ताजा अपडेट »

रहेनन् सुस्ता बचाउ अभियानका संयोजक गोपाल गुरुङ

मंगलबार, १० माघ २०७९, २० : ४२
26 Shares

बुटवल । भारतीय पक्षद्वारा नेपाली अतिक्रमित भूमि संरक्षणका लागि लामो समयदेखि सङ्घर्षरत सुस्ता बचाउ अभियानका संयोजक गोपाल गुरुङको उपचारको क्रममा निधन भएको छ । भारतीय अतिक्रमणको चपेटामा परेको नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) सुस्तामा नेपाली भूमि जोगाउन २४ वर्षदेखि अभियान सञ्चालन गर्दै आएका ६२ वर्षीय गुरुङ मस्तिष्काघात भई झण्डै एक महिनादेखि अस्पतालमा उपचाररत थिए।उनको उपचारको क्रममा मँगलबार साँझ मृत्यु भएको पारिवारिक श्रोतले जनाएको छ ।

गुरुङको अकस्मात मस्तिष्काघात (ब्रेन हेम्ब्रेज) भएपछि रुपन्देहीको भैरहवा मेडिकल कलेजमा उपचार भैरहेको थियो । नेपाल प्रहरीको हवल्दार सेवाबाट अवकासप्राप्त गुरुङ विसं २०५५ देखि सुस्तामा बसेर अतिक्रमणविरुद्ध लड्दै आएका थिए। विसं २०६२ देखि भारतीय पक्षले सुस्ता अतिक्रमणलाई तीव्रता दिएपछि सोही सालको जेठ १७ गते गुरुङले ‘सुस्ता बचाउ अभियान’ नामक समिति गठन गरेर अतिक्रमणको विरोध गर्दै आएका थिए । अतिक्रमण विरुद्ध लागेको भन्दै भारतीय सुरक्षाकर्मीले गुरुङलाई झुटा मुद्दा लगाएर बगाहा जेलमा एक वर्ष थुनेको थियो । राजनीतिक परिवर्तनसँगै फेरिने सरकारसँग गुरुङसहितको टोलीले सुस्ताको अतिक्रमण भूमि फिर्ता ल्याउन माग गर्दै आएको थियो ।

स्थायी सीमा नभएका कारण भारतले पटकपटक अतिक्रमण गर्दै आएको भन्दै स्थायी सीमा स्तम्भ राख्न पहल गरिदिन सुस्तावासीले माग गर्दै आएका छन् । सुस्ताको १९ हजार चार सय ८० हेक्टरलाई भारतले विवादित भन्दै लालपुर्जा भएको जग्गा पनि नेपालीलाई जोतभोग गर्न दिएको छैन । पछिल्लो केही वर्षदेखि सुस्तामा सडक, विद्युत्लगायत संरचना बन्न थालेपछि सुस्ता अतिक्रमण भने कम भएको छ । तर नेपाली भूमिसँग जमिनको सिधा सम्पर्क नहुँदा गाह्रो पर्दा सुस्तावासी भारततर्फ जानुपर्छ । सुस्ता बचाउनका लागि अभियान सञ्चालन गरेका गुरुङको निधनपछि विभिन्न व्यक्ति तथा संघ संस्थाहरुले दुःख व्यक्त गरेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।