ताजा अपडेट »

बङ्गलादेशसँग मिलेर काम गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

सोमबार, १५ माघ २०८०, १५ : २१
62 Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बङ्गलादेशको नयाँ नेतृत्वसँग मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । बङ्गलादेशको प्रधानमन्त्रीमा शेख हसिना पुनःनिर्वाचित भएपछि प्रधानमन्त्री दाहालले उनलाई पठाएको बधाई सन्देशमा बङ्गलादेशको नेतृत्वसँग मिलेर काम गरिरहने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

बङ्गलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारीले त्यहाँका नवनियुक्त परराष्ट्रमन्त्री डा हसन महमुदसँग शनिबार भएको शिष्टाचार भेटमा प्रधानमन्त्री दाहालले दुई देश र जनताको पारस्परिक हितका लागि सहकार्य गर्ने प्रतिबद्धता सन्देशमा व्यक्त गरेको जानकारी दिए । त्यसअवसरमा राजदूत भण्डारीले परराष्ट्रमन्त्रीमा डा हसन महमुद नियुक्त भएकोमा परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले उनलाई सम्बोधन गरेर पठाएको बधाईपत्र हस्तान्तरण गरेको ढाकास्थित नेपाली राजदूतवासले आज जनाएको छ ।

त्यसअवसरमा नेपाल–बङ्गलादेशबीचको आर्थिक सहयोगलाई थप मजबुत बनाउने उपायबारे विचार आदानप्रदान भएको थियो । परराष्ट्रमन्त्री महमुदले आफूले गरेको नेपालको  औपचारिक स्मरणको स्मरण गर्दै दुई देशबीचको उत्कृष्ट द्विपक्षीय सम्बन्धप्रति सन्तोष व्यक्त गरे । उनले व्यापार, पर्यटन, ऊर्जा, जलवायु परिवर्तन र जनस्तरको सम्पर्कका क्षेत्रमा रहेको सम्भावनालाई सदुपयोग गर्नुपर्नेमा जोड दिए । हामीले हाम्रा देशहरूबीचको ऊर्जा व्यापारलाई यथाशीघ्र अघि बढाउन मिलेर काम गर्नुपर्छ र वार्तालाई तीव्रता दिनुपर्नेमा जोड दिए ।

राजदूत भण्डारीले परराष्ट्र मन्त्रालयको परामर्श, ऊर्जासम्बन्धी संयुक्त सञ्चालन समिति, वाणिज्य सचिवस्तरीय बैठकलगायत विभिन्न द्विपक्षीय संयन्त्रमा भएका प्रगतिबारे परराष्ट्रमन्त्रीसँग विचार  आदान–प्रदान गरेका थिए । उनले द्विपक्षीय साझेदारीबारे प्रकाश पार्दै व्यापार, ऊर्जा, कनेक्टिभिटी, शिक्षा र पर्यटनजस्ता क्षेत्रमा घनीभूत सहकार्य आवश्यक भएको बताएका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।