ताजा अपडेट »

बुटवलमा फागुन ४ देखि राष्ट्रपति रनिङ शिल्ड, १ हजार भन्दा धेरै विद्यार्थी सहभागी हुने

मंगलबार, ०२ फागुन २०७९, १७ : १८
10 Shares

बुटवल । बुटवलमा यही फागुन ४ गतेदेखि चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७९ हुने भएको छ । प्रतियोगिता आयोजक समितिले मंगलबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको बारेमा जानकारी गराएको हो । प्रतियोगिताको फागुन ४ गते बिहीबार बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले देवीनगरस्थित फिफा टेक्निकल सेन्टरको मैदानमा उद्घाटन गर्ने कार्यक्रम रहेको प्रतियोगिता संयोजक हरि प्रसाद श्रेष्ठले जानकारी दिए ।

उनले सामुदायिकतर्फका १६ र संस्थागत तर्फका २२ गरी ३८ विद्यालयका विद्यार्थीहरुले प्रतियोगितामा सहभागिता जनाउने बताए । प्रतिगोगिता अन्तरगत फिल्ड हाइजम्प, लङजम्प, त्रिपल जम्प, ज्याभलिङ थ्रो, सटपुट, रिले दौड, भलिबल, कबड्डी, तेक्वान्दोलगायतका खेलमा ४ सय ९४ टीमका १ हजार ९१ विद्यार्थी सहभागी हुने उनले बताए । प्रतियोगितामा सहभागी हुने खेलाडीको सुरक्षालाई ध्यानमा राखेर सबै प्रतियोगी खेलाडीको एक महिनाको बीमा गर्ने प्रतियोगिताका सचिव प्रेमबहादुर बस्नेतले बताए । उनका अनुसार प्रथम, द्वितिय र तृतीय हुने विद्यालयहरुलाई क्रमशः १५, १० र ५ हजार रुपैयाँ र नगद प्रदान गरिनेछ ।

खेलको व्यवस्थापन तथा सञ्चालनका लागि वडा नं ५ का अध्यक्षसमेत रहनुभएका पूर्वखेलाडी हरिप्रसाद श्रेष्ठको नेतृत्वमा मूल समिति र विभिन्न विधागत उपसमितिहरु गठन भएको प्रचारप्रसार उपसमिति संयोजक सीपी खनालले जानकारी दिए । प्रतियोगिताको उद्घाटनका दिन कालिका मानवज्ञान माध्यमिक विद्यालयले स्वागत पीटी प्रदर्शन, नवीन औद्योगिक कदरबहादुर रीता माध्यमिक विद्यालयले बहुसांस्कृतिक कार्यक्रमलगायतका सांस्कृतिक कार्यक्रम प्रस्तुति रहने उनले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।