ताजा अपडेट »

नेपालमा हुने गतिविधिहरू नेपाली समाजको इच्छा अनुसार नै हुन्छन् : राम माधव

शुक्रबार, १६ चैत्र २०८०, १७ : २७
32 Shares

काठमाडौं । इन्डिया फाउन्डेशनका अध्यक्ष राम माधवले नेपालमा हुने विभिन्न गतिविधिहरू नेपाली समाजको इच्छा अनुसार नै हुने बताएका छन्। नेपाल-भारत संस्कृत सम्मेलनको समापन समारोहलाई सम्बोधन गर्दै उनले नेपालमा हुने गतिविधिहरू यहाँकै समाजको इच्छा अनुसार हुने बताएका हुन्।

'यहाँ बेलाबखत राजनीतिक कुरा चलिरहन्छन्। यदि कोही हिन्दु राष्ट्रको कुरा गर्छ भने त्यसलाई भारतको षडयन्त्र भन्ने गरिन्छ। म तपाईंलाई आश्वस्त पार्छु, यसमा कुनै षडयन्त्र छैन,' उनले भने। नेपाल र भारत दुवै लोकतान्त्रिक मुलुक भएकाले भारतले नेपालको लोकतन्त्र समृद्ध र सफल होस् चाहने उनले बताए। आफूहरूको नेपालको लोकतन्त्र समृद्ध होस् भन्ने चाहना भए पनि यसलाई समृद्ध पार्ने जिम्मा भने नेपालीहरूको नै भएको उनको भनाइ छ।

'नेपालको लोकतन्त्रलाई समृद्ध पार्ने कुरामा कसैले षडेन्त्र गर्दैन। यसमा कसैको हस्तक्षेप पनि रहँदैन। भारत नेपालको समृद्ध लोकतन्त्रका लागि सधैँ सहयोगी नै रहन्छ,' उनले भने। नेपालमा कस्तो शासन व्यवस्था चाहिन्छ भन्ने कुरा यहाँकै नागरिकले तय गर्नुपर्ने उनले बताए। नेपाल र भारतबीच साझा संस्कृति र साझा विरासत रहेको उनको भनाइ छ। साझा संस्कृति र विरासत राजनीतिक विषय नभएको उनले प्रस्ट पारे। 'यो सभ्यताको विषय हो। एउटै सभ्यताका व्यक्ति भएको नाताले हामीले एकआपसमा मिलेर काम गर्नुपर्छ,' उनले भने।

यूरोपका २७ देश मिलेर त्यहाँका कयौं मुद्दामा सामूहिक तवरले छलफल गरेर समाधान गर्ने गरेको स्मरण गर्दै उनले नेपाल र भारत मिलेर भाषा, संस्कृति र सभ्यताको पुनर्उत्थानका लागि काम गर्नुपर्ने बताए। उनी राष्ट्रिय स्वयंसेवक संघ भारतका अखिल भारतीय कार्यकारी मण्डल सदस्य र भारतीय जनता पार्टीका पूर्व महासचिव पनि हुन्।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।