ताजा अपडेट »

मतदाताले चुनावमा दिएको भोट फिर्ता मागेपछि…

बुधबार, २३ माघ २०७५, ०७ : ३४
4 Shares

माघ २३,

रुकुम । जिल्ला सदरमुकाम विवादले तनावग्रस्त रुकुम पूर्वका मतदाताले आफूले दिएको भोट फिताको माग गर्दै आन्दोलनमा उत्रिएका छन् । रुकुम पूर्वको गोलखाडा सदरमुकामका पक्षधरहरु गएको चुनावमा दिएको मत फिर्ताको माग गर्दै हस्ताक्षर संकलन कार्यमा जुटेका हुन् ।

थाउत्तरगंगाका १४ वडा र भूमेका तीन वडाका नागरिकले गोलखाडा सदरमुकामको पक्षमा मत जाहेर गर्दा पनि संघीय तथा प्रदेश सांसदहरु केही नबोलेको भन्दै मत फिर्ताको मागसहित हस्ताक्षर अभियान थालिएको स्थानीय अगुवा पुणीराज घर्तीले जानकारी दिए । सेतो कपडामा मतदाताको हस्ताक्षर संकलन गरेर प्रतिनिधिसभाको संसद सचिवालय र प्रदेश सभाको सचिवालयमा पेश गरिने उनीहरुको भनाइ छ ।

संघीय सांसद कमला रोका तथा यो क्षेत्रमा प्रदेश सांसद तेजबहादुर ओली ‘प्रतीक’ छन् । सांसदहरुले भने आफूहरुले मुद्दा अदालतमा विचाराधीन रहेकाले अहिले केही गर्न सक्ने अवस्था नरहेको भन्दै संयमित बन्न आन्दोलनकारीलाई अनुरोध गरेका छन् ।

यसअघि नै कांग्रेस सरकारले सरमुकामबारे विवादित निर्णय गरेपछि समस्या आएको र सहमतिका लागि निरन्तर लागिरहेको उनीहरुको प्रतिक्रिया रहेको छ ।

रुकुमकोटमा रहेको जिल्ला सदरमुकाम तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले २०७४ माघ ११ गते पुथा उत्तरगङ्गा गाउँपालिका–१२, गोलखाडामा राख्ने निर्णय गरेको थियो । देउवा नेतृत्व सरकारको त्यस निर्णयविरुद्ध २०७४ माघ १७ मा सर्वोच्चमा रिट दर्ता भएको थियो । उक्त रिटको सुनुवाइ गर्दै सर्वोच्चले तत्काल सदरमुकाम नसार्न अन्तरिम आदेश दिएको थियो ।

रिट दर्ता भएको एक वर्षसम्ममा पनि सर्वोच्च सरकार र रिट निवेदकलाइ पटकपटक पेशी र साधारण तरिकाले बोलाए पनि अहिलेसम्म कुनै फैसला भएको छैन । सदरमुकाम विवादको विषयमा छलफल गर्न दुवै पक्षलाई सर्वोच्चले आउँदो माघ २७ गते बोलाएको छ । माघ २७ गते नै अन्तिम फैसला हुने आशंकाका बीच रुकुमकोट र गोलखाडा पक्षधरहरुले विभिन्न दबाबमूलक कार्यक्रम गर्दै आएका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।