ताजा अपडेट »

मिस्टर एण्ड मिस पश्चिमाञ्चलको प्रशिक्षण तथा तयारी तिव्र

आइतबार, १५ चैत्र २०७७, १३ : १२
8 Shares

बुटवल । मिष्टर एण्ड मिस पश्चिमाञ्चलको प्रशिक्षण तथा फिनालेको तयारी भइरहेको छ । प्रतियोगिताको आगामी २५ गते हुने ग्राण्ड फिनालेका लागि भइरहेको प्रशिक्षण तथा तयारी बारे आयोजक आर एन स्टाइलले जानकारी गराएको छ । आयोजकले शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगिता बारे जानकारी गराएको हो ।

आर एन स्टाइलका प्रबन्ध निर्देशक रेशम न्यौपाने र निर्देशक सुजित बस्यालले संयुक्त रुपमा प्रतियोगिता बारे जानकारी दिएका छन् । सौन्दर्य प्रतियोगितालाई व्यवस्थित गुणस्तरीय बनाउँदै निरन्तर त्यस्ता प्रतियोगिता आयोजना गर्ने उद्देश्यले स्थापित आर एन स्टाइलले सन् २०१६ देखि प्रतियोगिता आयोजना गरेको प्रबन्ध निर्देशक न्यौपानेले बताए। आर एन स्टाइलको आयोजनामा हुन गइरहेको मिष्टर एण्ड मिस पश्चिमाञ्चल–२०२०, चौथो संस्करण हो । यस अगाडि ३ वटा संस्करण सम्पन्न भइसकेको र ती प्रतियोगिताहरु सभ्य र भव्यताका साथ सम्पन्न भएको बताउँदै चौथो संस्करण पनि विशेष हुने आयोजक संस्थाका निर्देशक तथा चर्चित कोरियोग्राफर सुजित बस्यालले दावी गरे । पछिल्लो समयका व्यस्त तथा सफल कोरियोग्राफर बस्यालले प्रतियोगिताको कोरियोग्राफी आँफै गरेका छन् । प्रतियोगितामा ९ युवा र १० जना युवतीहरुले प्रतिष्पर्धा गर्दैछन् ।

प्रतियोगिताको विजेताले उपाधिसँगै नगद रु २५ हजार लगाएत विभिन्न गिफ्ट ह्याम्पर र अवसरहरु प्राप्त गर्ने आर एन स्टाइलका प्रबन्ध निर्देशक रेशम न्यौपानेले बताए। ‘हामी बाल्दैनौं, काम गर्छौ’ भन्ने नारासहित युवाहरुको नेतृत्व, क्षमता विकासमा योगदान दिँदै रचनात्मक काममा गर्दै आएको उनले बताए । आयोजक संस्थाले सामाजिक उत्तरदायित्वमा समेत योगदान दिएको उनले बताए। यो वर्षदेखि करिश्मा फाउन्डेसनसंग सहकार्यमा युवाहरुको क्षमता विकासमा थप सहयोग समेत अघि बढाएको उनले बताए । प्रत्येक सहभागीहरुबाट १५ हजार रुपैया शुल्कबाट तालिमहरु, मेकअप, ४ वटा ड्रेस लगायत सुविधा दिइने उनले बताए। जुरी मेम्बर ट्रान्स मोडल अनु अनमोल, द रन वे को सेकेण्ड रनरअप रेनुका चौधरी, इभेन्ट कोअर्डिनेटर सन्जय आर सि, निरज मगर, २ वर्ष अघि भएको लिटिल प्रिन्स देवदहका विजेता सुजल बस्याल रहेका छन । प्रतियोगितामा कोहलपुर, स्याङ्गजा, कपिलवस्तु, नवलपरासीलगायत क्षेत्रबाट छनौट गरिएको उनले बताए ।

कोभिड-१९ का कारण यो वर्ष मिस कोहलपुर, मिस वर्ड वाईड, भिवअर च्वाईसबाट छनौट भएर आएको उनले बताए । कार्यक्रमबाट बचेको रकम माइती नेपालको सिद्धार्थनगर शाखालाई सहयोग गर्ने उनले बताए । पत्रकार सम्मेलनमा बोल्दै कोरियोग्राफर सुजित बस्यालले सौन्दर्य प्रतियोगितामा ग्लेमरलाई मात्र नभई बौद्धिक तथा सामाज र समसामयिक विषयमा पनि जानकार गराउने उद्देश्यले अतिरिक्त क्रियाकलापमा पनि जोड दिइने बताए। सहभागीहरुलाई मोटिभेसन क्लास, डिजाईनर क्लास, ३ दिनसम्म क्लोज क्याम्प राखेर क्षमता विकासका कार्यक्रम गरिने रेशम न्यौपानेले बताए। होटल रेडसनमा हुने फिनाले सहित प्रतियोगितामा करिब करीब १० लाख खर्च हुने आयोजकको अनुमान रहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।