ताजा अपडेट »

रुपन्देहीमा लोकतान्त्रिक प्रगतिशिल गठबन्धनको उम्मेद्वार घोषणा, अध्यक्षमा पोख्रेल

शनिबार, २१ चैत्र २०७७, २२ : २९
4 Shares


बुटवल। नेपाल पत्रकार महासंघ रुपन्देहीमा लोकतान्त्रिक प्रगतिशल साझा गठबन्धनले रामराज पोख्रेलको नेतृत्वमा उम्मेद्वार घोषणा गरेको छ । नेपाल प्रेस यूनियनको नृेतत्वमा प्रेस संगठन नेपाल, प्रेस चौतारी नेपाल, प्रगतिशिल पत्रकार संघ, नेपाल र क्रान्तिकारी पत्रकार महासंघको संयुक्त साझा प्यानल शनिबार घोषणा भएको हो ।

अग्रमन, लोकतन्त्र, समावेशिता र सामाजिक न्यायका पक्षधर पत्रकारहरुको प्यानलका रुपमा ५ वटा संगठनले उम्मेद्वार घोषणा गरेका हुन । उपाध्यक्षमा विश्वास ढकाल, महिला उपाध्यक्षमा सञ्जु पौडेल, सचिवमा विनोद परियार र कोषाध्यक्षमा सञ्जय सौगात रहेका छन । यसैगरि सहसचिव (खुल्ला) विरेन्द्र कुँवर, सहसचिव (समावेशी) माया केसी छन । यसैगरि खुल्ला सदस्यहरुमा शंकर पाण्डे, कविराज अधिकारी (कपिल), मोती न्यौपाने, प्रदीप आचार्य (ख), प्रकाश पाण्डेय, थानेश्वर घिमिरे (नविन), पुनहरि बेल्बासे र मान बहादुर कुँवर छन । यसैगरि समावेशि सदस्यहरुमा राधेश्याम विश्वकर्मा (मधेशी), टंक सुनार (दलित) , हरिकला अधिकारी (कमला) (महिला), सलमान खाँन (अल्पसंख्यक) र राज चौधरी (राजकुमार) (जनजाती) उम्मेद्वार बनेका छन ।

उम्मेद्वार घोषणासभामा नेपाल पत्रकार महासंघ रुपन्देहीका संस्थापक अध्यक्ष बालकृष्ण चापागाईले रुपन्देहीको पत्रकारिताको ऐतिहासिक जिम्मेवारीमा आएकाले लोकतान्त्रिक प्रगतिशिल प्यानललाई विजयी गराउन आग्रह गरे । घोषणासभामा अर्का पूर्व अध्यक्ष विनोद पहाडीले लोकतन्त्रको विधि स्थापित गर्न पनि विवेकसम्मत मत दिन अपिल गरे । उनले रुपन्देही शाखालाई देशकै नमूना बनाउन अब पत्रकारिताको अनुसन्धान केन्द्र बनाउनुपर्ने सुुझाव दिए ।

नेपाल पत्रकार महासंघकै अर्का अध्यक्ष हरि लम्सालले मुलुकमा राजनीतिक संकट देखिएकाले जितका लागि लोकतान्त्रिक प्रगतिशिलहरुको प्यानल मैदानमा उत्रेको बताए । उनले करिव दुुई दशकपछि वामपन्थी र लोकतान्त्रिक शक्ति एकै ठाउँ भएको ऐहिासिक जीत बताउँदै शुभकामना दिए । घोषणासभामा प्रेस यूनियन रुपन्देहीका सभापती रेखा भुसाल, प्रेस संगठन नेपाल रुपन्देहीका संयोजक कमल रायमाझी, प्रेस चौतारी नेपाल रुपन्देहीका संयोजक विनोद परियार लगायतले बोलेका थिए । उक्त अवसरमा प्यानलका तर्फबाट अध्यक्षका उम्मेदवार रामराज पोखरेलले साझा प्रतिबद्धता सार्वजनिक गरे । उनले पत्रकार महासंघको संस्थागत विकासदेखि पत्रकार क्षमता अभिबृद्धि सँगै कल्याणकारीकोष बृद्धि गर्ने प्रतिबद्धता जनाएका छन । पत्रकार उपचार कोष, सक्रिया पत्रकार फेलोसिप कार्यक्रम, जेष्ठ नागरिक सुरक्षा कोष स्थापना गर्ने प्रतिबद्धता गरिएको छ ।

कम्तिमा २० वर्ष पत्रकारिता गरेका पत्रकारहरुको सदस्यता निःशुल्क नविकरण गर्ने व्यबस्था मिलाउने पोखरेलले प्रतिबद्धता गरेका छन । पत्रकार महासंघको सदस्यताको आधारमा निशुल्क दुर्घटना बिमाको व्यबस्था मिलाउने, न्यूनतम पारिश्रमिक लागू गर्ने, कोभिड–१९ ले श्रमजीवी पत्रकारलाई पारेको प्रभाव अध्ययनका लागि एक कार्यदल गठन गर्ने र सो कार्यदलको प्रतिवेदन अनुसार कार्यान्वयन गर्न/गराउन पहल गर्ने सार्वजनिक प्रतिबद्धतामा उल्लेख छ ।

नेपाल पत्रकार महासंघ रुपन्देहीमा आइतबार मनोनयन दर्ता हुँदैछ । २५ गते हुने निर्वाचनका लागि पत्रकारहरु दुईधारमा विभाजित भएर चुनावी मैदानमा उत्रेका छन। रुपन्देहीमा ३ सय १३ जना मतदाता छन्।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।