ताजा अपडेट »

'मानव बेचबिखनविरुद्ध सहकार्य आवश्यक'

शुक्रबार, २७ मंसिर २०७६, १८ : ५५
8 Shares

मंसिर २७,

ग्लोबल आवाज

भैरहवा । चेलीबेटी बेचबिखन तथा मानव तस्करीको रोकथामको लागी भारत र नेपाल दुवै देशको उत्तिकै सहकार्य हुनुपर्ने एक कार्यक्रमका वक्ताहरुले बताएका छन् ।

रोहिणी गाउँपालिका वडा नं २ को सहकार्य र शुभ अवसर ग्राम नेपालको आयोजनामा सीमा क्षेत्र भगवानपुरमा आयोजित सिमामा हुने मानव बेचबिखन विकृति विसंगति पिरुद्ध अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले मानव बेचबिखनविरुद्ध दुवै देशको सहकार्यको लागी जोड दिएका थिए ।

नेपालबाट विशेष गरी यौनजन्य क्रियाकलाप तथा भारतबाट समेत विभिन्न कामको लागी भन्दै दुवै देशमा मानव बेचबिखन जस्तो जघन्य अपराध रहेको हुँदा यसको न्यूनीकरणमा लाग्नुपर्ने उनीहरुले आवश्यकता औँल्याए । सिमामा बस्ने सुरक्षाकर्मी मात्र नभई साधारण नागरिकहरु पनि चनाखो भएर यस्ता विकृतिको विरोध गर्नुपर्ने वक्ताहरुको जोड रहेको थियो ।

कार्यक्रममा बोल्दै रोहिणी गाउँपालिका अध्यक्ष सनोज कुमार यादवले शिक्षाको अभावमा अहिले पनि यस्तो क्रियाकलापले प्रश्रय पाएको बताए । उनले परिवार शिक्षित भए यस्तो अवस्था नआउने जिकिर गर्दै गाउँपालिकाले अहिले शिक्षामै विशेष जोड दिएको बताए । अन्तरदेशीय सिमा सम्बन्धलाई बलियो बनाउन दुवै देशको नागरिकहरु उत्तिकै चनाखो भएर अपराधहरुको विरुद्ध लाग्न उनले आव्हान समेत गरे ।

आफ्नो गाउँ ठाउँमा दलाल व्यक्ति जुनसुकै रुपमा आउन सक्ने हुँदा नयाँ र शंकास्पद व्यक्ति देखिए जनप्रतिनिधि वा नजिकको प्रहरीलाई सम्पर्क गर्न उनले दुवै देशका नागरिकलाई आग्रह समेत गरे ।

खुल्ला सीमाका कारण प्राय अपराधी अहिले यस्तै भिडभाड नभएको क्षेत्र रोज्ने भएकोले सबैलाई चनाखो हुन रोहिणी गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर २ का वडा अध्यक्ष सरोज कुमार पाण्डेले आग्रह गरे ।

शुभ अवसर ग्राम नेपालले भगवानपुर सिमा क्षेत्रबाट चेलीबेटी बेचबिखन रोक्न सोही क्षेत्रमा आफ्नो निगरानी केन्द्र स्थापना समेत गरेको छ ।

कार्यक्रममा उपाध्यक्ष शिवकान्ती चमार, भारतीय सीमा सुरक्षा बल भगवानपुरका प्रमुख भागमल लाल, स्थानीय पारसनाथ यादव, गाउँपालिकाका योजना शाखा प्रमुख राजकुमार मिश्र, शुभ अवसर ग्राम नेपालका जिल्ला संयोजक शम्भु प्रसाद हरिजन, स्वरक्षा मानव बेचविखन विरुद्धको परियोजना गोरखपुरका श्रवण कुमार लगायतले बोलेका थिए ।

कार्यक्रमको सञ्चालन शुभ अवसर ग्राम नेपालका निजामुद्दिन पठानले गरेका थिए । कार्यक्रममा भारत र नेपालतर्फका स्थानीयवासीका साथै दुवै देशको जनप्रतिनिधि तथा सुरक्षाकर्मीहरुको सहभागिता रहेको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।