ताजा अपडेट »

बालबालिकामा संक्रमणक दर १० प्रतिशत : "आत्तिनु पर्दैन ९० प्रतिशत घरमै ठीक भएका छन्"

सोमबार, १० जेठ २०७८, १३ : ५८
6 Shares

नेपाल कोरोना संक्रमणको दोस्रो लहरसँग जुधिरहेको छ । दोस्रो लहरले बिश्राम नलिदै फेरि तेस्रो भेरियन्ट पनि नेपाल प्रवेश गरेको स्वास्थ्य तथा जनसँख्या मन्त्रालयले जनाएको छ । कोरोना भाईरसले सबै उमेर समूहका मानिसलाई उत्तिकै जोखिममा पारेको छ । बालबालिका पनि पहिलो लहरको तुलनामा दोस्रो लहरमा बढि संक्रमित हुन पुगेका छन् । पछिल्लो समय बालबालिकामा कोरोना संक्रमण किन बढ्यो ? आईसोलेसनमा बसिरहेका बालबालिकाहरुको के-कस्ता कुराहरुमा ध्यान दिनुपर्दछ ? लगायतका विषयमा कान्ति बाल अस्पतालका निर्देशक तथा बाल रोग बिशेषज्ञ प्रा.डा. आरपी बिच्छासँग कुराकानि

बालबालिकामा कोरोना संक्रमणको दर पहिलो लहरमा भन्दा दोस्रोमा बृद्धि भएको देखियो यसलाई कसरी हेर्नुहुन्छ ?

यसलाई यसरी बुझौँ, पहिलो लहरमा बालबालिकामा कोरोना संक्रमणको दर २ देखि ३ प्रतिशत रहेको थियो तर अहिलेको जुन दोस्रो लहरको संक्रमण छ यसमा १० प्रतिशत रहेको छ । पहिलो लहरमा ज्येष्ठनागरीक बढि प्रभावित भए । अहिले दोस्रो लहरमा हामी के देखिराख्या छौँ भने २० देखि ४० बर्ष उमेर समुहका बढि प्रभावित भैरहेका छन् । त्यसैले हामीले के अपेक्षा गरेको छौँ भने पहिलो र दास्रो लहरमा संक्रमण हुने दर जसरी बढ्दै र उमेर समूह पनि घट्दै आईरहेको छ । जुन तेस्रो लहर छ, त्यो अक्टोबरको अन्त्य वा नेभेम्बरसम्म्म नेपालमा ठूलो रुप लिन सक्छ जसले बालबालिकालाई ठूलो असर पार्न सक्छ ।

अहिले बालबालिकालाई कोरोनाको खोप कतिको अपरिहार्य हो ?

अपरिहार्यतात छ तर बालबाकिकामा अहिलेसम्म वैज्ञानिक तरीकाले प्रमाणित खोप विश्वमै कमै मात्रा आएको छ । एउटा मात्र अमेरीकाको फाईजर कम्पनी छ त्यसले १२ देखि १६ वर्ष उमेर समूहको लागि मेडिकल परीक्षण गरेर दुई हप्ता अघि मात्र बच्चामा प्रयोग गरेको छ । भारत लगायत अन्य पाँच, सात वटा देशहरुमा दोस्रो परीक्षण सुरु मात्र भएको छ ।अहिलेसम्म यी खोपहरु बच्चाका लागि प्रमाणीकरण नभएको हुदाँ गाह्रो छ । जब प्रमाणिकरण भैहाल्छ त्यसपछि सरकारले पनि ल्याउने प्रयास गरेर बालबालिकालाई खोप दिन सुरु गर्छ होला ।


बालबालिकाहरु चञ्चले स्वभावको हुने र स्वास्थ्य सुरक्षाका मापदण्ड पनि पालन गर्न मान्दैनन उनिहरुलाई संक्रमणको जोखिमबाट कसरी जोगाउन सकिन्छ ?

हामीले आशा गरेका छौं दुई, तीन हप्तामा यो दास्रो लहर केहि कम होेला र तेस्रो लहर आउन तीन÷चार महिना लाग्न सक्छ । अहिलेदेखि हामीले बालबालिकालाई केहि कुरा सिकाउनु पर्ने देखिन्छ ,जस्तै ६ देखि १२ बर्ष उमेर समूहका बच्चालाई डब्लुएचओ को प्रोटोकल अनुसार मास्क लगाउन नै सिकाउनु पर्दछ । बच्चा चञ्चले स्वभावको हुन्छ उसले मान्दैन होला मास्क फाल्न सक्छ तर हामीले विस्तारै सिकाउँदै लैजानुपर्दछ । तीन÷चार महिनाभित्र उसले लगाउन सिकिहाल्छ । बालबालिकालाई पटक,पटक साबुन पानीले हात धुन सिकाउने ,सेनिटाईजर प्रयोग गर्न सिकाउने जस्ता स्वास्थ्य सुरक्षाका मापदण्डका बारेमा सिकाउन सकिन्छ । हामी बयस्क मानीसहरु काम गर्न बाहिर जान्छौ घरमा आएर बालबालिकासँग टाढै बसेर कुराकानी गर्ने , घरमा पनि मास्क नै लगाएर बालबालिकासँग कुरा गर्ने जस्ता कार्य गर्ने र गराउने गर्नुपर्दछ ।

पहिलो लहर पछि बिस्तारै बिद्यालयहरु खुल्नुले पनि बालबालिकामा संक्रमणको दर बढेको हो त ?

हो, तपाईले भनेको कुरा बैज्ञानिक रुपमै सत्य हो । पहिलोमा चाहिँ हामीले तुरुन्तै बिद्यालय बन्द गरेका थियौँ बालबच्चा घरमै बस्न पाए, उनीहरु समुदायमा घुलमिल हुन पाएनन् । स्कुलमा गएर सबैसँग घुलमिल हुन पाएनन त्यसले पनि पहिलो लहरमा जोगाएको हुनसक्छ, त्यो पनि एउटा बैज्ञानिक तथ्य हो । तर दोस्रो लहरको बेला चाहिँ हामीले हेलचेक्राई गरेकै हौँ ,। यो पहिलो र दोस्रोको विचमा हेलचेक्राई वढि भयो ,यो बेला भेला , कार्यक्रम प्रदर्शन, खेलकूद बढि भए यसले पनि यो समस्या निम्त्याएको हुनसक्छ ।


संक्रमित गर्भवति महिलाले जन्माएको बच्चामा जन्मदै बच्चा संक्रमित हुने सम्भावना कति रहन्छ ?

अहिलेसम्म जतिपनि बैज्ञानिक अभिलेख छ त्यसमा आमाको गर्भबाट कोभिड सरेको न्यून प्रमाण छ , धेरै छैन । अहिलेसम्म चीनको एउटा अध्ययनमा मात्रै दुइ वटा बच्चामा देखाएको छ ।यसलाई हामी भर्टिकल ट्रान्समिसन भन्छौँ । तर बच्चा जन्मिसकेपछि जन्मने ठाउँमै अथवा अस्पतालमै नर्सरी वा घरमा लगेर स्यहार सुसार गर्दा वयस्क मानिसहरुबाट होस एक/डेढ महिनाको बच्चामा पनि संक्रमण भएको देखिराखेका छौँ ।

बालबालिका घरमै बसिरहदा उनीहरुमा मनोवैज्ञानिक असर देखिन सक्छ यो समाधानका लागि केकस्ता कुरामा ध्यान दिनु जरुरी छ ?

यो समयमा बालबच्चाहरुसँग बसेर टिभिमा समाचार हेर्ने काम चाहिँ कृपया नगर्नुहोस् । बालबच्चालाई बालबच्चा जस्तै घरमा रहन दिनुहोस् । उसलाई घरभित्रै खेल्न दिनुहोस ,मनोरञ्जनात्मक कुराहरु हेर्न लगाउनुहोस् ,पढन लगाउनुहोस ।अहिले समाचारहरुमा मृतकको संख्या, संक्रमितहरुको संख्यामात्र आउने गरेका छन् । हामी भन्दा बालबालिका धेरै एक्टिभ हुन्छन् । उनिहरु त्यो कुरा मनमा छिटो लिन्छन् ।उनिहरुले तपाईलाई सोध्न थाल्छन यो को मर्यो ? किन मर्यो ? कसरी मर्यो ? यावत प्रश्नहरू । आमा बुबा भनेको बच्चाको लागि सबैभन्दा ठुला काउन्सिलर हुन । यसलाई बाबु आमाले अवसरको रुपमा लिनुपर्दछ ।

होम आईसोलेशनमा रहेका बालबालिकाहरुको केकस्तो कुरामा ध्यान पुर्योउनु जरुरी हुन्छ ?

कोभिडको संक्रमण हुँदा पनि ९० प्रतिशत बालबालिकाहरुमा यो सामान्य हुन्छ र आफै जान्छ । त्यसैले बच्चालाई रुघाखोकि ,सामान्य ज्वरो छ भने पारासिटामोल चाहिँ दिने ,पानी प्रशस्त खुवाउने , खानपीनमा ध्यान पुर्योउने र प्यारासिटामोल दिा पनि ज्वरो निरन्तर बढिरहे ,खोकी बढिरहे नजिकको डाक्टरसँग सल्लाहा लिगेर आवश्यक कदम चाल्नुपर्छ । हामीकहाँ आएका र कोरोना परीक्षण पोजेटिभ देखिए पनि ति मध्ये ९० प्रतिशत बालबालिका घरमै लगेर ठीक भैराखेको अवस्था छ । त्यसैले आत्तिनु पर्दैन तर सचेत भएर बस्नुपर्ने अवस्था भने पक्का पनि हो । -गोरखापत्र अनलाइनका लागि विष्णु पाण्डेयले गरेको कुराकानी

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।