ताजा अपडेट »

नर्सिङ र गायनसँगै आकृति कोर्नमा छवि बनाउँदै २० वर्षीया आकृति

बुधबार, ०५ माघ २०७८, १५ : ५८
4 Shares

बुटवल । तपाइँ के गर्नुहुन्छ, अर्थात् के काम गर्नुहुन्छ ? स्वभाविक रुपमा हामी जोकोहिसँग एउटा काम वा क्षेत्रको अपेक्षा गर्दछौं । अझै भर्खरैका युवा–युवतीहरु पक्कैपनि अध्ययन मात्रै होला भन्ने आंकलन गर्छौं । तर, २० वर्षीया किशोरी आकृति रायमाझीको भने परिचय बेग्लै छ । उनको काम र आवद्धता धेरै छन् । अर्थात् उनी अध्ययन, गायन र चित्र कोर्ने गर्दछिन् । उनले तीनै कामलाई उही रफ्तारमा अगाडि बढाएकी छन् । तीनै क्षेत्रमा उनी अब्बल बन्दैछिन् ।

लुम्बिनी नर्सिङ होम बुटवलमा नर्सिङ दोस्रो वर्षमा अध्ययनरत आकृतिको घर कपिलबस्तु हो । उनी बुटवलमै साथीसँग बसेर अध्ययन गर्दै आएकी छन् । उनी आफू अध्ययनमा अब्बल रहेको दावी गर्छिन्। अध्ययनमा राम्रो भएकै कारणले परिवारले नर्सिङ अध्ययनमा जोड दिएको उनी बताउँछिन्। उनी बुटवलका क्लब तथा क्याफेमा लाइभ म्यूजिकमा प्रस्तुति दिन्छिन् । त्यस्तै उनी विभिन्न स्थानमा चित्र कोर्ने काम पनि गर्दछिन् । तर,उनको परिवार भने यी कुराहरुबाट बेखर रहेको उनी बताउँछिन्।

भनिन्छ,इच्छाशक्ति नै सफलताको पहिलो आधार हो । इच्छाबिना गरिएका काम र प्राप्त सफलतामा त्यति धेरै खुशी मिल्दैन,जति इच्छाइएकोमा मिल्छ । त्यस्तै आकृतिलाई पनि गीत–संगीत र आर्टमा रुचि छ । आफ्नो रुचिकै कारण उनले अध्ययनसँगै गीत संगीत र आर्ट पनि अध्ययन गरिन् । घर परिवारले थाहा पाए, रोक्लान् भन्ने डर र असुरक्षाका बावजूद उनले गायन र चित्रकला सिकिन्।

अधिकांश विद्यार्थीलाई शैक्षिक संस्था जानु, अध्ययन र गृहकार्य पूरा गर्नु र सफल हुनुनै सो समयमा पूर्णकालिन व्यस्तता हुन्छ । कतिपय विद्यार्थी त्यही काममा पनि असफल हुन्छन् । तर, अध्ययनमा सफलतासँगै अतिरिक्त क्रियाकलापमा पनि सफल हुने विद्यार्थी भने लगनशील तथा बहुप्रतिभाशाली हुन्छन् । तीनै विद्यार्थी मध्ये एक हुन् आकृति रायमाझी । उनी गायन प्रस्तुतीमा आत्मविश्वासका साथ प्रस्तुती दिन्छिन् । विशेषगरी नयाँ पुस्ताका गीत गाउने उनी नियमित प्रस्तुती दिनिछन् ।

त्यसैगरी चित्रकलामा पनि उनी अब्बल बन्दैछिन् । केहि वर्ष यतादेखि चित्रकला सिक्दै बनाउँदै आएकी उनले प्रतियोगिता समेत जितेकी छन् । उनकै गृहजिल्लामा आयोजित चित्रकला प्रतियोगितामा उनी प्रथम भएकी हुन् । यससँगै उनले बुटवलको नाइन्टीज क्याफेको वालमा चित्र कोरेकी छन् । त्यसैगरी उनले नियमित सांगीतिक प्रस्तुति दिने डार्कवुड क्याफेमा पनि चित्र कोरेकी छन् । उनी स्पोर्ट तथा फेन्सी शुज(जुत्ता)मा पनि चित्र बनाउँछिन् । जुत्तामा चित्र बनाउनेमा पनि उनि चर्चित छन् । निरन्तर जुत्तामा चित्र कोर्न काम आउने गरेको र सोबाट राम्रो आम्दानी हुने गरेको उनी बताउँछिन् ।

कपिलबस्तुको बुद्धभूमि नगरपालिका गोरुसिङ्गे घर भएकी आकृति सामान्य परिवारकी जेठी सन्तान हुन् । उनका बाबा सुरेन्द्र रायमाझी बैदेशिक रोजगारबाट फर्केर गाउँमै किराना पसल सञ्चालन गरेका छन्। आमा शान्ता रायमाझी गृहणी हुन्। छोरीले केवल अध्ययनमा ध्यान दिएर चाँडै नर्स बनोस् भन्ने उनीहरुको इच्छा रहेको आकृति बताउँछिन्। उनका २ बहिनी अध्ययन गदैछन्। परिवारकी जेठी सन्तान त्यसैले पनि बुवा आमालाई छोरीले राम्रोसँग पढेर आफ्नो इच्छा पूरा गरोस्, उनी सफल बनुन् भन्ने मात्रै छ ।

कपिलबस्तुकै एक निजी विद्यालयबाट एसईई उत्तिर्ण उनी बुटवल आएको २ वर्ष मात्रै भएको छ । तर,२ वर्षमा उनले दिगो पेशाका रुपमा अपनाउन सक्नेगरी गायन र चित्रकलामा आफूलाई पोख्न बनाएकी छन् । भित्ताको आकार र रङको खर्चअनुसार हालसम्म १० हजारदेखि ५० हजारसम्म लागतको चित्र कोरेको र माग बढ्दै गएको उनी बताउँछिन् । त्यसैगरी निरन्तर लाइभ म्यूजिकमा प्रस्तुती दिँदा पनि उनले पारिश्रमिक पाउने गरेकी छन् । त्यसैगरी जुत्तामा चित्र बनाएवापत पनि उनले आर्जन गरेकी छन् ।

यी सबै रहर, काम तथा गतिविधिसँगै अध्ययनलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढेको उनी बताउँछिन् । अध्ययनसँगै गायन र चित्रकलालाई व्यवसायिक रुपले अगाडि बढाउने आफ्नो लक्ष्य रहेको उनले सुनाइन् । उता घरमा भने पढ्न गएकी छोरी गायन र चित्रकलामा व्यस्त भन्ने जानकारी प्राप्त हुँदा अभिभावकले के भन्नुहुने हुने हो भन्ने कुराले भने उनलाई चिन्तित बनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।