ताजा अपडेट »

लगानी गर्न उपयुक्त वातावरण छ : अर्थमन्त्री खतिवडा

मंगलबार, २२ माघ २०७५, ०५ : ३०
4 Shares

माघ २२,

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले साउदी अरेबियालाई नेपालमा लगानी गर्न आग्रह गरेका छन् । 

आफूसँग शिष्टाचार भेटका लागि आएका साउदी अरेबियाका राजदूत मुसैदविन सुलेइमन आइ मारवानलाई मन्त्री डा. खतिवडाले नेपालमा लगानीको उचित अवसर भएको बताएका हुन् । 

अर्थमन्त्री खतिवडाले पूर्वाधार तथा औद्योगिक क्षेत्रमा लगानी गर्न आग्रह गरे । नेपालको सिँचाइ, ऊर्जा, भौतिक संरचना विकासका लागि साउदी कोषले सहयोग गरेकोमा साउदी सरकारलाई मन्त्री खतिवडाले धन्यवाद दिए ।

करीब चार लाख नेपाली कामदार साउदी अरेबियामा कार्यरत भएको भन्दै उनले साउदी सरकारले नेपालीलाई रोजगारी दिएर केही हदसम्म नेपालको गरीबी न्यूनीकरण, शिक्षा, स्वास्थ्य र जनजीवनको सुधारमा महत्वपूर्ण भूमिका खेल्नुका साथै नेपालको अर्थतन्त्रमा समेत सहयोग पु-याएको बताए । 

मन्त्री खतिवडाले आगामी चैत १५ र १६ गते नेपालमा हुन लागेको लगानी सम्मेलनमा साउदी अरेबियाका लगानीकर्तालाई बढीभन्दा बढी सहभागी गराउन दूतावासमार्फत सन्देश प्रवाह गर्नुपर्ने बताए ।

नेपालमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिट्टै सञ्चालनमा आउन लागेकाले साउदी नागरिकलाई पर्यटकको रुपमा नेपाल भित्र्याउने र नेपाली कामदारलाई सिधै आवतजावत गर्न सहज हुने उल्लेख गरे । 

भेटमा साउदी अरेबियाका राजदूतले साउदी फण्डमार्फत नेपालमा भूकम्पपछिको पुनःनिर्माण, शिक्षा, स्वास्थ्य र निजी आवास निर्माणमा सहयोग गर्न विभिन्न चरणका छलफल र वार्ता अघि बढेको बताए ।

नेपालमा लगानी र सहयोग गर्न साउदी अरेबिया तयार रहेको भन्दै राजदूतले दुवै देशबीच उच्चस्तरीय भ्रमण गरी सम्बन्धलाई थप उचाइमा पु-याउने विश्वास व्यक्त गरे । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।