ताजा अपडेट »

प्रतिनिधिसभा विघटन - आज फैसला आउन सक्ने, पुनःस्थापना हाेला कि निर्वाचन ?

सोमबार, २८ असार २०७८, ०९ : ३२
2 Shares

काठमाडौँ । प्रतिनिधिसभा विघटन र संविधानको धारा ७६ (५) बमोजिम सरकार गठनको माग गर्दै सर्वोच्च अदालतमा परेका मुद्दामा संवैधानिक इजलासले आज फैसला सुनाउने भएको छ ।

रिट निवेदक १४६ सांसद र विपक्षी राष्ट्रपति कार्यालय र प्रधानमन्त्रीका तर्फबाट बहस र जवाफी बहस सकेपछि असार २१ गतेको इजलासले आजका लागि पेसी तोकेको थियो । अदालतको फैसला सबैको व्यग्र प्रतीक्षाको विषय बनेको छ । कुनै प्राविधिक समस्या नपरेमा उक्त मुद्दामा सोमबार फैसला आउने बताइएको छ तर, सर्वोच्चले मुद्दा हेर्दाहेर्दैमा राखिएकाले अर्को दिन निर्णय सुनाउने आदेश पनि दिन सक्नेछ ।

गत ८ जेठमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गर्दै कार्तिक २६ र मंसिर ३ गते दुई चरणका लागि मध्यावधि निर्वाचनको घोषणा गरेपछि त्यसविरुद्ध सर्वोच्चमा ३० वटा रिट परेका थिए । विपक्षी गठबन्धनका नेता शेरबहादुर देउवासहित १ सय ४६ जना सांसदले संसद पुनः स्थापना गरेर देउवालाई प्रधानमन्त्री घोषणा गर्न माग गरेका छन् भने चारवटा रिटमा प्रधानमन्त्रीमा केपी शर्मा ओलीलाई नै नियुक्त गर्नुपर्ने माग गरिएको छ ।

प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराको नेतृत्वमा न्यायाधीशहरु न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा सो मुद्दाको सुनुवाई भएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।