ताजा अपडेट »

समानुपातिक सिफारिसबारे असन्तुष्ट हुन जरुरी छैन: रास्वपा प्रवक्ता ढकाल

आइतबार, २५ मंसिर २०७९, १४ : १५
17 Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक सांसद सिफारिसमा असन्तुष्टि देखिएको छ । पार्टीको समानुपातिक सूचीको शीर्ष स्थानमा नामावली भएका नेताहरू नै सिफारिसमा नपरेपछि असन्तुष्टि देखिएको हो । साे पार्टीको समानुपातिकतर्फ खस आर्य कोटाबाट दोस्रो नम्बरमा रहेका गणेश कार्कीले पार्टी प्रवक्ता डा. मुकुल ढकालका कारण आफूहरू सिफारिसमा पर्न नसकेको शनिबार सामाजिक सञ्जालमा उल्लेख गरेका थिए ।

दलिततर्फको सिफारिसमा समेत असन्तुष्टि देखिएको छ । दलित कोटामा पनि महिलालाई पन्छाउँदै पुरुषलाई नै सिफारिस गरिएको छ । रास्वपाको बन्दसूचीमा दलित समूहबाट महिलाको पहिलो नम्बरमा रहेकी कल्पना रोक्काले पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमै पार्टीले एकजना पनि दलित महिलालाई सिफारिस नगरेर दलित महिलामाथि अपमान गरेको बताएकी थिइन् । 

यद्यपि प्रवक्ता डा. ढकालले यसअघि निर्वाचन आयोगमा पठाएको बन्दसूची भन्दा दायाँबायाँ नगरी समानुपातिक सांसद सिफारिस गरेको दाबी गरेका छन् । प्रवक्ता डा. ढकालले समानुपातिक सांसद सिफारिसमा कुनै तलमाथि नभएकाले अनावश्यक विवादको अर्थ नरहेको प्रतिक्रिया दिएका हुन् । 

उनले भने, 'हामीले समानुपातिकतर्फ यसअघि निर्वाचन आयोगमा पठाइएकै बन्दसूचीका आधारमा सांसद सिफारिस गरेका छौँ । त्यो भन्दा दायाँबायाँ भएको छैन ।'  उनले पार्टीले प्राप्त गरेको सिट र क्लस्टरअुनसार नाम सिफारिस गर्दा कतिपय उम्मेदवार छुटे पनि सिफारिसप्रति असन्तुष्ट हुन जरुरी नरहेको बताए । 

प्रत्यक्षतर्फ ७ सिट जितेको रास्वपाले समानुपातिकमा १३ सिट पाएको छ । शनिबार दिउँसोसम्म निर्वाचन आयोगले नाम सिफारिस गर्ने म्याद तोके पनि कतिपय दलहरूले शनिबार मध्यरातिसम्म मात्र समानुपातिक सांसद सिफारिसको विवरण बुझाएका थिए । 

निर्वाचन आयोगले दलहरूले रातिसम्म बुझाएको सूची कानुनसम्मत भए नभएको आज हेर्नेछ । कानुनबमोजिम नभएको भए अझै पनि सच्याउन दुई दिनको समय उपलब्ध गराउने आयोगले जनाएको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।