ताजा अपडेट »

सिद्धबाबा सुरुङमार्गको निर्माण आगामी महिना सुरु हुने

सोमबार, १० माघ २०७८, १७ : ०१
6 Shares

काठमाडौँ । निर्माणका हिसाबले नेपालको दोस्रो सुरुङमार्ग सिद्धबाबा सुरुङमार्गको निर्माण आगामी महिना सुरु हुने भएको छ ।  सिद्धार्थ राजमार्गको सबैभन्दा जोखिम खण्डका रुपमा रहेको सिद्धबाबा खण्डमा सुरुङसँगै ‘रकसेड’ निर्माण गर्न लागिएको छ ।

बर्सेनि पहिरोका कारण धेरै जनधनको क्षति हुने सो ठाउँमा क्षति कम गराउनका लागि सुरुङ निर्माण गर्न लागिएको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका सूचना अधिकारी सिनियर डिभिजनल इञ्जिनियर सौरभ वज्राचार्यले बताए । ठेक्का प्रक्रियामा रहेकामा ‘फाइनान्सिल ओपनिङ’ बाँकी आगामी २० माघमा हुने बताइएको छ । त्यो खुलेपछि बोलपत्र कम हाल्नेलाई सम्झौताका लागि बोलाइने र स्वीकृत गरेपछि एक महिना समय दिनुपर्छ । उनले भने, ‘प्रक्रिया सबै टुङ्ग्याएर ठेक्कामा नै जान फागुन अन्तिमसम्ममा हुन सक्ने देखिएको छ ।’ 

देशकै पहिलो सुरुङ मार्गका रूपमा रहेको नागढुङ्गा सुरुङको उद्देश्य सडकको लम्बाइ घटाउनु र सवारी चाप कम गर्नु हो । यो सुरुङको पहिलो उद्देश्य सिद्धबाबामा बर्सेनि हुने पहिरोको जोखिम कम गर्नु नै रहेको सिनियर डिभिजनल इञ्जिनियर वज्राचार्यले बताए ।  

नेपालमा पहिलो पटक बन्न लागेको ‘रकसेड’ ले पहिरोको व्यवस्थापन गरी क्षति कम गराउने अपेक्षा गरिएको छ । सुरुङ दुई लेनको हुनेछ । यहाँ चल्ने गाडीमध्ये पनि मुख्य सवारीसाधनलाई सुरुङबाट पठाइने र साना र कम क्षमताका सवारीसाधनलाई ‘रकसेड’ बाट पठाउने गरी योजना बनाइएको छ । ठेला गाडा, साना टेम्पो कम लोडको रकसेडबाट पठाइने र अरु अधिकांश सवारीसाधन सुरुङबाटै जाने उनले बताए ।  

निर्माण हुन लागेका संरचनामध्ये सुरुङको लम्बाइ १ हजार १ सय २६ मिटर र बाटोको लम्बाइ जम्मा २ दशमलव ५ किलो मिटर हुनेछ । सरकारले यसका लागि १० अर्बको बजेट सुनिश्चित गरिसकेको छ । यसको जम्मा लगानी भने निर्माण कम्पनीले कति रकममा कबोल गर्छन्, त्यसैका आधारमा मात्रै यकिन हुने केन्द्रले जनाएको छ । सरकारको आफ्नै लगानीमा निर्माण हुन लागेको सो सुरुङले खासगरी सिद्धार्थ राजमार्गले समेट्ने गुल्मी, पाल्पा, अर्घाखाँची, स्याङ्जा, कास्की, पर्वत, बाग्लुङलगायत दर्जनभन्दा बढी जिल्लावासीलाई सुविधा पुग्नेछ । 

सुरुङ सम्पन्न भएर सञ्चालनमा आउँदा यहाँ हुन सक्ने सम्भावित दुर्घटना कम गराउनेसँगै सवारी साधनमा लाग्ने लागत कम हुने अपेक्षा गर्न सकिन्छ । त्यससँगै यहाँको पर्यटन क्षेत्रको प्रवर्द्धनमा यसले सहयोग पुर्‍याउन सक्नेछ । 

सिद्धबाबा मन्दिर अहिले पनि पर्यटकीय केन्द्रका रूपमा रहेकोमा यातायातको सजिलो पहुँच हुँदा त्यो बढ्न सक्नेछ । पहिलो ‘रकसेड’ भएकाले त्यो पनि आकर्षक बन्न सक्ने उनले बताए । उनले भने, ‘यो ठाउँको सुन्दरता बढाउन पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ ।’  सुरुङमार्ग र ‘रकसेड’ निर्माणका लागि स्वीस सरकारले परियोजना अध्ययन प्रतिवेदन (डीपीआर) तयार गरिसकेको छ । सो डिजाइनका आधारमा निर्माण सुरु भएको पाँच वर्षमा संरचना निर्माण सकिनेछ । सुरुका तीन वर्षमा सुरुङ सकिने र बाँकी तीन वर्षमा ‘रकसेड’ सकिने उनले बताए । 

निर्माण हुन लागेको ‘रकसेड’ ले माथिबाट झर्ने ढुङ्गा सकेसम्म झर्न नदिने र झर्दा पनि बिस्तारै झार्ने काम गर्ने सिनियर डिभिजनल इञ्जिनियर वज्राचार्यले बताए । त्यहाँ पहिरो झरेमा त्यसले गर्ने क्षति कम गर्न सकिन्छ । यसअघि नै नागढुङ्गामा देशको पहिलो सुरुङमार्ग निर्माण सुरु भइसकेको छ र सम्भवतः यो नै पहिलो सम्पन्न हुने सुरुङमार्ग बन्नेछ । नागढुङ्गा जापान सरकारको सहुलियत ऋणमा निर्माण भइरहेकोमा सरकारको लगानीमा निर्माण हुने सिद्धबाबा पहिलो सुरुङ हुने बताइएको छ । 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले विसं २०७६ कात्तिकमा डिजाइन निर्माण तथा सञ्चालनका लागि आवश्यक बजेट सुनिश्चितताको माग गरेको थियो । राजमार्गअन्तर्गत माथिल्लो सिद्धबाबा मन्दिरदेखि दोभानसम्मको झण्डै ४ किलोमिटर क्षेत्रलाई पहिरोको अति जोखिमयुक्त मानेर सुरुङ बनाउने योजना अघि बढाइएको थियो । 

बर्सेनि पहिरोका कारण सडक अवरुद्ध हुँदा नागरिकले सास्ती भोगिरहेका छन् । यस वर्ष सिद्धार्थ राजमार्गको पीपलडाँडामा १ असारमा सडक अवरुद्ध बनेको थियो । २४ असारमा सो राजमार्गको सिद्धबाबा क्षेत्रसँगै झुम्सा, हिउडे खोला, कालीमाटी र पीपलडाँडामा पहिरोले सडक अवरुद्ध बनेको थियो ।-रासस

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।