ताजा अपडेट »

दाङका २६ नाका र सरकारी कार्यालय बन्द

सोमबार, १० चैत्र २०७६, ११ : ३२
12 Shares

तुलसीपुर । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोक्न भारतसँग सिमा जोडिएका दाङका नाकाहरु अनिश्चितकालका लागि बन्द गरिएको छ । भारतसँग सिमा जोडिएको मुख्य कोइलावास नाकासहित ८३ किलोमिटर क्षेत्रमा रहेका २६ वटा नाकाहरु अनिश्चितकालका लागि बन्द गरिएको हो ।

भारतमा कोरोना भाइरसको संक्रमण बढ्न थालेसँगै दुवै देशका अधिकारीहरुको सहमतिमा नाकाहरु पूर्ण रुपमा बन्द गरिएको प्रमुख जिल्ला अधिकारी गोविन्द्रप्रसाद रिजालले जानकारी दिएका छन् । उनका अनुसार नेपाल–भारत सिमा जोडिएका मुख्य नाकाहरु कोइलावास नाका, भौवा नाका, खंग्रा नाका, पटौली नाका, गुङखोला नाका, भौरीसाल नाका, सुनपथरी नाका लगायत साना तथा ठूला २६ नाकाहरु बन्द गरिएको छ । ‘कोरोना भाइरसको संक्रमण पैmलन नदिन नेपाल आउने र भारत जाने दुवैतर्फका नाका बन्द गरिएको छ, संक्रमणको अवस्था सामान्य नहुँदासम्म सिमा बन्द गरिने छ’ प्रमुख जिल्ला अधिकारी रिजालले भने । बन्द गरिएका सिमा नाकाहरुमा सशस्त्र प्रहरी, नेपाल प्रहरी लगायतको सुरक्षाफोर्स राखिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

जिल्लाका २६ नाकाहरु मध्ये बढि मानिसहरुको चहलपहल हुने नाका कोइलावास नाका हो । मुख्य नाकाका रुपमा रहेको कोइलावास नाकामा यसअघि हेल्थडेक्स स्थापना गरेर दुवैतर्फ आउने जानेहरुको स्वास्थ्य परिक्षण गरिदै आइएको थियो । जिल्ला प्रशासन कार्यालय दाङले सूचना जारी गर्दै जिल्लामा रहेका सरकारी कार्यालयहरुमा अत्यावश्यक बाहेकको सेवाहरु चैत्र २१ गतेसम्मका लागि बन्द गरिएको जनाएको छ । प्रमुख जिल्ला अधिकारी रिजालले सूचना जारी गर्दै नेपाल सरकारका सार्वजनिक निकायबाट प्रवाह गरिने सार्वजनिक सेवाहरुमध्ये अत्यावश्यक वाहेक अन्य बन्द हुने बताएका हुन् । सूचनामा कोरोना भाइरसको संक्रमण फैलन नदिन अत्यावश्यक काम बाहेक हिडडुल नगर्न, मन्दिर, मस्जित, चर्च जस्ता धार्मीक एवम् पार्टी प्यालेसमा २५ जनाभन्दा बढी भेला नहुन अनुरोध गरिएको छ ।

तुलसीपुर उपमहानगरपालिकाले कोरोना संक्रमणको प्रकोपलाई लक्षित गरेर आपतकालिन उद्दारका लागि पैसा नलाग्ने टोल फ्रि नम्वर सञ्चालनमा ल्याएको छ । कोरोनाका लक्षण कहिकतै देखिएमा या अन्य कुनैपनि खालको सहयोगका लागि तत्काल सम्वोधन गर्नका लागि यस्तो नम्बर सञ्चालनमा ल्याएको हो । १६६०८२५२००० मा सम्पर्क गरेर तुलसीपुरमा रहेका जो कोहीले पनि स्वास्थ्य शाखामा प्रत्यक्ष सम्पर्क गरेर जानकारी राख्न सक्ने प्रवक्ता सूर्यवहादुर डाँगीले जानकारी दिएका छन् । उनले कुनैपनि आपतकालिन सेवाका लागि एम्वुलेन्ससहित स्वास्थ्यको टोलि तयारी अवस्थामा रहेको समेत जानकारी दिए । उपमहानगरपालिका स्वास्थ्य शाखाले अमिलिया सडक खण्डको दमारगाउँ टरिगाउँ विमानस्थलमा निरन्तर चेकजाँच गरिरहेको स्वास्थ्य प्रवद्र्धन शाखा प्रमुख ओमप्रकाश न्यौपानेले जानकारी दिएका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।