ताजा अपडेट »

लुम्बिनीमा भारतीय सुरक्षाकर्मीको सक्रियता बढ्यो

शनिबार, ३१ बैशाख २०७९, १९ : ३१
4 Shares

लुम्बिनी । भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर दास मोदी लुम्बिनीमा आउने नजिकिँदै गर्दा लुम्बिनीमा सुरक्षा व्यवस्था कडा पारिएको छ । आज भारतका २ ओटा हेलिकप्टरमा भारतीय सुरक्षा फौजसहितको टिमले लुम्बिनीमा आएर हेलिप्याड जाँच गरि फर्किएका छन् । अहिले भारतीय सुरक्षा निकाय र भारतीय पत्रकारहरु लुम्बिनी आइपुगेका छन् । २५६६ औं बुद्धजयन्ती तथा लुम्बिनी दिवस २०७९ को अवसरमा मोदी लुम्बिनी आउने कार्यक्रम रहेको छ ।

पाँच हजार जना अट्ने क्षमताको अन्तराष्ट्रिय बौद्ध कन्फरेन्स तथा ध्यान केन्द्र उद्घाटन गर्ने कार्यक्रम रहेको छ । नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र दामोदर दास मोदीले मायादेवी मन्दिरमा पुजआजा गरि सकेपछि अन्तर्राष्ट्रिय बौद्ध कन्फरेन्स हलबाट सम्बोधन गर्ने कार्यक्रम पनि रहेको छ ।

गृहमन्त्री बालकृष्ण खाँण, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले, परराष्ट्र मन्त्री बनेका नारायण खड्का भोली लुम्बिनी आइपुग्ने कार्यक्रम रहेको लुम्बिनी विकास कोषले जनाएको छ । अहिले लुम्बिनीको मायादेवी परिसर र अन्तर्राष्ट्रिय बौद्ध कन्फरेन्स हल सिंगारिएको छ भने भैरहवादेखि लुम्बिनीसम्मको सडक चोक–चोकमा स्वागतद्वार निर्माण गरिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।