ताजा अपडेट »

शिल्पा र छविको मुद्दामा सर्वोच्चमा आज सुनुवाइ हुँदै

आइतबार, २२ भदौ २०७६, १२ : ०२
4 Shares

भाद्र २२,
काठमाण्डौं । जिल्ला र उच्च अदालतको आदेशविरुद्ध सर्वोच्च अदालत पुगेकी नायिका शिल्पा पोखरेलले दायर गरेको रिटमाथि आइतबार सुनुवाइ हुँदैछ। पोखरेलले उत्प्रेषणको मागसहित दायर रिटमा सर्वोच्चका न्यायाधीशद्वय दीपककुमार कार्की र सुष्मालता माथेमाको संयुक्त इजलासमा सुनुवाइ हुने भएको हो।

यसअघि, भदौ १५ गते न्यायाधीशद्वय हरिकृष्ण कार्की र सुष्मालता माथेमाको संयुक्त इजलासमा सुनुवाइका लागि पेशी तोकिएपनि हेर्न नभ्याएपछि आजलाई पेशी तोकिएको हो। उच्च अदालत पाटनले पक्राउ गरेर कारबाही अघि बढाउन जिल्ला अदालतले गरेको आदेशविरुद्ध नायिका शिल्पा पोखरेलले साउन २९ गते सर्वोच्चमा रिट दायर गरेकी थिइन्। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको एकल इजलासमा साउन १ गते भएको सुनुवाइमा अन्तरिम आदेश जारी गर्दै आज दुवै पक्षलाई बोलाइएको थियो। साथै शिल्पा र छविलाई पक्राउ नगर्न सर्वोच्चले आदेश दिएको थियो। साउन २४ गते भएको सुनुवाइपछि कलाकार शिल्पा पोखरेल र निर्माता छवि ओझालाई जिल्ला अदालत काठमाडौंले दिएको आदेशलाई उच्च अदालतले सदर गरेको थियो। उच्च अदालतका न्यायाधीशद्वय रमेशप्रसाद राजभण्डारी रसरलाकुमारी पाण्डेको संयुक्त इजलासले नायिका पोखरेलले दायर गरेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गर्दै जिल्ला अदालतको आदेश उनीहरुलाई पक्राउ गर्न बाटो खोलिदिएको थियो।

शिल्पाले काठमाडौं जिल्ला अदालतसहित ६ जनालाई विपक्षी बनाएर साउन १६ गते उच्च अदालतमा निषेधाज्ञाको मागसहित रिट निवेदन दिएकी थिइन्। उच्च अदालतको आदेशमा शिल्पाले दिएको निवेदन अनुसार निषेधाज्ञा जारी गर्न नमिल्ने प्रष्ट पारेको थियो। शिल्पाको तर्फबाट वरिष्ठ अधिवक्ता रमेशप्रसाद गुरागाई र अधिवक्ता मनोज यादवले बहस गरेका थिए। छविकी जेठी पत्नी हेमा ओझाको तर्फबाट अधिवक्ताहरु स्वागत नेपाल र तुलसा शर्माले बहस गरेका थिए। छविका तर्फबाट कसैले बहस गरेनन्। अदालतले पक्राउ पूर्जी जारी गरेको अवस्थामा अदालत र प्रहरीलाई नै असहयोग गरी पक्राउ पूर्जी नबुझी उल्टै निषेधाज्ञाको निवेदन लिएर आउनु राज्यको कानुनविरुद्ध भएको प्रष्ट पार्दै शिल्पाको माग अनुसार निषेधाज्ञा जारी गर्न नमिल्ने जिकिर हेमाका तर्फबाट बहस गरेका अधिवक्ताहरुको थियो। गत साउन ५ गते विवादित फिल्म निर्माता छवि ओझाविरुद्ध बहुविवाहको अभियोगमा महानगरीय प्रहरी वृत्त गौशालामा जाहेरी परेको थियो। ओझाकी जेठी श्रीमती हेमा ओझाले उनलाई कानुनी कारबाहीको माग गर्दै जाहेरी दर्ता गराएकी हुन्।

२०४१ सालमा आफूहरुको विवाह भएको उल्लेख गर्दै दिएको जाहेरीमा हेमाले २०७५ पुस ११ गते छवि र शिल्पा पोखरेलबीच विवाह भएकाले बहुविवाहमा कानुनी कारबाहीको माग गरेकी थिइन्। त्यसलगतै काठमाडौं जिल्ला अदालतले शिल्पा र छविलाई पक्राउ गर्न आदेश गरेको थियो। पक्राउ पूर्जी जारी भएपछि शिल्पा साउन १६ गते उच्च अदालत पुगेकी थिइन्। बहुविवाह गरेको प्रमाणित भएकाले छविलाई बहुविवाहको मुद्दामा कानुनी कारबाही गर्न हेमाको माग छ। ‘निज मेरा विपक्षी पति छविराज ओझा र निज शिल्पा पोखरेललाई प्रचलित कानुनबमोजिम यथाशक्य चाँडो नियन्त्रणमा लिइ कारबाही प्रक्रिया अघि बढाई अनुसन्धानसमेत गरी निजहरूलाई कानुन बमोजिम हदैसम्मको सजाय गरी पाऊँ,’ उनले जाहेरीमा भनेकी छिन्।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।