फागुन ७,
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका सैनिकलाई राष्ट्रपति समर्थन नगर्न चेतावनी दिएका छन् । भेनेजुएलाको सैनिकले राष्ट्रपति निकोलश मादुरोलाई समर्थन गर्दै आएको छ ।
ट्रम्पले सेनालाई मादुरोबाट समर्थन फिर्ता लिएर विपक्षी नेता क्आन गुएडोलाई साथ दिन आग्रह गरेका हुन् । मादुरोविरुद्धको प्रदर्शनको नेतृत्व गरिरहेका ३५ वर्षका गुएडोले गएको जनवरी २३ मा आफूलाई देशको अन्तरिम राष्ट्रपति घोषित गरेका थिए ।
उनलाई अमेरिका, युरोपेली युनियन तथा ब्राजिल, पेरु, कोलम्बियासहितका दक्षिण अमेरिकी देशको समर्थन छ । यस्तै राष्ट्रपति मादुरोलाई चीन र रुसको साथ छ भने देशको सेना पनि उनकै पक्षमा छ ।
गुएडोको आग्रहमा भेनेजुएलाका लागि मानवीय सहायता सामग्री पठाएको अमेरिकाका राष्ट्रपति ट्रम्पले एक सम्बोधनमा विश्वको आँखा मादुरोलाई साथ दिनेमाथि रहेको भन्दै चेतावनी दिए ।
भेनेजुएलाका लागि मानवीय सहायता सामग्री बोकेका अमेरिकी सैन्य विमान कोलम्बियाको सीमावर्ती नगर कुकुता पुगेका छन् । भेनेजुएलामा राजनीतिक संकट गहिरिँदै गएका बेला आफूलाई देशको अन्तरिम राष्ट्रपति घोषित गरेका विपक्षी नेता क्आन गुएडोको आग्रहमा अमेरिकाले मानवीय सहायता सामग्री पठाएको हो ।
राष्ट्रपति निकोलश मादुरोले अमेरिका सहायता सामग्री भित्र्याउने नाममा आफ्नो देशमा सैन्य हस्तक्षेप गर्दै आएको आरोप लगाएका छन् । मादुरो सरकारले सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको छ ।- एजेन्सी
प्रतिक्रिया