ताजा अपडेट »

बुटवल व्यापार मेलामा नयाँ वर्ष विशेष सांगीतिक कार्यक्रम

शुक्रबार, १६ पुस २०७८, ०९ : ३०
10 Shares

बुटवल । अंग्रेजी नयां वर्षको अवसरमा शुक्रबार (पुस १६ गते) बुटवलमा सञ्चालित औद्योगिक प्रदर्शनी तथा ब्यापार मेलामा विशेष सांस्कृतिक कार्यक्रम र कन्सर्ट हुने भएको छ । मेला अवलोकन गर्न आउने दर्शकलाई मेलास्थलमै सांगीतिक कार्यक्रमसहित नयां वर्ष मनाउने अवसर दिलाउन मेला आयोजकले कन्सर्ट आयोजना गरेका हुन् । अन्य दिन भन्दा शुक्रबार नयां वर्ष विशेष बनाउन दिउसो र सांझ छुट्टाछुट्टै सांस्कृतिक कार्यक्रम र कन्सर्ट आयोजना गरिएको मेला सचिवालय संयोजक पदम जीसीले बताए ।

शुक्रबार दिउसो पुस्कल शर्मा,डिला बिक,अनिल पहाडी,नन्दु परियारले गायन र एक खुट्टाले नाच्ने डान्सर रोमा न्यौपाने तथा ओसियन अटो प्रदर्शनी डान्स आइडलका प्रतियोगीले नृत्य प्रस्तुत गर्ने सांस्कृतिक कार्यक्रम संयोजक यमलाल मरासिनीले बताए । यस्तै सांझमा नयां वर्ष विशेष कन्सर्टमा प्रिति आले,सौगात सायर,नुमा थापा,सृष्टि रणपाल र डीजे पोन्चिभोको प्रस्तुति रहने मरासिनीले बताए ।

बिहीबार मेलामा दर्शकको उत्साहजनक उपस्थिति भएको मेला संयोजक उद्योग ब्यापार संघ बुटका अध्यक्ष गोबिन्दराज गैरेले बताए । तमु ल्होसारको सार्वजनिक विदा परेकाले बिहीबार ६० हजार बढी दर्शकको उपस्थिति भएको गैरेले बताए । मेलामा रहेका स्टल तथा होटेलहरुमा बिहीबारसम्म २५ करोड रुपैयांको कारोबार भएको संघकी कोषाध्यक्ष अन्जु पाण्डेले बताइन् ।

दर्शकको उत्साहजनक उपस्थितिले आयोजक र राम्रो ब्यापार भएपछि स्टलधनीहरु उत्साहित भएका छन् । शुक्रबार पनि बुटवल क्षेत्रका विद्यालयहरुमा जाडो विदा भएकाले मेलामा दर्शकको चाप बढ्ने आयोजकको अपेक्षा छ । स्वाधीन अर्थतन्त्रका लागि राष्ट्रिय औद्योगिकरण तथा ब्यापार विविधिकरण नाराका साथ पुस २० गतेसम्म चल्ने मेलामा स्वदेशी र विदेशी गरी ४ सय ७० स्टल रहेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।