ताजा अपडेट »

भारतीयद्वारा नेपालमै आएर रुपन्देहीका एक युवाको अपहरण (स्थलगत रिपोर्ट)

बुधबार, ०१ मंसिर २०७८, १३ : १६
4 Shares

भैरहवा । सीमावर्ती क्षेत्रमा एक जना नेपाली युवाको अपहरण भएको छ । रोहिणी गाउँपालिका वडा नम्बर २ मैनिहवाका २१ वर्षीय अनिल कहारलाई भारतमा बस्ने ४ जनाले अपहरण गरेको परिवारले आरोप लगाएका छन् । भारतमा बस्ने उनीहरुले दशगजा क्षेत्रबाट आफ्नो काबुमा पारेर भारत तर्फ लगेको छन् ।

मैनिहवाका अनिल कहार दैनिक जस्तै घरमा बसि रहेका थिए । उनलाई सीमापारी बस्ने सञ्जय यादव, बाबुराम यादव, बेचु यादव र अनिल यादवले फोन गरि दशगजामा बोलाएको र त्यहाँबाट मोटरसाईकलमा भारत तर्फ नै लगेको प्रत्यक्षदर्शीहरुले बताए । पीडितका दाजु समेत पर्ने सन्नीदेवल कहारले जसवलका ४ जनाले भाइलाई अपहरण गरि लगेको र अहिलेसम्म उनको अवस्था अज्ञात रहेको जनाए । “भाइलाई फोन आयो, उसलाई दशगजा क्षेत्रमा बोलाए र कुटपिट गर्दै भारत तर्फ लगे ।” कहारले भने ।

पीडितकी आमा सुधा कहारले पनि आफ्नो छोरालाई सञ्जय यादवले अपहरण गरि लगेको बताएकी छिन् । हिजो साँझ करिब साढे ६ बजे छोरालाई सञ्जयले चोरेर लगेको भन्दै उनी अहिलेसम्म बिलौना गरि रहेकी छिन् । रोहिणी गाउँपालिका वडा नम्बर २ मैनिहवा भारत नेपालको सीमामै जोडिएर रहेको गाउँ हो । यस अघि पनि त्यँहा भारतीय प्रहरीले बिभिन्न समयमा गाउँमै पसेर नेपालीहरुलाई लैजाने गरेका थिए । अहिले भने भारतीय नागरिकले पनि अपहरण गर्न लागेको भन्दै मैनिहवावासी अक्रोशित छन् ।

मैनिहवा गाउँ र यस आसपासमा अहिले २४ सै घण्टा शसस्त्र प्रहरीको उपस्थिति रहेको हुन्छ । शसस्त्र प्रहरीले सीमा क्षेत्रमा हुने अपराध रोक्ने भन्दा पनि असुली धन्दामै ब्यस्त भएको स्थानीयहरुको आक्रोश रहेको थियो । अपहरण गर्ने आरोप लागेका ४ जना पनि सीमासंगै जोडिएर रहेको भारत तर्फका हुन् । उनीहरु दोहोरो नागरिकता लिई नेपाल तर्फ पनि खेतबारी जोडेर बसेको र बिभिन्न अपराधहरुमा संलग्न हुने गरेको स्थानीयहरुको भनाई छ । यस्तै मध्येका सञ्जय यादव पनि हुन् । उनी केही समय अघि मात्र लागु औषधको मुद्दामा भारतको जेल बसेर आएका ब्यक्ति हुन् । अहिले नेपाल र भारतीय प्रहरीको मिलेमतोमा बिभिन्न मालसमानको तस्करीमा लिप्त उनको पहुँचको कारण प्रहरीले यो घटनामा चासो नदेखाएको परिवारको आरोप छ ।

यस बिषयमा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक मनोज कुमार केसीलाई बुझ्दा उनले उक्त युवकलाई नेपालबाट नभई भारतबाट नै नियन्त्रणमा लिएको बुझिएको बताए । “केटा र केटीको बारे घटना रहेछ । केटी पक्षले आफ्नो छोरी भगाएको भन्ने आरोपसहित भारतबाट नै नियन्त्रणमा लिएर भारतीय प्रहरीलाई बुझाएका छन् ।” एसपी केसीले भने । यस बिषयमा ईलाका प्रहरी कार्यालय बेलहियाका प्रहरी निरिक्षक नविन पौडेलको समन्वयमा भारतीय प्रहरीसित कुरा भई रहेको छ । पौडेलले पनि अपहरित भनिएका कहार प्रहरी थाना सोनौलीमा रहेको र भारतीय प्रहरीसित कुरा भई रहेको बताए ।

भारतीयहरु नेपाली गाउँ मैनिहवामा पसेर नेपाली ब्यक्ति लगेको यो पहिलो घटना नभए पनि नेपालीहरुको सुरक्षा प्रति सुरक्षाकर्मी अझै पनि गम्भिर भएर लागेका छ्रैनन् । उता भारतीय प्रहरीको नियन्त्रणमा रहेका भनिएका नेपाली युवा भारतीय प्रहरीको चरम शारिरीक यातना खेपिरहेको जानकारीहरु आई रहेको छ ।

राधेश्याम विश्वकर्मा
लेखकको बारेमा
राधेश्याम विश्वकर्मा