ताजा अपडेट »

भैरहवामा अनुगमन, तीन व्यवसायिक प्रतिष्ठानलाई जरिवाना

शुक्रबार, ०४ असार २०७८, १७ : १६
8 Shares

भैरहवा । जिल्ला अनुगमन समितिले शुक्रबार भैरहवामा आकस्मिक अनुगमन गरेको छ । अनुगमनको क्रममा मापदण्डविपरीत व्यवसाय संचालन गर्ने रुपन्देहीका तीन व्यवसायिक प्रतिष्ठानलाई जरिवाना गरिएको छ । यसरी जरिवाना गरिनेमा सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ मा रहेको आर.के. एग्रो इण्डष्ट्रिजलाई ५० हजार, वडा नम्बर ६ मा रहेको नीमा किराना पसललाई ५ हजार र वडा नम्बर ४ कै अम्बे इन्टरनेशनललाई २० हजार जरिवाना गरेको अनुगमन समितिले जनाएको छ ।

रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलका अनुसार अनुगमनका क्रममा भ्याटबिल काट्नु पर्नेमा इष्टिमेट विल काटेको, लेबलिङ, मूल्य सूचि, खरिदविक्री दरमा एकरुपमा नभएको पाइएपछि कारबाही स्वरुप जरिजाना गरिएको हो । अनुगमन समितिले बिहीबार पनि अनुगमनका क्रममा बुटवलको स्मृति ट्रेडर्स र पड्सरीको शिवजी शब्जी भण्डारलाई २०/२० हजार रुपैयाँ जरिवाना गरेको थियो ।महामारीको मौका छोपेर उपभोक्तलाई ठगेको व्यापक गुनासो आएपछि प्रशासनले अनुगमनलाई तीव्रता दिएको पौडेलले जनाए ।

जरिवाना तोकिएका व्यवसायिक प्रष्ठिानले उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ को खण्ड (घ) बमोजिमको कसूर गरेको पाइएकाले सोही ऐनको दफा ३९ को उपदफा (१) को खण्ड (क) बमोजिम जरिवाना गरिएको बाणिज्य कार्यालयले जनाएको छ । जरिवाना गरिएका फर्मलाई ७ दिनभित्र जरिवाना रकम दाखिला गर्न अनुगमन समितिले निर्देशन समेत गरेको छ ।

बाणिज्य कार्यालय प्रमुख टेकराज भट्टराईले उपभोक्तालाई ठग्ने, ऐन, नियम उल्घंन गर्नेलाई कानूनी दायरामा ल्याइने बताए । उनले भने, ‘अनुगमनलाई अब निरन्तरता दिन्छौं, कसैले उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड गरेको पाइए त्यसलाई तुरुन्त कारबाही गर्छौ ।’ अनुगमन समितिले भर्खरै बजार खुलेको मौकामा केही गलत मनसाय भएका व्यवसायी उपभोक्ता ठग्ने उद्देश्यको साथ अघि बढेको हुनसक्ने आशंका गरेको छ । समितिले शुक्रबार भैरहवाका आधा दर्जन व्यवसायिक प्रष्ठिान एवं फर्महरुमा अनुगमन गरेको थियो ।

राधेश्याम विश्वकर्मा
लेखकको बारेमा
राधेश्याम विश्वकर्मा