ताजा अपडेट »

दशैं सुखद बनोस्

बुधबार, १९ असोज २०७९, ०७ : ३५
79 Shares

नेपाल र नेपालीको महान पर्व विजयादशमी–२०७९ ले उल्लास छाएको छ । १० दिनसम्म मनाइने यस पर्वको १० औं दिन आज मुख्य दिनमा छौं अर्थात् विजया दशमीको टिका ग्रहण गर्ने दिन विजयादशमीको टीका ग्रहण गर्ने तयारीमा छौं। घटस्थापनाका दिन जमरा राखेदेखि प्रत्येक दिन विभिन्न देवीदेवताको पूजा गरी मुख्य दिनमा प्रवेश गरेका हौं । विजयादशमीलाई दशैं भन्ने प्रचलन बढी छ । घटस्थापनादेखि टीकाका दिनसम्मको अवधी १० दिनको हुनाले दशैंको १०औं दिनलाई दशमी भनिन्छ । यस पर्वलाई बडा दशैं र दशहारा पनि भनिन्छ । दशैं मनाउनका लागि हजारौं विदेशिएका स्वदेश फर्केका छन् भने लाखौं शहर तथा कार्यक्षेत्रबाट आफ्नो घर तथा पुख्र्यौली थलोमा पुगेका छन्।

दशैं मनाउनकै लागि यात्रा गर्नेहरुको बसपार्कदेखि एअरपोर्टसम्म सडकदेखि गाउँघरसम्म भीड देखिन्छ । त्यस्तै साना सडकका पसलदेखि ठूला स्टोरहरुमा दशैंका लागि किनमेल गर्नेहरुको भीड देखिन्छ । दशैं महान चाड मात्रै नभएर महान पर्व पनि हो । किनकी यस पर्वको महत्व र विशेषताहरु धेरै र विशेष छन् । धार्मिक र ऐतिहासिक रुपमा मात्रै नभई दशैं सामाजिक,आर्थिक र पर्यटकीय दृष्टिकोणले पनि निकै विशेष र महत्वपूर्ण रहेको छ । दशैंले लाखौं नेपालीहरुमा उत्साह,उमङ्ग, रौनक ल्याउँछ । अधिकांश नेपालीले यो पर्व हर्षोल्लासका साथ मनाउँदै छन् ।

वैदिक सनातन कालदेखि मनाइँदै आएको विजयादशमीले आसुरी शक्तिमाथि सत्यको विजयको सन्देशलाई प्रवाहित गरिरहेको हुन्छ । मातृ शक्तिको महत्वमा आधारित नवरात्रिका नौ दिनमा जगत्जननी भगवती नवदुर्गाका नौ अवतार शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा देवी, कुष्माण्डा देवी, स्कन्दमाताको पूजा–आराधना गरिन्छ ।

दशौं दिन (विजयादशमी)मा विजयोत्सवका रूपमा मान्यजनबाट रातो टीका र जमरा ग्रहण गर्ने प्रचलन छ । यसदिन आफ्ना अभिभावक तथा ज्येष्ठ व्यक्तित्वसँग टीका तथा आशिर्वाद ग्रहण गर्नु निकै महत्वपूर्ण मानिन्छ । कतिपय स्थान तथा समुदायमा पूर्णिमासम्म पनि दशैंको टीका थाप्ने प्रचलन रहेको छ । विशेषगरी रातो अक्षता टीका र जमरा लगाउने भएतापनि कतिपयले फरक रङ पनि प्रयोग गर्ने गर्छन् ।

प्राचिनकालदेखि चल्दै आएको पर्व समयक्रमसँगै मनाउने शैलीमा भने फरक हुँदै आएको छ । यद्यपी धार्मिक,सांस्कृतिक,ऐतिहासिक र सामाजिक महत्व भने उत्तिकै रहेको छ । पछिल्ला वर्षहरुमा दशैंले अर्थतन्त्रमा विशेष प्रभाव पार्ने गरेको छ । अर्थात् दशैं पर्वले मुलुकको अर्थतन्त्रलाई चलायमानसँगै अर्थतन्त्रमा मुख्य भूमिका पनि खेल्दछ । तर, दशैं पर्वको नाममा हुने खर्च र देखावटी तथा आडम्बरीपनले दशैं मनाउने र खर्च गर्ने तवरमा भने प्रश्न उठ्ने गरेको छ । पर्वको इतिहास, महत्व र विशेषताअनुसार मनाउनु हाम्रो संस्कृति हो । र, चलिआएको संस्कृतिलाई संरक्षण र प्रवद्र्धन गर्दै पुस्तान्तरण गर्नु आवश्यकता हो ।

करिब ३ वर्षका दशैं विश्वव्यापी महामारीका कारण प्रभावित भए। त्यसलै यस वर्ष गत वर्षका दशैंमा भन्दा बढी उत्साह छ । तर, सोही महामारीका कारण मुलुकमा देखा परेको आर्थिक संकट भने टहरेको छैन । अर्कोतर्फ महङ्गी पनि बढ्दो छ । एकातर्फ आर्थिक संकट, महङ्गी र अर्कोतर्फ भने डेंगू रोगको प्रकोप पनि छ । तसर्थ यो दशैंमा पनि मुलुकमा सौहार्द वातावरण भने छैन । यद्यपी चाड पर्व खुशीयाली ल्याउने अवसर पनि हुन् । जुन दशैंले ल्याएको छ ।

दशैं भाइचारा,सद्भाव र मेलमिलापको पर्व पनि हो । ठूला र सानाबीचको सामिप्यता, अशिर्वाद, टाढा–भएकाहरुबो भेटघाट खुशी साटा–साट लगाएतका विशेषताले दशैं निकै महत्वपूर्ण छ । अर्कोतर्फ पिङ खेल्ने, साथीभाईसँग रमाइलो गर्ने, सेलरोटी लगाएतका परिकार खाने आदि कारणले दशैंमा थप मिठास हुने गर्दछ । तर, दशैं लामो महत्वपूर्ण पर्वसँगै खर्चिलो हुने हुँदा न्यून आय भएका तथा गरिब वर्गलाई भने समस्या परेको भन्ने जनगुनासो पनि रहेको छ । तसर्थ पर्वलाई आफ्नो अवस्थाअनुकुल र संस्कृतिअनुरुप मनाउने हो ।

आफ्नो गच्छेअनुसार पर्व मनाउन आवश्यक छ । अर्कोतर्फ खर्चिलो र भड्किलो बनाउनेहरुले पनि अरुलाई असर पर्ने र सामाजिक सद्भाव खलल हुनेगरी खर्च गरी पर्व नमनाउनु बुद्धिमानी हुन्छ । विजयको प्रतिकका रुपमा मनाइने दशैं पर्वले अशिक्षा, गरिबी,अभाव,अनियमितता,भ्रष्टाचार,राजनीतिक अस्थिरता लगाएतमाथि विजय प्राप्त गरी मुलुकमा शिक्षित जनशक्ति, समृद्धि छाओस्,सुशासनले गति लियोस्, रजनीतिक स्थिरता कायम होस् । आगामी दशैंमा थप उत्साह जागोस् । मुलुक र जनतालो समृद्धि,शान्ति र न्यायको अनुभूति गरुन् । दशैं केवल वर्षमा एक पटक मनाउने पर्व मात्रै नबनोस् । दशैं मनाइरहँदा रमाइलो,खुशीयालीसँगै दशैंपश्चात् पनि सुखद बनोस् । दशैंको शुभकामना ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।