ताजा अपडेट »

तिनाउको तिलोत्तमा मावि अटोमोबाइल तर्फ लुम्बिनी प्रदेश प्रथम

सोमबार, ०९ माघ २०७९, २२ : २५
12 Shares

पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका-३ मा अवस्थित तिलोत्तमा माध्यमिक विद्यालय प्राविधिक धार अटोमोबाइल तर्फ लुम्बिनी प्रदेश प्रथम हुन सफल भएको छ । लुम्बिनी प्रदेशमा रहेका (प्राविधिक धार) अटोमोबाइल अध्यापन गराउने ४ वटा विद्यालय मध्ये तिनाउ-३ झुम्सामा रहेको तिलोत्तमा माध्यमिक विद्यालयले ९३.७५ प्रतिशत अंक प्राप्त गरि लुम्बिनी प्रदेश प्रथम हुन सफल भएको ब्यवस्थापन समितिका अध्यक्ष टंक बश्यालले बताए ।

प्राविधिक शिक्षा १८ महिने अटाेमोबाइल इन्जिनियरिङ विषयको शैक्षिकसत्र २०७७/७८को वार्षिक परीक्षामा १६ जना विद्यार्थी मध्ये १५ जना विद्यार्थी उत्तीर्ण भई लुम्बिनी प्रदेशमै प्रथम स्थान प्राप्त गर्न सफल भएको अध्यक्ष बश्यालले जानकारी दिए । अहिले नतिजा सार्वजनिक भएको दोस्रो शैक्षिक सत्रको हो । तिलोत्तमा माध्यामिक विद्यालय अटोमोबाइल सम्बन्धि पढाई हुने जिल्लाकै एक मात्र विद्यालय हो। 

सीटीईभीटीबाट मान्यता प्राप्त आङ्गिक सामुदायिक विद्यालय तिलोत्तमा माविमा १८ महिने प्रि डिप्लोमा इन अटोमोवाइल इन्जिनियररिङ्ग सम्बन्धि विगत ३ वर्षदेखि कक्षा सञ्चालन भइरहेको छ। हाल १९ जना विद्यार्थीले अध्ययन गरिरहेका छन् । पढाई पश्चात पूर्ण रुपमा रोजगारको ग्यारेन्टी सहित कक्षा संचालन भइरहेको र अटोमोवाइल इन्जिनियरिङ्ग विषयसँग सम्बन्धि मेकानिकल ल्याब, अटोमोवाइल ल्याब , वर्कशप, आइसीटी ल्याब, मल्टीमिडिया जडित कक्षा कोठा, आफ्नै कार तथा बाइक सिक्ने ठाउँको सुविधा लगायतका विशेषता रहेको विद्यालयको दाबी छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।