ताजा अपडेट »

रुपन्देहीमा निषेधाज्ञा थप कडाई गर्ने तयारीमा प्रशासन

बुधबार, २२ बैशाख २०७८, १० : ३०
8 Shares

बुटवल । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले निषेधाज्ञालाई थप कडाई गर्ने तयारी गरेको छ । जिल्लामा कोरोना संक्रमित थपिने दर वृद्धि हुँदै गएपछि निषेधाज्ञालाई कडा गर्ने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिए ।

‘जिल्लामा निषेधाज्ञाको अवज्ञा गर्ने क्रम अझै पनि रोकिएको छैन, थप कडाई गरेर नजाने हो भने अवस्था भयावह बन्ने देखिएकाले थप कदम चाल्ने तयारीमा छौ ।’–ग्लोबल आवाजसँगको कुराकानीमा तामाङले भने ‘निषेधाज्ञाका एक सता पुगेको छ, यसका समीक्षा गर्दै सर्वपक्षीय छलफलपछि कडाईका साथ लाग्ने हाम्रो तयारी हो ।’ विशेष गरी शहरी क्षेत्रका बैंक तथा वित्तीय संस्था, अस्पताल तथा फार्मेसीहरुमा आवश्यकभन्दा बढी भिडभाड देखिएको उनले बताए । यसैगरी ग्रामीण क्षेत्रहरुमा र शहरका भित्री बस्तीहरुमा समेत निषेधाज्ञाको उल्लङ्घन हुने गरेको बताउँदै उनले थप जनशक्ति परिचालन गरी निगरानी र नियमनलाई कडाई गरिने प्रमुख जिल्ला अधिकारी तामाङले बताए ।

रुपन्देहीमा बैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरिएको थियो । निषेज्ञापछिको अवस्था र आवश्यक कदमका बारेमा छलफल गर्न कोभिड-१९ नियन्त्रण केन्द्रको आज बैठक बस्ने भएको छ । बैठकपछि अत्यावश्यक बाहेकका सवारी साधन सञ्चालन तथा बजार पसलहरु सञ्चालन भएमा कडा कारबाही गर्नेगरी तयारी थालिएको केन्द्रका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी तामाले बताए ।

जिल्लामा १४ हजार बढी संक्रमित
मँगलबार (बैशाख २१ गते) सम्मको तथ्याङ्क अनुसार रुपन्देहीमा कोरोना संक्रमितको संख्या १४ हजार ७६६ पुगेको छ । जसमध्ये ९ हजार ८७० संक्रमित निको भएका छन् भने संक्रिय संक्रमितको संख्या ४ हजार ६७६ रहेको छ । मृत्यु हुनेको कुल संख्या २२० पुगेको छ । स्वास्थ्य कार्यालय रुपन्देहीले दिएको जानकारी अनुसार मँगलबार २४ घण्टामा अवधिमा मात्रै ७९७ जना संक्रमित थपिएका थिए ।

संक्रमित थपिने दर बुटवल उपमहानगरमा बढी
संक्रमित थपिने दर बुटवल उपमहानगरपालिकामा सबैभन्दा बढी दिएको छ । मँगलबार मात्रै बुटवलमा ३५२, सिद्धार्थ नगरपालिकामा एक सय ४८ जना, तिलोत्तमा नगरपालिकामा एक सय ५८ जना, सियारी गाउँपालिकामा ८ जना, देवदह नगरपालिकामा ४२ जना, गैडहवा गाउँपालिकामा तीन जना, मायादेवी गाउँपालिकामा ५ जना तथा मर्चवारी गाउँपालिकामा एक जनामा कोरोना संक्रमित थपिएका थिए ।

यस्तै सैनामैना नगरपालिकामा ३५ जना, ओमसतिया गाउँपालिकामा २२ जना, कञ्चन गाउँपालिका ६, रोहिणी गाउँपालिकामा १९, लुम्बिनी सांस्कृतिक नगरपालिकामा १ जना र शुद्धोधन गाउँपालिकामा ५७ जना संक्रमित थपिएका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।