May 17, 2021, Monday
३ जेष्ठ २०७८, सोमबार

हिरो महिला गोल्डकप फुटबल:नेपालको दोस्रो जित

294

फागुन १,

काठमाडौं । भारतमा जारी हिरो महिला गोल्डकप फुटबल अन्तर्गत नेपालले दोस्रो जित हात पारेको छ ।  उडिसास्थित कालिङ्गा रंगशालामा बुधवार साँझ भएको तेस्रो खेलमा नेपालले इरानलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।  प्रतिस्पर्धात्मक खेलको ४१ औँ मिनेटमा नेपालका लागि अनिता बस्नेतले पहिलो गोल गर्दै टिमलाई शुरुवाती अग्रता दिलाइन् । उनले फ्रिकिकमार्फत आएको बललाई सदुपयोग गर्दै गोलपोष्टको जाली चुमाइन् ।


खेलको पहिलो हाफसम्म १-० गोल अन्तरले अगाडि रहेको नेपालले दोस्रो हाफमा थप दुई गोल ग-यो । खेलको ६१ औँ मिनेटमा नेपालका लागि साबित्रा भण्डारी ‘साम्बा’ले गोल गर्दै खेललाई २-० को स्थिती पु-याइन् ।

त्यस्तै ८९ औँ मिनेटमा पुनः साम्बाले अर्को गोल गरिन् । साम्बाले जारी प्रतियोगितामा व्यक्तिगत चार गोल गरेकी हुन् ।  त्यसपछि खेलमा थप गोल भएन् र खेल नेपालले ३-० ले जित्यो । अब फाइनलमा प्रवेश गर्न नेपालले भारत र म्यान्मारबीचको खेल कुर्नपर्नेछ । 

यसअघि भएको पहिलो खेलमा नेपाल म्यान्मारसँग ३-० गोल अन्तरले पराजित भएको थियो । त्यस्तै दोस्रो खेलमा भने नेपालले चिरपरिचित प्रतिद्धन्दी भारतलाई २-० गोल अन्तरले पराजित गरेको थियो ।जितपछि नेपालले ३ खेलबाट ६ अंक बनाएको छ । 

पछिल्लो अपडेट