ताजा अपडेट »

लुम्बिनीका दुई सांसदलाई स्पष्टिकरण तथा कारबाही गर्ने एमालेकाे तयारी

विहीबार, २८ साउन २०७८, १४ : ५८
14 Shares

बुटवल । नेकपा एमालेले लुम्बिनी प्रदेशका दुई जना सांसदलाई कारबाहीका लागि प्रक्रिया अगाडि बढाएको छ । एमालेले चुनाव चिन्हबाट निर्वाचित नवलपरासीका सांसद अजय शाही र तत्कालीन नेकपाको सूर्य चिन्हबाट जितेका विमला वलीले माओवादी केन्द्रको नेतृत्वमा नयाँ सरकार बनाउन माग गरेको निवेदनमा हस्ताक्षर गरेपछि कारवाही प्रकृया अगाडि बढाइएको एमाले सचेतक भूमिश्वर ढकालले बताए ।

सांसद वलीलाई यसअघि नै पार्टीको केन्द्र तहदेखि नै स्पष्टिकरण सोधिए पनि चित्तबुझ्दो जवाफ नआएपछि कारबाहीको प्रक्रिया अघि बढेको ढकालले बताए । यसैगरी माओवादी नेतृत्वमा सरकार गठनका लागि हाज पेश गरिएको दाबी पत्रमा विपक्षीलाई साथ दिएको भन्दै शाहीलाई स्पष्टिकरण सोध्न लागिएको एमाले सचेतक ढकालले ग्लोबल आवाजसँग कुरा गर्दै जानकारी गराए । शाहीले बुधबार सम्पन्न एमाले संसदीय दलले प्रदेशसभामा सहभागिता नहुने भनी गरेको निर्णय विपरीत सहभागिता जनाएका थिए ।

सत्तारुढ एमालेले संविधानविपरीत आएको अविश्वास प्रस्तावलाई प्रदेश प्रमुखले मान्यता दिएको भन्दै विशेष अधिवेशन बहिष्कार गर्ने निर्णय गरेको थियो । तर, सांसद अजय शाही भने बैठकमा सहभागी भएका हुन् । सदनमा सत्तापक्षको कुर्सीमा उनीमात्रै थिए । उनले नवलपरासी पश्चिम–१ ख बाट सूर्य चिन्हबाट चुनाव जितेका थिए ।

यसअघि बजेट निर्णयार्थ पेस गर्ने दिनमा पनि उनी बिरामी परेको भन्दै काठमाडौं गएका थिए । शाही र वली बैशाख १९ गते मुख्यमन्त्री शंकर पोखरेल विरुद्धको अविश्वासको प्रस्ताव पेश गर्ने समयमा पनि हस्ताक्षरकर्ता हुन् । तर, संघीय सरकारमा मन्त्री रहेका हृदयश त्रिपाठीनिकट रहेका शाहीले अर्को दिन पुनःएमालेमै रहेको विज्ञप्ति सार्वजनिक गरेका थिए । उनीसँगै विपक्षी गठबन्धनमा लागेका कपिलवस्तुका धर्मबहादुर लाल श्रीवास्तव फर्केर एमालेमा मन्त्री बनेपछि शाही असन्तुष्ट रहेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।