ताजा अपडेट »

रुपन्देहीमा हालसम्मकै बढी संख्यामा संक्रमित र मृत्यु

बुधबार, २९ बैशाख २०७८, १७ : २३


भैरहवा । रुपन्देहीमा पछिल्लो २४ घण्टामा आज सम्मकै सबैभन्दा बढी ९ सय ७ जना कोरोना संक्रमित भएका छन् । जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीले जारी गरेको तथ्यांकमा जिल्लामा आज अहिले सम्मकै सबैभन्दा बढी संक्रमित देखिएका हुन् । यस्तै मृत्यु हुनेको संख्या पनि आज अहिलेसम्मको उच्च रहेको छ । रुपन्देहीमा पछिल्लो २४ घण्टामा १६ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयले सार्वजनिक गरेको छ । यस संगै जिल्लामा सक्रिय संक्रमितका संख्या ७ हजार २ जना पुगेको छ भने अहिले सम्म ३ सय ९ जनाको मृत्यु भएको छ ।

रुपन्देहीमा पछिल्लो २४ घण्टामा १ हजार २ सय ४ जनाको आरटिपिसिआर परिक्षणबाट ९ सय ७ जना संक्रमित देखिएका हुन । यो भनेको जाँच गरेका मध्ये ७५ प्रतिशतको नतिजा पोजिटिभ आएको हो । बुटवल उपमहानगर पालिकामा सबै भन्दा बढी १९० जना महिला र २०५ जना पुरुष गरि ३ सय ९५ जना संक्रमित भएका छन् ।

यस्तै तिलोत्तमा नगरपालिकामा ८९ महिला र ८५ पुरुष गरि १ सय ७४ जना, सिद्धार्थनगर नगर पालिकामा ४३ महिला र ५९ पुरुष गरि १ सय २ जना, ओमसतिया गाउँपालिकामा ५ जना महिला र ९ जना पुरुष गरि १४ जना, देवदह नगरपालिकामा २९ जना महिला र ५८ जना पुरुष गरि ८७ जना रहेका छन् । यस्तै सैनामैना नगरपालिकामा १८ जना महिला र ४१ जना पुरुष गरि ५९ जना, मायादेवी गाउँपालिकामा ५ महिला र ४ पुरुष गरि ९ जना संक्रमित भएका छन् ।

रुपन्देहीमा संक्रमणमा परि मृत्यु हुनेमा २ प्रतिशत मात्र रहेका छन् । अहिले जिल्लामा ३५ प्रतिशत सक्रिय संक्रमित र ६३ प्रतिशत निको भएको स्वास्थ्य कार्यालयले तथ्यांक सार्वजनिक गरेको छ । जिल्लामा अहिले सक्रिय संक्रमित मध्ये ३ सय ७६ जना लक्षण सहितका संक्रमित रहेको र उनिहरुको बिभिन्न पालिकामा रहेको आईसोलेसन सेन्टरमा उपचार भई रहेको छ । यस्तै अन्य ६ हजार ६ सय २६ जना होम आईसोलेसनमा बसी रहेका छन् ।

https://www.globalaawaj.com/archives/105765
राधेश्याम विश्वकर्मा
लेखकको बारेमा
राधेश्याम विश्वकर्मा