ताजा अपडेट »

लुम्बिनीको राप्ती नदीमा जलयात्रा सुरु, २७ किमि दूरी

शनिबार, १९ चैत्र २०७८, १३ : ४७
8 Shares

नेपालगञ्ज । आन्तरिक र भारतीय पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले राप्ती नदीमा शुक्रबारदेखि जलयात्रा (-याफ्टिङ) सुरु गरिएको छ । राप्तीसोनारी गाउँपालिकाको कुसुम बैरियादेखि अगैयासम्म राप्ती नदीमा सुरु गरिएको जलयात्राको लुम्बिनी प्रदेशका पर्यटन, ग्रामीण तथा सहरी विकासमन्त्री डिल्ली चौधरीले उद्घाटन गरे । जलयात्राको दूरी करिब २७ किमि रहेको बताइएको छ ।

उनले हामीसँग धेरै पर्यटकीय गन्तव्य र सम्भावना भए पनि त्यसको सदुपयोग गर्न नसक्दा आर्थिक विकास गर्न नसकेको चर्चा गर्दै अब यहाँ जलयात्राको आनन्द लिन ठूलो सङ्ख्यामा भारतीय र नेपाली पर्यटक आउने बताए ।

उनले प्रदेश सरकारले सबै सम्भावित पर्यटकीय गन्तव्यको विकास गरेर पर्यटकका लागि सञ्चालन गर्ने नीति बनाएको बताए । यस्ता जलयात्राले पर्यटन प्रवद्र्धन गर्नुका साथै रोजगारीको अवसरसमेत सिर्जना गर्ने मन्त्री चौधरीले बताए । राप्तीसोनारी गाउँपालिकासँगको सहकार्यमा पर्यटन डिभिजन कार्यालय बाँकेले जलयात्रा सञ्चालनमा ल्याएको हो ।

सो साहसिक जलयात्राको उद्घाटनलगत्तै मन्त्री चौधरी, राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारू, उपाध्यक्ष धनीकुमारी खत्री, पर्यटन डिभिजन कार्यालय बाँकेका प्रमुख माधव ज्ञवाली, प्रदेश योजना आयोगका सदस्य डा: दामोदर भुसाललगायतले साहसिक जलयात्रा गरेका थिए।

पर्यटन डिभिजन कार्यालय, बाँकेका प्रमुख माधव ज्ञवालीले यो जलयात्राले यस क्षेत्रमा पर्यटक वृद्धि हुनुका साथै यहाँका होटल, रेस्टुराँ र यातायातलाई समेत फाइदा पुग्ने बताए । केही समयअघि मात्र भारतीय पर्यटक आकर्षित गर्न नेपालगञ्जमा वेस्टर्न ट्राभल मार्टको आयोजना गरिएको थियो ।-सिराज खान/गोरखापत्र

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।