ताजा अपडेट »

अधिकारीको निधनले पत्रकारिता क्षेत्रमा अपूर्ण क्षति

सोमबार, ०२ भदौ २०७६, १५ : ५२
8 Shares

गत शनिबार बिहानै रुपन्देहीको मात्र नभई प्रदेश ५ कै पत्रकारिता जगतमा अपत्यारिलो दुःखद समाचारले अध्याँरो छायो । अकल्पनिय, अपुष्ट उक्त खबर सुन्ने सबैको एउटै कामना थियो ‘खबर सत्य नहोस्, झुटो होस् । तर, बिस्तारै मध्यान्हसम्म खबर बारे स्पष्ट र सत्य थाह हुँदा रुपन्देहीले एक होनहार, बरिष्ठ तथा सक्रिय संचारकर्मी गुमाइसकेको थियो । हो, बुटवललाई आफ्नो कर्मक्षेत्र बनाएर लामो समयदेखि निरन्तर सक्रिय रुपमा कलम र आवाजका मार्फत समाजलाई सु–सुचित गर्दै आएका बरिष्ठ पत्रकार डायल्सन अधिकारी पत्रकारिता क्षेत्रबाट मात्र होइन, यस धर्तीबाटै बिदा भइसकेका थिए । दैवको लिला, विधिको बिधान मान्नुपर्ने नै थियो । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको एउटा टोली लगानी सम्मेलनको प्रचार प्रसारका लागि बिराटनगरतर्फ गईरहेको अवस्थामा सप्तरीमा दुर्घटना हुँदा उनको निधन भएको हो ।

रेडियो नेपालका रुपन्देही संवाददाता, इलगअन अनलाइनका सम्पादक, रेडियो नमस्तेका पूर्व स्टेशन म्यानेजर तथा बुटवल उद्योग वाणिज्य संघका प्रेस सल्लाहकार समेत रहेका अधिकारीको आइतबार बुटवलमा अन्त्येष्टि सम्पन्न गरिएको छ । विगत २ दशकदेखि पत्रकारितामा समर्पित शालिन, इमान्दार कर्मठ अधिकारीको निधनले मोफसलको पत्रकारितालाई अपुरणिय क्षति पुुगेको छ । वि.सं.२०३३ सालमा अर्घखाँचीमा जन्मेका उनले विं.सं.२०५५ सालदेखि बुटवललाई कर्मथलो बनाएर जनपक्षिय, स्वच्छ र पूर्ण पत्रकारिता गर्दै आएका थिए । देउराली पत्रिकाबाट सुरु भएको उनको सञ्चार यात्रा रेडियो नेपाल, रेडियो लुम्बिनी, रेडियो नमस्तेसँगै निरन्तर अघि बढ्यो ।

पछिल्लो समय रेडियो नेपालका सम्वाददाता, बुटवल टूडेको आर्थिक बिट संयोजक र आफ्नै सञ्चालनमा रहेको डिजिटल पत्रिका ‘इलगन न्यूज डटकम’ मार्फत समाजलाई सु–सूचित गर्दै आएका थिए । पत्रकारितामा निकै सक्रिय अधिकारी सधैं हँसिला र मिलनसार थिए । बिहानैदेखि सञ्चारकर्ममा लाग्ने उनी विशेषगरी आर्थिक क्षेत्रमा कलम चलाउने गर्दथे। उनी बुटवल उद्योग बाणिज्य संघका प्रेस सल्लाहकारका रुपमापनि कार्यरत थिए । पत्रकारिताको क्षेत्रबाट समाजलाई योगदान पुर्याएका उनी विभिन्न पुरस्कार तथा सम्मानबाट पनि सम्मानित थिए ।

जीवनका २ दशक बढि निरन्तर पत्रकारिताको माध्यमबाट समाजलाई योगदान पुु¥याउँदै अधिकारीले आफूलाई मात्र होइन पेशालाई पनि स्वच्छ बनाउन अतुलनीय योगदान पुर्याएका , पत्रकारितामार्फत उनले खेलेको भूमिका र यस क्षेत्रलाई दिएको योगदान बारे अहिले चौतर्फी चर्चा भइरहेको छ । रुपन्देहीको संचार क्षेत्रमा उनले हात समाएर संचारकर्म सिकाएकाहरु अहिले धेरैजना सक्रिय रुपमा पत्रकारितामा छन । परिवर्तित समय र समाजको आवश्यकता अनुसार एक वर्ष अघिदेखि आफ्नै अग्रसरतामा अनलाइन पत्रिका ‘इलगन न्यूज डटकम’ सञ्चालन गरेका उनी निकै उत्साहित थिए । समाजका गतिविधिलाई प्रविधिको माध्यमबाट सू–सूचित गर्नका लागि हरपल तल्लिन रहने उनि आफू नजानेका पद्धति तथा शैली सिकिरहन्थे ।

निकै सरल उनी सानादेखि ठूला र सामान्यदेखि बरिष्ठ सबैसँग मिलनसार थिए । बुवा, श्रीमती, एक छोरा र एक छोरी सहितको सानो तथा सुखी परिवार छोडेर ब्रम्हलिन भएका उनलाई यस क्षेत्रका हजारौं लोकले श्रद्धाञ्जली दिएका छन् । आइतबार उनको अन्त्येष्टिमा सयौंको बाक्लो उपस्थिति रहेको थियो । एउटा क्रियाशिल सञ्चारकर्मीको अन्त्येष्ठिमा देखिएको सयौको शोकाकुल भिडबाट नै प्रष्टिन्थयो कि अधिकारीले आफ्नो पेसागत मर्यादामा रहेर साच्चैनै अमुल्य सम्वन्ध कमाएका रहेछन । अन्त्येष्टि स्थलमा देखीएका सञ्चार, उद्योग, व्यवसाय, संघ-संस्था, राजनितिकर्मीदेखि स्थानीय लगाएत विभिन्न व्यक्तित्वहरुको बाक्लो उपस्थितिले नै उनको कर्म र लोकप्रियता झल्काइरहेको थियो ।

उनको निधनपछि अग्रज पत्रकार, बरिष्ठ पत्रकार, पूराना उद्योगी/व्यवसायी, स्थानीय समाजसेबी, उनको पत्रकारिता बारे जानकार र सहकर्मीहरुले उनको स्वच्छ छवि, पेशाप्रतिको इमान्दारिता, कर्मठ भूमिका र योगदानबारे खुलेरै प्रशंसा गरेका छन् । उनको देहावशनसँगै रुपन्देहीको पत्रकारिता क्षेत्रमा अपुरणिय क्षति पुगेको यथार्थ सरोकारवालाले महसुस गरेका छन् । पत्रकारिता क्षेत्रमा पछिल्लो समय विभिन्न खालका विकृतिका आरोप लाग्ने गरेको देखिएतापनि निरन्तर २० वर्ष बढी पत्रकारिता गरेका उनी सधैं निष्पक्ष, निर्विवाद र निष्कलङ्क रही लगनशिलताका साथ पूर्णकालिन रुपमा संचारकर्मकै दौरान हामी बीचबाट विदा भए ।

पत्रकारितालाई कर्म, पेशा, धर्म, जिम्मेवारी मानेर निरन्तर जनहितमा कलम चलाउने उनीबाट अन्य सञ्चारकर्मीले समेत शिक्षा लिनु पर्दछ । उनको भूमिका, प्रस्तुुती, लगनशिलता र त्यागको सदैव यस क्षेत्रले उच्च सम्मान गर्नु पर्दछ । यद्यपि रुपन्देहीको पत्रकारितामा उनको अभाव भने सदैव भइरहने छ । पेशागत जिम्मेवारी, लगनशिलता र इमान्दिारिताको ज्वलन्त उदाहरण बनेका स्वः डायल्सन अधिकारीको आत्माले शान्ति पाउनेमा कुनै शंका छैन । शोकको यस घडिमा उनीप्रति हामीपनि भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौ । शोकाकुल उनका पिता, धर्मपत्नी, कलिला बाल–बालिका लगाएत आफन्तजन सबैमा दुःखद घटनाको सामना गर्ने क्षमता मिलोस् । सोक सन्तप्त सबै प्रति हाम्रो हार्दिक समवेदना ! ! -भुसाल, ग्लोबल सञ्चार गृहद्वारा सञ्चालित यस अनलाइनका प्रबन्ध सम्पादक हुन ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।