ताजा अपडेट »

बुटवलले थाल्यो सेवाप्रवाह तथा विकासबारे विज्ञ तथा सरोकारवालाहरुसँग छलफल

सोमबार, २९ फागुन २०७९, २० : १५
32 Shares

बुटवल । बुटवल उपमहानगरपालिकाले सेवाप्रवाह तथा विकासबारे आगामी रणनीति तय गर्ने उदेश्यले विज्ञ तथा सरोकारवालाहरुसँग छलफल थालेको छ । बुटवललाई देशकै अगुवा शहर बनाउनका लागि योजना निर्माण गर्दै सेवाप्रवाहलगायतका विषयमा विज्ञहरुको रायसुझाव लिने अभियानको थालनी गरेको हो ।

सोमबारदेखि आगामी चैत ८ गते बुधबारसम्म नियमित रुपमा सञ्चालन हुने क्षेत्रगत सुझाव संकलन तथा समन्वयसम्बन्धि कार्यक्रममा बुटवलभित्रका विभिन्न क्षेत्रका विज्ञ तथा सरोकारवालाहरुसँग छलफल गरिने नगरप्रमुख खेलराज पाण्डेयले बताए । जसअनुसार सोमबार कानून व्यवसायी, इन्जिनियर र चिकित्सकहरुसँग छलफल गरिएको छ । चैत १ गते धार्मिक संघसंस्थाका प्रमुखहरुसँग, चैत २ गते महिला स्वयम्सेविका र सामुदायिक वन र पार्कका अध्यक्षहरुसँग छलफल गरिने बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बताए ।

यस्तै, चैत ३ गते सहकारी संस्थाका अध्यक्षहरु र व्यवसायिक संघसंस्था, यातायात व्यवसायी समितिहरु, निर्माण व्यवसायीहरु, हाटबजार व्यवसायीहरुसँग छलफल गर्ने कार्यक्रम तय भएको छ । चैत ४ गते अस्पतालका प्रमुख तथा कार्यकारी निर्देशकहरु, ५ गते संस्थागत विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु, सामुदायिक विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समितिका अध्यक्षहरु, ६ गते टोलविकास संस्थाका अध्यक्षहरुसँग छलफल गर्ने कार्यक्रम रहेको शिक्षा तथा जनस्वास्थ्य महाशाखा प्रमुख मित्रमणि खनालले बताए ।

यस्तै, चैत ७ गते खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष, लायन्स, लियो, लायनेस, जेसिजलगायतका गैरसरकारी संस्थाहरुसँग र ८ गते सरकारी तथा निजी क्याम्पसका अध्यक्ष र क्याम्पस प्रमुखहरुसँग छलफल गर्ने कार्यक्रम रहेको सूचना अधिकारी तुलसा अर्यालले बताए । सार्वजनिक सरोकार राख्ने संघसंस्था तथा सरोकारवालाहरुसँग छलफल गरेपछि जनताका समस्या बुझ्ने गरी जनस्तरसम्म पुग्ने र सुझाव लिने कार्यक्रम रहेको नगरप्रवक्ता शिव रानाले जानकारी दिए ।

आवश्यकताअनुसार प्राथमिकता निर्धारण गर्न सुझाव
सोमबार आयोजित छलफल कार्यक्रममा बोल्ने विज्ञ तथा सरोकारवालाहरुले बुटवलबासीको आवश्यकता अनुसार प्राथमिकता निर्धारण गरेर योजना निर्माण गर्न सुझाव दिएका छन् । उनीहरुले संघ, प्रदेश र स्थानीय सरकारका योजनाहरु दोहोरिएको, दोहोरो योजनाका कारण जनतामा अलमल भएकोले स्थानीय सरकारका रुपमा समन्वयकारी भूमिका निर्वाह गर्न सुझाव दिएका थिए ।

कार्यक्रममा बोल्दै नगरप्रमुख खेलराज पाण्डेयले बुटवललाई साझा सहरका रुपमा अगाडि बढाउने प्रयास गरिरहेकाले सबै क्षेत्रका बुद्धिजीविहरुको रचनात्मक सुझावको अपेक्षा राखेको बताए। ‘हामी बुटवललाई साझा सहरका रुपमा देशकै अगुवा सहर बनाउन चाहन्छौं, उनले भने -यसमा तपाइँ र तपाइँहरुजस्ता धेरै बुद्धिजीवि र अनुभवी साथीहरुको साथ सहयोग जरुरी छ ।’

कार्यक्रममा बोल्दै उपप्रमुख सावित्रादेवी अर्यालले बुटवलको विकासमा सबै क्षेत्रको उत्तिकै साथ जरुरी रहेको बताए । उनले बुद्धिजीविका सुझाव सल्लाहलाई समेत समेट्दै बुटवलको विकासमा जुट्ने बताए । कार्यक्रममा कानून व्यवसायी, इन्जिनियर र चिकित्साक्षेत्रका व्यक्तिहरुले आगामी नीति कार्यक्रम र बजेट निर्माणमा बुटवललाई व्यवस्थित सहरका रुपमा स्थापित गर्ने गरी योजना ल्याउन सुझाव दिएका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।