व. मा नेपालीको आर्थिक वृद्धिदर ३ प्रतिशत भन्दा रहने पूर्वानुमान गरिएको छ । आ.व.२०७३/७४ बाट उकालो लागेको आर्थिक वृद्धिदरले आर्थिक समृद्धिको लागि शुभ संकेत गरेको थियो । वर्तमान समयमा विश्व व्यापी रुपमा महामारीको रुपमान फैलिएको कोरोना भाईरसका कारणले गर्दा नेपाली अर्थतन्त्रका घरायसी , व्यवसायिक , सरकारी तथा बाह्य आर्थिक गतिविधि पूर्णरुपमा बन्द हुन पुगेका कारण चालु आ.व. मा नेपालको आर्थिक वृद्धिदर कम हुने अनुमान छ ।

७. रेमिटान्स
नेपालको अर्थतन्त्रमा वैदेशिक रोजगारीबाट रेमिटान्सबाट रेमिटान्सको हिस्सा कुल गार्हस्थ उत्पादानमा ३० प्रतिशत भन्दा बढि रहेको छ । नेपाली अर्थतन्त्रलाई चलायमान बनाउने कृषि क्षेत्र पछिको प्रमुख स्रोत भनेको वैदेशिक रोजगारीबाट प्राप्त हुने आम्दानी हो । सन् २०१९ को अन्तिम साताबाट फैलिएको यस महामारीबाट विश्वका विभिन्न स्थानमा रोजगारीका शिलशिलामा गएका ३९ लाख जनशक्ति मध्ये ९० प्रतिशत पूर्णरुपमा काम विहिन भएर बसोबास गरिरहेका छन् । यसको प्रत्यक्ष प्रभाव घरेलु देशको अर्थतन्त्रमा देखापरिरहेको छ । वैदेशिक विनिमयको स्रोत पनि मानिन्छ जुन सामान्य र विपत्तिको समयमा कुनै पनि राष्टले प्रयोगमा ल्याउने गर्दछन् यद्यपी नेपालमा विगत तिन महिना देखि रेमिटान्स आउने क्रम एकदम न्यून अवस्थामा रहेको छ । वैदेशिक रोजगारीबाट रेमिटान्स भित्राएर मात्र अर्थतन्त्रलाई चलायमान बनाउने देशहरुमा नेपाल विश्वमा पाँचौ स्थानमा पर्ने भएकाले पनि नेपाली अर्थतन्त्रमा अल्पकालिन समयमा निकै नै नकरात्मक प्रभाव परेको छ ।

८. बैंक तथा वित्तिय क्षेत्रमा प्रभाव
कोभिड २०१९ को अत्यन्तै नराम्रो प्रभाव विश्व अर्थतन्त्रमा बैंक तथा वितिय सस्थाले भोग्नु परिरहेको छ । आज संसारका सबै मुलुकका सार्वजकि तथा व्यक्तिगत हरेक कारेवार वितिय सस्थाबाट हुने गरेका छन् । बैंक तथा वितिय सस्थाहरुले विभिन्न क्षेत्रमा गरेको लगानीबाट प्राप्त हुने प्रतिफल सन् २०२० का कुनै महिनामा आएको छैन् । बैंक तथा वितिय सस्थाले आफ्ना बचतकर्ताहरुलाई उनिहरुको बचतको रकम भुत्तानी गर्नुपर्ने बाध्यकारी अवस्था छ । जसका कारणले वितिय सस्थाहरुले आम्दानी र बचत तथा लगानीको बीचमा सन्तुलन कायम गराउन सकिरहेका छैन्न । आम्दानी र बचतका बीचमा प्रतिकुल अवस्था सिर्जना हुदाँ बैंक तथा वितिय सस्था र सरकार स्वंयमले आगामी दिनहरुमा तरलताको अभावको स्थिती सामना गर्नुपर्ने बाध्यकारी अवस्था आउने कुरालाई मुद्राको क्षेत्रमा कार्यरत विभिन्न अन्तराष्ट्रिय संघ संस्थाले प्रक्षेपण गरिरहेका छन् ।

९. सार्वजनिक खर्चमा वृद्धि
आज संसारका सम्पूर्ण कोभिड २०१९ पिडित मुलुकले आफ्नो हरेक विकास खर्चमा कटौती गरेर कोरोनाका बिरामीको उपचारलाई प्राथमिकतामा राखेर काम गर्नु परिरहेको छ जुन अवस्था नेपालमा पनि हुनेछ । जसका कारणले गर्दा देशको साधारण खर्चमा वृद्दि आएको छ । भने आकस्मिक रुपमा गर्न परिरहेको यस खर्चले गर्दा देशको विकासात्मक गतिविधि पूर्णरुपमा रोकिएका छन् । विश्वव्यापी महामारीबाट बँच्न विभिन्न प्रकारका अध्ययन , अनुसन्धान गर्न विभिन्न प्रकारका क्रियाकलाप सञ्चालन गर्दा हरेक देशले घाटा बजेटको निमार्ण गर्नु पर्ने र विभिन्न व्यवसायिक प्रतिष्ठानको घाटा पनि सरकारी तवरबाट नै पुरा गर्नु पर्ने बाध्यकारी परिस्थितीका कारणले गर्दा देशको सार्वजनिक खर्च बढिरहेको छ । अर्थतन्त्रमा सरकारी खर्चको मात्रामा आकस्मिक रुपमा वृद्दि हुन जादाँ त्यसले अर्थतन्त्रमा प्रतिकुल भुत्तान सन्तुलन , मुद्रास्फिती , बजार मूल्यमा प्रतिकुलता , समष्टिगत माग र आपूर्ती बिच असन्तुलन , हस्क्षेपकारी विनिमयदर प्रणालीको अभ्यास जस्ताँ मौद्दिक समस्याहरु पनि सिर्जना हुनेछन् ।

१०. पर्यटनमा प्रभाव
नेपाली अर्थतन्त्रको लागी आवश्यक पर्ने विदेशी विनिमय संकल गर्ने भरपर्दो माध्यम पछिल्लो समयमा पर्यटन उद्योग बनिरहेको थियो । साथै यस क्षेत्रले आन्तरीक रुपमा कायम रहेको बेरोजगारी समस्यालाई पनि समाधान गर्ने विकल्पको रुपमा आफुलाई स्थापित गर्दै थियो । यद्दपि विश्वव्यापी रुपमा फैलिएको कोभिड २०१९ को कारणले गर्दा त्यो सम्भावना केही समयको लागी स्थगित भएको छ । यस क्षेत्रमा आश्रित १८० हजार भन्दा बढी नेपालीहरु बेरोजगार बनि रहेका छन । लाखौको संख्यामा वैदेशिक पर्यटकका यात्रा स्थगित भएका छन । सयौँ संख्यामा हिमाल आरोहिका टिकट स्थगित भएका छन जसको असर नेपाली पर्यटन क्षेत्रले नकारात्मक रुपले व्यहोरी रहेको छ । नेपाली अर्थतन्त्रले व्यहोर्ने कुल क्षतीको ५४ प्रतिशत क्षती यस क्षेत्रले व्यहोर्ने कुरालाई एडिबिको प्रक्षेपणले बताइसकेको छ ।

अन्त्यमा विश्व व्यापी यो महामारी बाट बच्न नेपाल सरकारले दिएका हरेक निर्देशनको पूर्णरुपमा पालना गरी एक जिम्मेवार नागरिकको दायित्व पुरा गरौँ । विपतीको समयमा आपसमा वादविवाद गरेर भन्दा पनि सरकारलाई आवश्यक सहयोग गरेर घरमै बसौँ । सरकार जनताकै पक्षमा कार्य गरिरहेको छ भन्दैमा कोहि कसैको अनाहकमा कसैले आफ्नो अमूल्य ज्यान पनि गुमाउन नपरोस् आगामी दिनहरुमा । यो समय कोरोना विश्व भ्रमणको भएकाले उसको गतिविधि सहज रुपमा अगाडि बढ्न दिनको लागी अहिलेलाई सम्भव भएसम्मका मानव जाती घरमै बस्न विन्रम अनुरोध गर्दछु ।- (लेखक भुसाल आर्थिक अनुसन्धान केन्द्र, नेपालका अध्यक्ष हुन् ।)

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।