ताजा अपडेट »

पूर्ण शान्तिका लागि विप्लव समूह चुनौती : गृहमन्त्री

मंगलबार, ०७ साउन २०७६, १४ : ३४
10 Shares

साउन ७,
काठमाण्डौं । नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई गृह मन्त्रालयले अहिलेको सबैभन्दा ठूलो सुरक्षा चुनौतीका रुपमा लिएको गृहमन्त्री रामबहादुर थापा (बादल)ले स्वीकार गरेका छन्।

आज गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा शान्ति सुरक्षाको अवस्था सुधार गर्न सफल भएको तर सन्तुष्ट भने हुन नसकेको जनाउँदै विप्लवप्रति मन्त्री बादलले सफ्ट टोन प्रकट गरे। 'संघीयता, स्थायित्व र पूर्ण शान्तिका लागि विप्लव समूह अहिलेको चुनौती हो,' गृहमन्त्री बादलले भने, 'विप्लव समूहलाई शान्ति प्रकृयामा ल्याइयो भने शान्ति सुरक्षामा पूर्णता हुनेछ।'

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले हिंसात्मक गतिविधि बढाएसँगै गृह मन्त्रालय पनि उक्त पार्टीविरुद्ध सक्रिय भएको अवस्थामा गृहमन्त्रीको यस्तो अभिव्यक्ति आएको हो। 'विप्लव समूहलाई वार्तामार्फत् मुलधारको राजनीतिमा नल्याइ शान्ति सुरक्षा पूर्ण हुँदैन,' मन्त्री बादलले भने, 'हामीले उहाँलाई पटक पटक वार्तामा आउन भनेका छौं।'

पछिल्लो समय विप्लवका कार्यकर्तामाथि धरपकड र इन्काउन्टरमा सरकारको सक्रियता बढिरहेको छ। दिनहुँजसो विप्लवका कार्यकर्ता समातिएका छन्। गृहमन्त्री बादलले विप्लव वार्ताका लागि आउने सम्भावना रहेको समेत टिप्पणी गरेका छन्। 'वार्ताका लागि उहाँहरुले शर्त राखेको मिडियाबाट सार्वजनिक भएको छ,' बादलले भने, 'तर औपचारिक रुपमा उहाँहरुबाट कुनै शर्त आएको छैन।'

कुनै समय विप्लव र बादल एकै पार्टीबाट 'जनयुद्ध'मा सक्रिय थिए। बृहत शान्ति सम्झौतापछि तत्कालीन नेकपा माओवादीमा आएको फुटहरुबाट विप्लव समूह मुलधारको राजनीतिबाट धेरै टाढा पुग्यो भने बादलहरु सत्तमा रहिरहे। 'अहिलेको अवस्था हेर्दा उहाँ वार्तामा आउनुहुन्छ भन्ने देखेका छौं,' पत्रकार सम्मेलनमा मन्त्री बादलले भने।

निर्मला प्रकरणमा अनुसन्धान जारी

पत्रकार सम्मेलनमा गृहमन्त्री बादलले कञ्चनपुरमा बलात्कारपछि मारिएकी बालिका निर्मला प्रकरणमा बढी राजनीतिकरण भएको सुनाए। 'यो विषयमा धेरै नै राजनीति भयो। अनुसन्धानमा अझै हुँदैछ,' उनले भने, 'नागरिक समाजसहित सबै मिलेर जाँदा एकदिन दोषी फेला पर्छ।'

त्यसैगरी मन्त्री बादलले सुन तस्करको ठूलो सञ्जाल भत्काउन सफल भएको दावी गरे। उनले ३३ किलो सुन प्रकरणमाथिको रिपोर्ट अझै पूर्ण भइनसकेको र अनुसन्धान जारी रहेको समेत जानकारी दिए।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।