ताजा अपडेट »

सामूहिक राजिनामा दिने सरकारी चिकित्सक संघको घोषणा

आइतबार, ०५ फागुन २०७५, १७ : ३०
4 Shares

फागुन ५,

काठमाडौं । आन्दोलनरत सरकारी चिकित्सकहरुले आइतवार सामूहिक राजीनामा दिने घोषणा गरेको छ । सरकारले ल्याएको कर्मचारी समायोजन विधेयकविरुद्ध आन्दोलनरत सरकारी चिकित्सक संघ, नेपाल(गोदान)ले सामूहिक राजीनामा दिने र सशक्त आन्दोलनको कार्यक्रम घोषणा गरेको हुन् । 

चिकित्सक संघ, नेपाल (गोदान)ले पत्रकार सम्मेलन गरी सो विधेयक सच्याउन सरकारलाई बाध्य पार्न सामूहिक राजीनामा दिने लगायतका एक हप्ते सशक्त आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।

आन्दोलनका कार्यक्रममा कर्मचारी समायोजन विधेयक सच्याउन राष्ट्रपति विद्यादेवी भण्डारी र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग एक पटक आग्रह गर्ने र त्यसो नभए आकस्मिक हेकका सबै सेवा बहिष्कार गरी देशभर अवज्ञा आन्दोलन शुरू गर्ने निर्णय गरिएको संघका अध्यक्ष दिपेन्द्र पाण्डेले जानकारी दिए ।

चिकित्सकहरुले आफूहरुको मागलाई सम्बोधन नगरी प्रतिनिधिसभाबाट विधेयक पारित भएको बताए । आन्दोलनका कार्यक्रमहरुमा सोमवार देशभरका चिकित्सकहरूले सो विधेयक सच्याउन सरकारलाई दबाब दिँदै स्वेच्छिक सामूहिक राजीनामाका लागि हस्ताक्षर अभियान सञ्चालन गर्नेछन् ।

मंगलबार माइतीघर मण्डलामा आफूहरूको आन्दोलनका लागि साथ सहयोग गर्न सर्वसाधारणलाई अपिल गर्दै रक्तदान कार्यक्रम आयोजना गर्ने । बुधवार सामूहिक बिदामा बस्ने । बिहीवार राजीनामा संकलन भएपश्चात सरकारलाई बुझाउन काठमाडौं भेला हुने ।

यति गर्दा पनि आफूहरूको माग सरकारले सम्बोधन नगरे सबै अस्पतालको सेवा बहिष्कार गरी अवज्ञा आन्दोलन शुरू गर्ने सरकारी चिकित्सकहरूले सरकारलाई चेतावनी दिएका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।