ताजा अपडेट »

पाल्पाली चुकौनीको स्वादसहित ८ करोड लगानीमा ‘होटल मदानी’

शनिबार, ११ बैशाख २०७८, १२ : ४४
12 Shares

बुटवल । रुपन्देहीको भैरहवामा निर्माणाधिन अन्तर्राष्ट्रिय गौतमबुद्ध राङ्गशाला, ऐतिहासिक तथा धार्मिक स्थल लुम्बिनीलाई लक्षित गरी होटल तथा रेष्टुरेन्ट सञ्चालनमा आउने क्रम बढेको छ । यसैबीच जिल्लाको तिलोत्तमा नगरपालिका-९ शंकरपुरमा आन्तरिक तथा बाह्य पर्यटक लक्षित सुविधा सम्पन्न होटल मदानी सञ्चालनमा आएको छ ।

तीन तारे स्तरको सेवा सुविधासहित करिब ८ करोड लगानीमा सञ्चालनमा आएको मदानी होटल एण्ड रेष्टुरेन्टमा विशेष परिकारका रुपमा पाल्पानी चुकौनी रहने सञ्चालक जयराम सुवेशीले बताए । एट्याच ट्वाइलेट बाथरुमसहित १६ वटा एसी रुम रहेको होटलको टप रुफबाट दक्षितर्फ भैरहवा, तिलोत्तमा तथा उत्तरतर्फ तिलोत्तमा, बुटवलहुँदै पाल्पाका अग्ला र हयिाली पहाडको दृश्यावलोकन गर्न सकिने उनले बताए । ३५ जना क्षमताको सेमिनार हल, १५० जना क्षमताको व्याङ्केट हल र रेष्टुरेन्ट रहेको होटलमा आधुनिक तथा परम्परागत परिकारहरु चुकौनी, मही लगायतका परिकारका स्वाद लिन पाइने सञ्चालक आयुस सुवेदीले बताए ।

हाल २५ जनाले प्रत्येक्ष रोजगार पाइरहेको होटल सञ्चालनमा आएसँगै अप्रत्येक्ष रुपमा २ सय बढीले रोजगार पाउने अपेक्षा गरिएको उनले बताए । सिद्धार्थ राजमार्गको बुटवल-भैरहवा सडक खण्ड अन्तरगत शंकरपुर चोकमा रहेको यस होटलबाट बन्दै गरेको गोतमबुद्ध अन्तराष्ट्रिय विमान स्थल र लुम्बिनी पनि नजिकै पर्ने हुँदा विदेशी पर्यटकहरुलाई आरामदायी बासका लागि उत्तम हुने होटल सञ्चालक सुवेदीको दाबी छ । कोरोना कहरका बीच सञ्चालनमा आएको होटलले आफ्ना सेवा सुविधालाई ग्राहकको आवश्यकता अनुसार थप आधुनिक र परिस्कृत बनाउँदै लैजाने जनाएको छ ।

होटलको शनिबार तिलोत्तमा नगरपालिकाका मेयर बासुदेव घिमिरेले रिबन काटेर उद्घाटन गरे । सो अवसरमा बोल्दै मेयर घिमिरेले कोरोना महामारीका कारण विगत एक वर्षदेखि होटल तथा पर्यटन व्यवसायीहरु संकटमा परिरहेको बताउँदै धैर्य गरेर लगानी गर्न आग्रह गरे । महामारीको अन्त्यसँगै सबैभन्दा बढी सम्भावना बोकेको क्षेत्र होटल तथा पर्यटन व्यवसाय नै भएका कारण व्यवसायीहरुलाई हतास नहुन उनको आग्रह थियो । सञ्चालनमा आएको होटल तथा रेष्टुरेन्ट व्यवसायीहरुले कोरोना महामारीबाट बच्न स्वास्थ्य मापदण्डलाई गम्भीरता पूर्वाक पालन गर्न सुझाब दिए ।

कोरोना संक्रमण र असर विगतकोभन्दा डर लाग्दो र ज्यानै लिने खालको भएकाले सबैले आफ्नो स्वास्थ्यका लागि गम्भीर भएर स्वास्थ्य मापदण्ड पालना गर्नु पर्ने उल्लेख गरे । सोही अवसरमा बोल्दै होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष रामप्रसाद गौतमले पेशा तथा व्यवसायलाई मर्यादित बनाउन जोड दिए । कोरोना महामारीले थला परेको होटल व्यवसाय उठ्न लागेकै बेला पुनः महामारीले डरलाग्दो स्वरुप लिइरहेका बेला सजग र स्वास्थ्य मापदण्डको पालना गरी व्यवसाय सञ्चालन गर्न व्यवसायीहरुलाई आग्रह गरे । महामारीका कारण होटल तथा रेष्टुरेन्ट क्षेत्रका लगानीकर्ताहरु सबैभन्दा बढी आर्थिक मारमा परेको गुनासो गर्दै उनले व्यवसायीहरुलाई राहतका कार्यक्रम ल्याउन सरकारले पहल गर्नु पर्ने उल्लेख गरे ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।