ताजा अपडेट »

रुपन्देहीमा सवारी दुर्घटनाबाट ९४ जनाले गुमाए ज्यान, प्रभावकारी देखिएन सचेतना

विहीबार, १९ साउन २०७९, १२ : २८
4 Shares

भैरहवा । दुर्घटना न्यूनिकरणको लागि गरिएको प्रयासहरु प्रयाप्त नरहेको रुपन्देहीमा बढ्दो दुर्घटनाको ग्राफले देखाएको छ । जिल्ला ट्राफिक कार्यालयले वर्ष भरि दुर्घटना न्यूनिकरणको लागि गरेको तमाम प्रयासले दुर्घटनामा परि ज्यान जानेको संख्या गत वर्ष भन्दा अहिले बढेको छ ।

जिल्ला ट्राफिक कार्यालय, भैरहवाले उपलब्ध गराएको तथ्यांक अनुसार रुपन्देहीमा गत आर्थिक वर्षमा दुर्घटनामा परि ९४ जनाले ज्यान गुमाएका छन् । बिभिन्न १ सय ७२ वटा दुर्घटनामा परि रुपन्देहीमा ९४ जनाले ज्यान गुमाउनु परेको हो । सोही क्रममा जिल्लामा १ सय ७१ जना गम्भिर घाईते र ५९ जना सामान्य घाईते भएका छन् । यो संख्या अघिल्ला वर्षहरुको तुलानामा बढी हो । आर्थिक वर्ष २०७७/०७९ मा भएको १ सय ६२ वटा दुर्घटनामा ८२ जनाले ज्यान गुमाएका थिए भने १ सय १६ जना गम्भिर घाईते र ६८ जना सामान्य घाईते भएको ट्राफिक कार्यालयको तथ्यांकमा देखिन्छ । यसै गरि आर्थिक वर्ष २०७६/०७७ मा १ सय ९४ वटा दुर्घटना भए पनि ८० जनाले मात्र ज्यान गुमाएका थिए । सोही दुर्घटनाहरुमा परि ७८ जना गम्भिर घाईते र १ सय १५ जना सामान्य घाईते भएको थिए ।

आर्थिक वर्ष २०७८/०७९ मा भएको दुर्घटनाहरु मध्ये बढी दुर्घटना तिव्र गतिको कारण भएको ट्राफिक प्रहरी कार्यालयको भनाई छ । १ सय ७२ वटा दुर्घटना मध्ये १ सय ५२ वटा दुर्घटनाहरु तिव्र गतिकै कारण भएको ट्राफिक प्रहरी प्रमुख केशव केसीले जानकारी दिए । यस्तै चालकको लापारवाहीले ९ वटा, सडकको अवस्थाको कारण ५ र यात्रुको गल्तीको कारण ३ वटा दुर्घटना भएको केसीको भनाई छ । दुर्घटनामा सबैभन्दा बढी मोटरसाईकल पर्ने गरेका छन् । गत बर्ष मात्रै १ सय ४८ वटा मोटरसाईकल दुर्घटनामा परेको ट्राफिक प्रहरी कार्यालयको तथ्यांकबाट देखिन्छ । यस्तै २१ वटा कार तथा जीपबाट, २४ वटा ट्रक एवम टेङकर, ८ वटा टिपर, ८ वटा बस, ८ वटा ट्रयाक्टर, ४ वटा टेम्पो एवम १८ वटा अन्य साना सवारी रहेका छन् ।

सवारी आवागमनको अत्याधिक चापको कारण सबै भन्दा बढी दुर्घटना साँझको ६ बजे पछि हुने गरेको ट्राफिक प्रहरी निरिक्षक केशव केसीको भनाई छ । गत आर्थिक बर्षमा ७२ वटा दुर्घटना साँझ ६ बजे पछि, ५२ वटा दिउसो १२ बजे देखी ६ बजे सम्म, ३१ वटा बिहानको समयमा र १७ वटा दुर्घटना राती १२ बजे पछि भएको केसीले जनाए । ट्राफिक प्रहरीले दुर्घटना न्यूनिकरणको लागी आफ्नो अधिकतम प्रयास गरेको ट्राफिक प्रहरी प्रमुख केशव केसीको भनाई छ । उनले दुर्घटना न्यूनिकरणको लागी ट्राफिक जनचेतनाको साथै कार्यवाहीलाई पनि संगसंगै लगिएको दावी गरे । तैपनि दुर्घटना न्यूनिकरण प्रहरीको एकल प्रयासले मात्र सम्भव नहुने उनको ठम्याई छ । यसमा स्थानिय तह, निजि क्षेत्र, नागरिक समाजको साथै सम्पूर्ण सरोकारवालाको उत्तिकै सहयोग आवश्यक रहेको केसीले बताए ।

ट्राफिक प्रहरी केसीका अनुसार गत आर्थिक बर्ष ट्राफिक प्रहरीले दुर्घटना न्यूनिकरणकै लागी बुद्धचोक, बर्मेलीटोल र बेथरी गरि ३ स्थानमा डिभाईडर राखेको बताए । यसै गरि लेन अनुशासनको लागी जिल्लाका ५ स्थानमा बोर्ड राखेर दैनिक रुपमा नै चालकहरुलाई लेन अनुशासन शिक्षा प्रदान गरिदै आएको छ । यसै अवधिमा साईकल, पशु चौपायामा रेफ्लेक्टिभ स्टिकर टास्ने, चालक, बिद्यार्थी, बिभिन्न क्लबहरुमा पुगेर ट्राफिक नियम सम्बन्धि जानकारी एवम बिभिन्न सचेतनामूलक काम गरेको उनले जनाए । नम्बर प्लेटमा नम्बर बाहेक झण्डा लगायतका अन्य सामाग्री राखेका १ हजार ६ सय वटा साधनबाट उक्त झण्डा हटाउन लगाएको र सिद्धार्थनगरमा अब्यवस्थित रुपमा चलि रहेका तिनपाङग्रे सवारी साधनको लाईसेन्सको लागी नगरपालिका र अन्य निकायसंग सहजीकरण गरिरहेको उनले जनाए ।

यसका साथै ट्राफिक नियम मिच्ने सवारी साधनलाई कार्यवाही पनि उत्तिकै गरिएको उनको भनाई छ । आर्थिक बर्ष २०७८/०७९ मा ६५ हजार ९ सय ५० वटा कार्यवही गरि कार्यालयले ६ करोड ९१ लाख ५० हजार राजस्व संकलन गरेको केसीले बताए । आर्थिक बर्ष २०७७/०७८ मा ५८ हजार १ सय ८४ वटा कार्यवाही गरि ५ करोड ७३ लाख १० हजार ५ सय र आर्थिक बर्ष २०७६/०७७ मा २२ हजार २ सय ३७ कार्यवाही गरि १ करोड ८० लाख १७ हजार ५ सय राजस्व असुल गरिएको थियो ।

राधेश्याम विश्वकर्मा
लेखकको बारेमा
राधेश्याम विश्वकर्मा