ताजा अपडेट »

आजका महत्त्वपूर्ण खबर : बार लाग्यो महाअभियोगतिर,सीटीसी मल लिलाम गर्ने चेतावनी

सोमबार, ०६ मंसिर २०७८, २२ : ४०
8 Shares

नेपाल बारका तीन पदाधिकारीमाथि गाली बेइज्जती मुद्दा

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको पक्षमा सडक प्रदर्शन गर्दै आएको द हण्ड्रेड ग्रुपले नेपाल बार एसोसिएसनका तीन जना पदाधिकारीविरुद्ध काठमाडौं जिल्ला अदालतमा गाली बेइज्जती मुद्दा दायर गरेको छ ।

हण्ड्रेड ग्रुपका तर्फबाट अध्यक्ष बब्लु गुप्ताले बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, उपाध्यक्ष ईश्वरीप्रसाद भट्टराई र महासचिव लीलामणि पौडेलविरुद्ध गाली बेइज्जती मुद्दा दायर गरेका हुन् ।

ए डिभिजन लिगमा आर्मी र पुलिसबीच १-१ को बराबरी

शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत सोमबार त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले १-१ को बराबरी खेल्दै अंक बाँडेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको दुई विभागीय क्लबको प्रतिस्पर्धामा ५१औँ मिनेटमा सन्तोष हेमरुनले तेज तामाङको फ्री किकमा गोल गर्दै पुलिसलाई अग्रता दिलाए । तर, १० मिनेटपछि नै वैकल्पिक खेलाडीको रूपमा मैदान प्रवेश गरेका विवेक बस्नेतले आर्मीका लागि बराबरी गोल गरे । विवेकले पेनाल्टी लाइनबाहिरबाट उत्कृष्ट गोल गरेका थिए । ८७औँ मिनेटमा आर्मीका टेकबहादुर बुढाथोकीले गोल गरे पनि रेफ्रीले अफसाइड भएको भन्दै मान्यता दिएनन् ।

ओलीका अगाडि निरीह सचिवका आकांक्षीहरू

नेकपा एमालेको १०औँ महाधिवेशनको मिति नजिकिँदै गर्दा पार्टी पदाधिकारीका आकांक्षीको संख्या बढ्दै गइरहेको छ । महाधिवेशनबाट पार्टीको नयाँ नेतृत्व चयन हुने भएकाले पदाधिकारीका आकांक्षीको लर्को लागेको हो । 

महाधिवेशनले १५ पदाधिकारीसहित २२५ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्नेछ । अध्यक्षमा केपी शर्मा ओलीलाई नै पुनः दोहोर्‍याउने प्रयास भइरहेका बेला उपाध्यक्ष भीम रावलको उम्मेदवारी घोषणाले धक्का लागेको छ । 

माधवकुमार नेपाल र झलनाथ खनालबिना पहिलो पटक हुन लागेको महाधिवेशनमा ओली सर्वसम्मत अध्यक्ष बन्न चाहन्छन् । पार्टी विभाजनका बेला नेता नेपालको साथ छाडेर एमालेमै बसेका उपाध्यक्ष रावलले मात्र अहिलेसम्म एमालेमा उम्मेदवारी घोषणा गरेका छन् ।

नेता नेपालको साथ छाडेका १० जना नेतामध्ये उपाध्यक्ष रावल र उपमहासचिव घनश्याम भुसालबाहेक अन्य नेता अझै मौन छन् । ओलीविरुद्ध संघर्षमा उत्रिए कुनै जिम्मेवारी नपाउने आशंकामा उनीहरू मौन रहेका हुन् ।

महेश बस्नेतले सचिवमा उम्मेदवारी दिने

नेकपा एमालेको १०औँ महाधिवेशनमा एमालेका केन्द्रीय सदस्य एवं युवा नेता महेश बस्नेतले सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । 

आज (सोमबार) मध्यपुर थिमिको सम्पर्क कार्यालयमा आफ्नो धारणा सार्वजनिक गर्दै उनले सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

पार्टी र देशका लागि युवा पुस्ताको भूमिका बढाउन, एमाले अध्यक्ष केपी शर्मा ओली र एमालेको रक्षा कवचको रूपमा मुलुकको युवा शक्ति परिचालन गर्न आफूले सचिवमा उम्मेदवारी दिने निर्णय गरेको उनले बताए ।
आफू युवा संघको अध्यक्ष हुँदा होस् वा एमालेको केन्द्रीय सदस्य हुँदा, पार्टीकै पक्षमा युवालाई एकताबद्ध बनाउन काम गरेको बताउँदै उनले आगामी दिनमा एमालेमा ऊर्जावान् युवाको प्रवेश गराउन पनि उम्मेदवारी घोषणा गरेको बताए ।

सर्वोच्चमा गोलाप्रथाबाट पेसी तोक्ने सूचना राजपत्रमा प्रकाशित

सर्वोच्च अदालतमा गोलाप्रथाबाट पेसी तोक्ने बाटो खुला भएको छ । त्यससम्बन्धी सूचना राजपत्रमा प्रकाशित भएसँगै गोलाप्रथाबाट पेसी तोक्ने बाटो खुलेको हो ।

सोमबार राजपत्रमा सर्वोच्च अदालत (दोस्रो संशोधन) नियमावली, २०७८ सम्बन्धी सूचना प्रकाशित भएको हो । सर्वोच्च अदालतको पेसी गोलाप्रथाबाट तोक्न लामो समयदेखि माग हुँदै आएको छ ।

कुनै पनि सरकारी निर्णय राजपत्रमा प्रकाशित भएपछि त्यसले कानुनी वैधता पाउँछ । संशोधित नियमावलीले राजपत्रमा सूचना प्रकाशित भएसँगै त्यसले कानुनी हैसियत पाएको छ ।

बारको आन्दोलन जबराविरुद्ध महाभियोगमा केन्द्रित, सभामुख र दलहरूलाई ज्ञापनपत्र बुझायो

नेपाल बार एसोसियसन आन्दोलन प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको महाभियोगमा केन्द्रित भएको छ । त्यसअन्तर्गत बारले सभामुख अग्निप्रसाद सापकोटलाई भेट गरी संवैधानिक बाटोबाट समस्या समाधानका लागि दलहरूलाई ध्यानाकर्षण गराउन ज्ञापनपत्र बुझाएको छ ।

यस्तै, एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङलाई जबरामाथि महाभियोग लगाउन र सर्वोच्चको सुदृढीकरणको आन्दोलनमा साथ दिन आग्रह गरेको हो ।

बारको ज्ञापनपत्र बुझ्दै अधिवक्तासमेत रहेका नेम्वाङले बारसम्बद्ध कानुन व्यवसायीहरूमाथि प्रहरीले बल प्रयोग गरेको भन्दै दु:ख व्यक्त गरेका छन् । 'तपाईंहरूमाथि बल प्रयोग भएकोमा दु:ख व्यक्त गर्छु । त्यस्तो नहुनुपर्थ्यो', बारको टोलीका सदस्यहरूसँग नेम्वाङले भनेका थिए ।

विमलेन्द्र निधिले दिए सभापतिमा उम्मेदवार हुनुका २३ कारण

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि पार्टीको १४औं महाधिवेशनमा सभापति पदमा उठ्ने भएका छन् ।

उनले आफू सभापतिमा उठ्नुपर्नाका २३ वटा कारण पनि सार्वजनिक गरेका छन् ।

जनकपुरमा रहेका निधिले आज सामाजिक संजालमार्फत सभापति पदमा उम्मेदवारी दिनुपर्नाका कारण सार्वजनिक गरेका छन् ।

उनले 'वैचारिक रूपमा स्पष्ट कांग्रेस, एकताबद्ध कांग्रेस र गतिशील कांग्रेस' भन्ने नारासमेत अगाडि सारेका छन् ।

उनले सभापति पदमा उम्मेदवारी किन? भन्दै २३ बुँदामा आफ्ना एजेन्डा अघि सारेका हुन् ।

इच्छाराज तामाङसहित तीन जनाका नाममा ३५ दिने सूचना, सीटीसी मल लिलाम गर्ने चेतावनी

सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङसहित तीन जनाविरुद्ध कर्मचारी संचय कोषले सार्वजनिक सूचना निकालेको छ ।

सोमबार सूचना जारी गर्दै कोषले ३५ दिनभित्र ऋण रकमको साँवा-ब्याज भुक्तान नभए सम्पत्ति लिलाम गर्ने चेतावनी दिएको हो ।

पटक पटक भाका नाघेको ऋणको साँवा-ब्याज रकम भुक्तान गर्न ताकेता गर्दासमेत ऋणीहरू कोषको सम्पर्कमा नआएकाले सूचना जारी गर्नुपरेको उसले जनाएको छ ।

कोषले सिभिल इस्टेट्स प्रा.लि., त्यसका संचालक तामाङ, केशवलाल श्रेष्ठ र प्रवीण मुखियाको नाममा ३५ दिने सूचना जारी गरेको छ ।-न्युज कारखाना 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।