ताजा अपडेट »

'लुम्बिनीको नेतृत्व परिवर्तन केन्द्रको निर्णयअनुसार'

विहीबार, २० माघ २०७८, १७ : ५१
12 Shares

बुटवल । गठबन्धन दल नेतृत्वको लुम्बिनी प्रदेश सरकारको आयु केन्द्रीय राजनीति र नेतृत्वको भरमा देखिएको छ । आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माले प्रदेशले चाहेर मात्रै यहाँको सरकार फेरबदल नहुने स्पष्ट पारेका छन् ।

फागुनमा सत्ता परिवर्तन हुने हल्ला चलेपनि शर्माले भने- 'हामीले बनाएको गठबन्धन होईन, यो राष्ट्रिय आवश्यकताले बनेको गठबन्धन हो । माथिबाट जे निर्णय हुन्छ, यहाँ पनि त्यही हुन्छ ।' उनले अहिले नै सरकार परिवर्तन नहुने दाबी गरे । सरकारका प्रवक्तासमेत रहेका मन्त्री शर्माले केन्द्रिय सरकारदेखि प्रदेशका सबै सरकार गठबन्धनको सहमतिमा बनेका र ति सबै सरकारमा गठबन्धनको सहभागिता रहेकाले लुम्बनी प्रदेश सरकार परिवर्तन गर्नुपर्ने आवश्यक नरहेको बताए ।

प्रतिगमनका बिरुद्व राष्ट्रिय आवश्यक्ताको आधारमा गठबन्धन बनेको बताउंदै उनले भने-'ब्यक्तिको चाहाना र इच्छा हुँदैमा नत सरकार परिवर्तन हुन्छ नत गठबन्धन टुट्छ ।' मन्त्री शर्माले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका कारण संसद चल्न नसक्दा कयौं काममा अबरोध भएको उल्लेख गर्दै सरकार अब संसद सुचारु गर्ने पक्षमा रहेको बताए । निम्नतम् १५ दिनका लागि भएपनि संसद चलाएर आवश्यक कामहरु अगाडि बढाउने पक्षमा सरकार रहेको बताए ।

उनले एमसीसीले गठबन्धनको सरकारलाई केही प्रभाव नपार्ने दावी गर्दै भने 'जनता एमसीसीको विपक्षमा भएकाले राष्ट्रको हितमा हुने गरी परिमार्जन गर्नुपर्ने हुन्छ ।' कोभिड महामारीको अवस्थामा पनि प्रदेश सरकारले विकासका योजनाहरु अगाडि बढाएको बताउंदै ति योजनाहरु समयमा नै सम्पन्न गर्ने दावी गरे । रिपोटर्स क्लबले विहिबार बुटवलमा आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले सो कुरा बताएका हुन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।