ताजा अपडेट »

द कफी हब : जहाँ वर्षमा सय बढीले सिके कफी बनाउन

बुधबार, ०१ भदौ २०७९, १४ : ०१
2 Shares

बुटवल । कफीलाई व्यवसायिक तथा कफी पिउने संस्कारको विकास गर्ने उद्देश्यले सञ्चालित रुपन्देहीको तिलोत्तमास्थित ‘द कफी हब’ ले हजारौंलाई कफी पिलाउनुका साथै एक सय बढी जनालाई कफी तालिम प्रदान गरेको जनाएको छ ।

गत वर्षदेखि सञ्चालनमा आएको कफी हबले विभिन्न प्रकारका कफीका स्वाद बिक्री गर्नुका साथै कफी बनाउन सिक्ने युवाहरुलाई सीपमूलक तालिम प्रदान गर्दै आएको कफी हबका सञ्चालक तिरास लाम्टाङ्गे मगरले बताए ।

पछिल्लो समय कफी पिउने बानीको विकास भएको छ । सोही कुरालाई मध्यनजर गर्दै कफी हब सुरुवात गरेका मगर आँफै होटल म्यानेजमेण्ट अध्यापन पनि गराउँदै आएका छन् ।

कोरोना महामारीकाबीच करिब ३५ लाख लागतमा कफी हब सुरु गरेका उनले स्थापनाको एक वर्षमा सन्तसुष्टिजनक सफलता प्राप्त गरेको बताए । कफी हबले स्थापनाको अवसरमा बुधबार एक समारोहको आयोजना गरी वार्षिक उत्सव समेत मनाएको हो ।

समारोहमा होटल तथा रेष्टूरेण्ट व्यवसायी संघ, रुपन्देहीका अध्यक्ष रामप्रसाद गौतम, महासचिव माधव कुमार खनाल, लेखकत्रय हुमराज भुसाल, माधवकुमार पौडेल र मोहन भट्टराई,कफी हबकी सञ्चालिका शर्मिला गलामी लामटाङ्गे लगाएतको सहभागिता रहेको थियो ।

सो अवसरमा होटल तथा रेष्टूरेण्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष गौतमले विषम परिस्थितिमा शुभारम्भ गरेर एक वर्षमै धेरै ग्राहकको मन जित्न र तालिम दिई सय बढीलाई कफी बनाउने सीप सिकाउन सफल भएको जानकारी पाउँदा खुशी लागेको बताउँदै अन्य स्थानमा पनि सेवा विस्तार गर्न सुझाय ।

तिलोत्तमा–३ योगीकुटी,शान्तिचोकमा सञ्चालित ‘द कफी हब’ को गर्त वर्ष भदौ १ मै होटल तथा रेष्टूरेण्ट व्यवसायी संघ,रुपन्देहीका अध्यक्ष गौतम,भ्वाइस अफ नेपाल–३ का फाइनलिष्ट गोभिन पुन र सञ्चालक शर्मिला गलामी लामटाङ्गे ले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

कफी हबबाट तालिम लिएका युवा तथा युवतीहरु मध्ये कोहीले आँफै व्यवसाय सुरु गरेको, कोही स्वदेशमै रोजगार भएको र कोही अष्ट्रेलिया,जापान , यूके लगाएतका देश गएको सञ्चालक मगरले बताए ।

कफी हबमा हाल ८ जना कार्यरत र दैनिक १० देखि २० जनाले तालिम लिने गरेको बताउँदै छिट्टै बुटवल लगाएत अन्य स्थानमा पनि सेवा विस्तार गर्ने योजना रहेको उनले जनाए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।