ताजा अपडेट »

शैक्षिक संस्थाहरुले पोशाकमा सिन्डिकेट गरेको भन्दै बुटवलका व्यवसायीले बुझाए ज्ञापनपत्र

सोमबार, ०५ चैत्र २०८०, १४ : ५९
306 Shares

बुटवल । शैक्षिक संस्थाहरुले नै सिन्डिकेट गरेर व्यवसायिक आँच आउने गरी भएका गतिविधि रोक्न नेपाल कपडा तथा सिलाई व्यवसायी संघले बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डेयलाइ ज्ञापनपत्र बुझाएको छ । संघले विभिन्न १२ बुँदाको मागसहित ज्ञापनपत्र बुझाएको हो ।

बुटवलमा रहेका केही स्कुल तथा कलेजहरुले सीमिति व्यवसायीसँग गोप्य रुपमा सम्झौता गरी पोशाक तथा ड्रेस विक्री वितरणमा एकतन्त्रीय प्रणाली लागू गरेको भन्दै व्यसायीले बिरोध जनाएका छन् । अभिभावक र विद्यार्थीले आफूखुसी रोजेको ठाउँमा कपडा खरिद तथा सिलाउन नपाउँदा गुणस्तरमा ठगिने गरेको उनीहरुको आरोप छ । शैक्षिक संस्थाहरुले नै आफ्नो उद्देश्यभन्दा फरक ढङ्गले आचरण विपरित व्यापारको धन्दा चलाउँदा त्यसको प्रत्य मार आफूहरुलाई परेको नेपाल कपडा तथा सिलाई व्यवसायी संघ रुपन्देहीका कार्यबाहक अध्यक्ष तुल्सीबहादुर भण्डारीले गुनासो गरे ।

ज्ञापन पत्र बुझेपछि नगर प्रमुख पाण्डेयले व्यवसायीका माग जायज भएको बताउँदै निजी तथा सरकारी विद्यालयका प्राचार्य, प्याब्सन, एन प्याब्सन र व्यवसायीहरुलाई संगै राखेर व्यापार व्यवसाय गर्ने वातावरण बनाउने बताए । उनले बुटवलमा सबै व्यवसायीहरुलाई समान रुपले व्यवहार गरिने भन्दै व्यापार व्यवसाय गर्ने वातावरण सबै मिलेर बनाउनुपर्ने बताए ।

संघमा आवद्ध बुटवल नगर समिति र रुपन्देही जिल्लाका पदाधिकारी तथा कार्यसमिति लगायतको व्यवसायीहरु ज्ञापनपत्र बुझाउन पुगेका थिए । नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष राम कुमार रणपालले विद्यालय तथा क्याम्पसका पोशाक सिलाउन गोप्य सम्झौता अर्थात् टेण्डरको अन्त्य  हुनुपर्ने व्यवसायीको पहिलो सर्त रहेको बताए । रणपालले विद्यालयहरुले हरेक वर्ष पोशाकको रंग परिवर्तन गर्दा त्यसको नमुना सबैले देख्ने गरी सूचना पार्टीमा राख्न आग्रह गरे ।

महासंघका केन्द्रीय मानार्थ सदस्य तथा परियार सेवा समाज रुपन्देहीका अध्यक्ष लोक बहादुर नेपालीले पछिल्लो समय सिन्डिकेटभएकोले आफूहरुको व्यवसायमा ताल्चा लगाएर अन्य व्यवसाय खोल्नु पर्ने बाध्यता सिर्जना भएको गुनासो गरे । केही निश्चित कलेज तथा विद्यालयले गोप्य तरिकाले टेण्डर आव्हान गरी पोशाक सिलाउन अन्यत्र जान नपाउने गरी सिंगो व्यवसायीलाई लात हान्ने काम भएको बताउँदै यो प्रणालीको अन्त्य हुनु पर्नेमा उनले जोड दिए ।

प्याब्सन बुटवल नगरका अध्यक्ष तथा अन्नपूर्ण मावि बुटवलका प्रबन्ध निर्देशक मित्रहरि आचार्यले प्याब्सन तथा एन प्याब्सनले सिन्डिकेट गरेको भन्ने कुरालाई प्रतिवाद गरे । उनले हरेक कुरामा व्यवसायी सच्चिएर आउन आग्रह गरे । व्यवसायीहरुको उत्थान र विकासका लागि प्याब्सन र एनप्याब्सनले सिन्धिकेटको अन्त्य गर्न सहयोग गर्ने समेत प्रतिवद्धता गरे ।

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।