ताजा अपडेट »

यमकला र टोपलाको कथा : मौनता मै राख्छन् कारुणिक व्यथा !

बुधबार, ०१ मंसिर २०७८, २० : २०
4 Shares

विश्वमा करिब ७ खर्ब मानिस छन्,नेपालमै करिब तीन करोड । सबैको अवस्था र सामथ्र्य उस्तै पक्कैपनि हुँदैन । तर, मानिस चेतनशील प्राणी हो । यद्यपी कैंयौं मानिसहरुमा अझैपनि चेतनाको कमी छ भने कैंयौंमा शारीरिक तथा मानसिक असक्तता,जसका कारण कैंयौंले बाँच्नकै लागि कडा संघर्ष गर्नु पर्दछ । कतिपयले भने बाँचुञ्जेल हालत सहेरनै मर्नुपर्ने बाध्यता र अवस्था हुन्छ ।

यस्तै अवस्थाका कैयौं मानिसहरु मध्ये स्याङजाका दुई बहिनी,टोपला र यमकला पनि हुन् । बोल्न नसक्ने ती दुई बहिनीको अवस्था पहिलेपनि उस्तै थियो,अहिलेपनि उस्तै छ । बाँचेका त छन्,तर युग सुहाउँदो जीवनशैली जिउन भने असमर्थ वा बञ्चित छन्। उनीहरुलाई देखेर विचार भन्नेहरु धेरै छन्,ती मध्ये पंक्तिकार पनि एक हो ।

यमकला र टोपला जस्ता व्यक्तिहरु देखेर अधिकांश भावुक हुने गर्दछन्,सहानुभूति प्रकट गर्ने गर्दछन् । तर, भोग्नेहरुलाई दुःख र अभाव ठूलो पहाड लाग्छ । हामी दया देखाउनेहरुका नजरमा कठै र विचरा शब्द आउँदा हिनताबोधको पहाड चढ्दो हो । हामी मानिसले आँफैले आफैलाई कति दयालु ठान्छौं ,त्यो ब्यक्तिको चरित्रमा भर पर्ला।

पंक्तिकारले यो लेख्दै गर्दा कुनै दया–भाव भन्दा पनि जीवन बाँच्ने पे्ररणाका रुपमा लेख्न खोजेकी हुँ । चाहे सहज होस् चाहे अप्ठ्यारो, हरेक मानिस आफ्नो जीन्दगी बाँच्न विवस् हुन्छ । म साेंच्थे कहिलेकाही दया भावले अरुको उद्धार हुन सक्छ । अहिले कोहि कसैको दया भावले अरुको उद्धार हुने कुरा परिस्थिति जन्य कुरा हो भन्ने लाग्यो । अझै भनौ यसको चित्तबुझदो जवाफ खोज्न समय लाग्छ ।

२०६७ सालमा मेरो विवाहपछि म स्याङजाको बलाम पुगें । मैले जीवनमा भेटेका स्याङजा कालीगण्डकि ५ बलाम डाडाँको एउटा सानो झुपडीमा देखिएका दुई दिदी–बहिनी टोपला न्यौपाने र यमकला न्यौपानको जीवन मलाई देख्न पनि निकै असहज हुन्थ्यो । म पहिलोपटक त्यो सानो घरमा पुग्दा मानिसको जीवन कति धेरै कठिनाइबाट गुज्रिरहेको छ भन्ने कुरा महशुस गरेँ। जब पहिलोपटक टोपला र उनकी दिदी यमकलालाई भेटें हातमा लाम–लामा नङ, नङभरी फोहोर , दशैंमा उम्रेका जमरा जस्तो झाङ्गिएको,जेलिएको बाक्लो कपाल देख्दा, मन खिन्न भयो ।

दुनियाप्रति वितृष्णा जाग्यो । टोपला दिशा पिसावलाई पर नगएको पनि वर्षौ भएछ । यमकलाले इशारामा धेरै खान नदिन भन्दै गर्दा म निकै बेर टोलाएकी थिएं । यो भित्र गहिरो भाव रहेछ, सुन्दा सहज होला तर, भोग्नेलाई भएको पीडा शब्दमा उनेर नसकिने भएछ । धेरै दिन त बसिन तर, जति बसेँ म ती दिदी–बहिनीको नजिक भएँ । बिहानको चिया, खाना खुवाउने दैनिकी जस्तै भयो । बोल्न नसकेपनि दिदीबहिनीले नै इशारामै माया दर्शाउँथे,टोपलाको भाव मात्र बुझिन्थ्यो । यमकलाले भने इशारामा सबै कुरा भन्थिन् र म सबै बुझ्थें । ‘तँ मसँंग बस्, मेरो नाममा भएको जग्गा तेरो नाममा लेप्चे लगाइदिन्छु। सबैलाई अन्तै पठाइदे । म तसंँग बस्ने हो ।’ उनले इशारामा भन्थिन् ।

त्यो अपार अपनत्व भावले म पनि भावुक भएको महशुस गर्थें । म त्यो घरबाट निस्किन पर्दा लुकेर थाहै नदिई निस्किन पथ्र्यो । अभैm भनौं उनले मलाई निस्किन दिँदैनथिन् ।दशैंमा उनीहरुसंग लामो बसाई हुन्थ्यो । यसपाली पनि म दशैंमा बलाम पुगें । योपालि घरमा पुग्दा सानो पानी नओतिने घर घाम–पानी छेकिनेसम्म भएछ । कालीगण्डकी गाउँपालिकाले २ कोठे घर बनाई दिएको सुनेकि थिएंँ, आफैले देख्ने मौका पाएँ । दिदीबहिनीले घर त पाए तर, कर्ममै टांसिएर आएको कथा–ब्यथा न धोई जान्छ,न पखालीे ।

विवाह भएको ११ वर्ष पुग्यो ११ वर्ष अगाडि देखेका भेटेका ती दिदीबहिनीको घरमा यो पालिको दशैंमा पुग्दा पनि अवस्था र ब्यथा उस्तै । त्यस्तै नङ,उस्तै कपाल । म पुगेपछि नङ कपाल काटेर चिटिक्क भने परे । टोपला अलि दुब्लाएकी थिइन् भने यमकला अलि धेरै गुनासो गर्ने भएकी । यसपाली पनि म अलिकति उत्साह अलिकति चिन्ता बोकेर घर नजिकै पुगें, घर बाहिर पुग्न के भ्याएकि थिएंँ, यमकलाले ईशारामै आफ्नो गुनासा सुनाइन् ।

स्वभावले हो कि दुःखले हो अघिल्लो वर्ष भन्दा यसपालि अलि धेरै गुनासो गर्ने भएकी रहिछन् हरेक पटक म घर जांदा अलिकति गुनासो अलिकति दुःखको पोको फुकाएकी हुन्छिन । उनको हरेक कुरामा बहिनी टोपलाको गहिरो चिन्ता प्रकट गरेको भाव बुझ्न सकिन्थ्यो । अशक्तता,गरिबीले कहिल्यै नछोडेका यी दिदीबहनीलाई बाउ–आमाको साथले बेलैमाथि छोडेपछि न दुःख पोख्न छ, नत पिरको भारी बिसाउन नै । के–के हो के–के पाउन भनेर दौडेका शहरका मान्छेसँग ठोक्किदै हिड्दा र गाउँमा भेटिएका यी अशक्त दिदी–बहिनीलाई देख्दा ‘कठै विचरा’ भन्दा पनि महशुस गर्दै साहारा बन्न सकौं भन्ने मेरो चाहना झनै बढेर आयो। शहरमा ठोक्किदै लड्दै हिंडेका भिडमा हराएकी म त्यस्ता पहाडका कुनाकानी चियाउन मन लायो।

शहरमा विभिन्न सामाजिक संघ–संस्थाहरु छन्। गाउँमै केन्द्रित पनि कैंयौ सरकारी र गैरसरकारी संघ–संस्था छन् । तर,वास्तवमै तीनको आवश्यकता पर्नेहरुबीच भने उनीहरु पुग्न गार्हो हुन्छ । जहाँसम्म लाग्छ,जति लक्षित वर्ग छन् त्यो भन्दा बढी उनीहरुका लागि भनेर खुलेका निकाय तथा संस्था छन् । तर,विडम्वना लक्षित वर्गको नाममा सामाजिक अभियान्ता र संस्थाहरु बढिरहे,मौलाई रहे !

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।